close

इन्टरनेट स्पीडमा २२ स्थान पछि धकेलियो नेपाल, अवस्था दुई वर्षयताकै खराब

टेकपाना टेकपाना

भदौ १९, २०७७ १४:१०

इन्टरनेट स्पीडमा २२ स्थान पछि धकेलियो नेपाल, अवस्था दुई वर्षयताकै खराब

काठमाडौं । विश्वव्यापी ब्रोडब्याण्ड स्पीड लिगमा नेपालको स्थान खस्किएको छ । गत वर्ष विश्वमा १२८ औं स्थानमा रहेको नेपाल यस पटक २२ स्थान पछाडि धकेलिँदै १५० औं स्थानमा पुगेको हो । 

यससँगै नेपालको इन्टरनेट स्पीड वर्ल्ड र्‍याङ्किङमा दुई वर्ष यताकै खराब अवस्थामा पुगेको छ । यस अघि सन् २०१८ मा नेपाल १४४ औं स्थानमा (२०० मुलुकमा) रहेको नेपाल १६ स्थान माथि उक्लिँदै गत वर्ष १२८ औं नम्बरमा (२०७ मुलुकमा) पुगेको थियो । 

तर सन् २०१७ मा भने नेपालको अवस्था झनै खराब रहेको थियो । जहाँ १८९ मुलुकमध्ये नेपालको स्थान १६९ ‍औं नम्बरमा रहेको थियो । विश्व र्‍याङ्किङमा नेपालको स्थान खस्किए पनि इन्टरनेट स्पीडमा भने सुधार हुँदै गएको छ ।

सन् २०१७, २०१८ र २०१९ मा नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको डाउनलोड स्पीड क्रमशः  ०.९७ एमबीपीएस, २.३६ एमबीपीएस ३.६२ एमबीपीएसहुँदै हाल  ५.२२ एमबीपीएस पुगेको छ । तर लकडाउनको अवधिमा भने उक्त स्पीड घटेर ४.५२ एमबीपीएसमा खुम्चिएको छ । 

विश्वकै फास्ट इन्टरनेटको तुलनामा नेपाल

नेपालमा लकडाउन अघिको सामान्य अवस्थामा इन्टरनेटको औषत डाउनलोड स्पीड ५.२२ एमबीपीएस  रहेको थियो । जसमा पाँच जीबी साइजको फिल्म डाउनलोड हुन दुई घण्टा १० मिनेट ५२ सेकेन्ड लाग्ने गरेको थियो । 

पश्चिम युरोपको लिचेस्तानमा विश्वमै सबैभन्दा फास्ट इन्टरनेट चल्छ । जहाँ औषत डाउनलोड स्पीड नै २२९.९८ एमबीपीएस छ । जसमा पाँच जीबी साइजको फिल्म डाउनलोड हुन केवल २.५८ मिनेट मात्र लाग्छ ।

त्यसपछि फास्ट इन्टरनेट हुने टप टेन मुलुकमा मुलुकहरुमा क्रमशः जर्सी, एन्डोरा, गिगब्राल्टर, आइसल्याण्ड, स्वीजरल्याण्ड, हङ्कङ र मोनाको रहेका छन् ।

जहाँको औषत इन्टरनेट डाउनलोड स्पीड क्रमशः २१८.३७ एमबीपीएस, २१३.४१ एमबीपीएस, १८३.०९ एमबीपीएस, ११८.०५ एमबीपीएस, ११६.८८ एमबीपीएस, ११०.४५ एमबीपीएस, १०५.३२ एमबीपीएस, १०४.९८ एमबीपीएस रहेको छ ।

छिमेकमा नेपाल

एसियाका २७ मुलुकमध्ये नेपालको इन्टरनेट स्पीड १८ औं स्थानमा छ । एसियाका टप फाइभ फास्ट इन्टरनेट भएका मुलुकहरुमा क्रमशः हङकङ (१०५.३२ एमबीपीएस), सिङ्गापुर (७२.७५ एमबीपीएस), ताइवान (५४.७७ एमबीपीएस), जापान (५४.७७ एमबीपीएस) र मलेसिया (४६.८२ एमबीपीएस) रहेका छन् ।

नेपालका छिमेकी मुलुकहरुमा इन्टरनेटको ओषत डाउनलोड स्पीड भारतमा १३.४६ एमबीपीएस, श्रीलंका २०.७३ एमबीपीएस, माल्दिभ्स ५.८८ एमबीपीएस, गंग्लादेश ३.२४ एमबीपीएस, चीन १२.५८ एमबीपीएस, पाकिस्तान २.०९ र भुटानमा ४.६२ एमबीपीएस रहेको छ ।

जहाँ छ विश्वकै खराब इन्टरनेट स्पीड

फास्ट इन्टरनेट स्पीडको कुरा आउँदा एकदमै स्लो इन्टरनेट स्पीडको चर्चा गरिएन भने अपुरो नै हुन्छ । विश्वका २२१ मुलुकहरुमध्ये ७१ वटा मुलुकमा नेपालको तुलनामा स्लो स्पीडमा इन्टरनेट चलिरहेको छ । विश्वकै खराब अर्थात स्लो इन्टरनेट दक्षिणी सुडानमा रहेको छ ।

जहाँको औषत डाउनलोड स्पीड नै केवल ०.५८ एमबीपीएस छ । जसमा पाँच जीबीको फिल्म डाउनलोड गर्न १९ घण्टा ३१ मिनेट लाग्ने गरेको छ । त्यसअघि स्लो इन्टरनेट हुने टप फाइभ मुलुकमा क्रमशः यमन (०.६५ एमबीपीएस), तुर्कमिनिस्तान (०.७४ एमबीपीएस), इक्वेटोरियल गिनिया (०.७५ एमबीपीएस) र सिरिया अरब रिपब्लिक (०.७६) एमबीपीएस रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०