close

विद्यालयको चालू शैक्षिक सत्रमा भर्चुअल विधिबाट ८ सय १६ घण्टा पढाइने

टेकपाना टेकपाना

भदौ १८, २०७७ ८:१७

विद्यालयको चालू शैक्षिक सत्रमा भर्चुअल विधिबाट ८ सय १६ घण्टा पढाइने

काठमाडौं । शैक्षिक सत्र सुरू भएकाे ६ महिना हुन लाग्दा पनि विद्यालयमा पठनपाठन हुन नसकेपछि पाठ्यक्रम विकास केन्द्रले वैकल्पिक विधिबाट पढाउन प्रतिवेदन तयार पार्दै छ ।

विषय विज्ञहरूकाे छलफलबाट केन्द्रले हप्ताको २३ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेकाे हाे । कुल एक सय ५४ दिन अर्थात् ८ सय १६ घण्टा पढाउने व्यवस्था गर्न केन्द्र जुटेकाे छ ।

यसअन्तर्गत ७० प्रतिशत कोर्स समावेश गरी पाठ्यवस्तु समायाेजन गर्न लागिएकाे छ । केन्द्रले हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको जानकारी दिएकाे छ ।

सामान्य अवस्थामा १ सय ९२ दिन अर्थात् १ हजार २४ घण्टाको पाठ्यभारअनुसार पढाउने व्यवस्था भएपनि काेराेना महामारीका कारण विद्यालय बन्द भएपछि वैकल्पिक विधिबाट पढाउन सरकार जुटेकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गतहप्ता मात्र यो शैक्षिकसत्रका लागि लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता दिएको थियाे ।

याे पाठ्यक्रम दूर तथा खुला शिक्षा र वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट पढाउने तयारी भइरहेकाे छ ।

मन्त्रालयले वैकल्पिक शिक्षालाई मान्यता दिएपछि अब सबै सामुदायिक विद्यालयले अनलाइन, एफएम र रेडियो नेपाल वा स्थानीय टेलिभिजनबाट कक्षा शुरु गर्नुपर्नेछ । भौतिक उपस्थिति नभए पनि यो विधिलाई मान्यता दिने निर्णय भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०