२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

किन सेवाप्रदायकले भने जति हुँदैन इन्टरनेटको स्पीड ?

काठमाडौं । इन्टरनेट सेवालाई लिएर ग्राहकहरुमा कहिल्यै सन्तुष्टि पलाएको देखिँदैन । यो असन्तुष्टि अझ निरन्तर बढ्दो क्रममा छ ।  सामाजिक सञ्जालहरुमा इन्टरनेट सेवा प्रदायकहरुमाथि नकरात्मक टिप्पणी तथा गाली गलौज गरिएका अनेकौं पोस्टहरु देखा परिरहेका हुन्छन् ।

तर सेवा प्रदायकहरु भने इन्टरनेटको स्पीड स्लो हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको बताउँछन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारणले गर्दा समेत इन्टरनेट स्लो हुन सक्ने बताए ।

अन्तरक्रियामा सुबिसु केवल नेट प्रालीका सीईओ विनयमोहन साउदले भारतका टाटा, एअरटेल लगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए ।

‘ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकहरुले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन् । हामी त उपभोक्ता र सर्भर वा एपबीचको पूल मात्रै हौं । तीन वटा पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ, तर गाली खाने हामी मात्रै हुन्छौं,’ सीईओ साउदले भने ।

साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेको र यसमा आफूहरुको पहलले मात्रै पुर्ण समाधान नआउने बताए । ‘कुनै बेला फेसबुक, युटुव, टिकटक लगायतका प्लेटफर्ममै समस्या आएको हुन्छ । तर उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्नुहुन्छ । हामीले फेसबुक, टिकटक, युटुवको समस्या समाधान गर्न सक्दैनौं नी,’ उनले अगाडि भने ।

यस्तै भायनेट कम्युनिकेसन प्रालीका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए । ‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ । भोलि यस्तै अर्को एप आउला । धेरे इन्टरनेट खपत गर्ने साइट आउला । त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ । त्यसैले यसको गुनासो पूर्ण रुपमा समाधान हुन सक्दैन । हामीले कम गर्दै लैजाने हो,’ बोहोराले भने ।

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोेमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाई छ ।
‘हामीकहाँ इन्टरनेटको खपत धेरै बढेपनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्छ ।

हामीले भारतबाट किन्छौं । उता समस्या आएमा यता नेपालमा इन्टरनेट स्लो हुन्छ वा बन्द हुन्छ । त्यसमाथि नेपालको भौगोलिक विकटताले पनि समस्या पारेको हुन्छ,’ उनले भने ।

प्रबन्ध निर्देशक बोहराले ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुने आशा व्यक्त गरे । कहिलेकाँही प्रतिस्पर्धाको नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको हुन सक्ने बोहोराको स्विकारोक्ती छ ।

‘सर्भर ल्याइहाल्ने कुरामा हाम्रो नियन्त्रण हुँदैन । हामी पनि उनीहरुको दयामा चल्ने हो । यसमा कन्टेन्टको पोलिटिक्स धेरै छ, ’ बोहरा भन्छन्, ‘फेरी कन्टेन्टवालाहरुले पनि हामीलाई पैसा बाँड्दैनन् । तर हामीले उनीहरुको कन्टेन्टको गुणस्तर मिलाउनु पर्छ । कन्टेन्ट उताबाट आउँछ तर कन्टेन्ट बफर हुँदा हामीले गाली खान्छौं ।’

कोरोनाका कारण समस्या झनै बढ्दो

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप समस्या भएको छ । विशेषगरी टिकटक, फेसबुक र युटुवका प्रयोगकर्ताको संख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुर्‍याउन हम्मेहम्मे परेको सुबिसु केवल नेट प्रालीका सीईओ विनयमोहन साउदको भनाई छ ।

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबी व्यान्डविथको माग बढेको उनले जानकारी दिए । ‘लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबी इन्टरनेट खपत गर्दथे ।

अहिले पाँचसयदेखि ६ सय जीबी खपत भइरहेका छ । प्रायजसो प्रयोगकर्ताकै कारणले पनि इन्टरनेट केही स्लो भएको हुन सक्छ । यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ,’ सीईओ साउदले भने, ‘‘अर्को समस्या भनेको कस्टरमको साइमा पनि छ । वाईफाई कन्जेसन बढेर गइरहेको छ । इन्टरनेट जोड्ने संख्या बढेर गइरहेको छ,’ उनी भन्छन्, ‘वाईफाईका लागि राम्रो डिभाइस सेवाग्राहीहरुले पनि राख्नु पर्छ । यसले पनि कस्टमर एक्सपेरियन्सलाई सुधार्छ ।’ 

कोरोनापछि गूगल ३७ प्रतिशत, फेसबुक ४७ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको उनले जानकारी दिए । साउदले मनोरञ्जनको लागि चलाइने एप या सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सकभर त्यसो नगरिदिन आग्रह समेत गरे ।

त्यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोरले कोरोनापछि इन्टरनेट सेवा प्रदायकहरुलाई झनै ठूलो समस्या परेको बताए । ‘इन्टरनेटको माग धान्नै नसक्नेगरी बढेको छ, हाम्रा उपकरण बिग्रि रहन्छन् । यस्तो बेलामा विदेशबाट आउने चार्टर जहाजमा सामान ल्याउन समय लाग्छ । भनेको बेलामा जनशक्ति पाइँदैन । कोरोनापछि हामी थप समस्यामा छौं,’ बोहोराले भने ।

सेवाप्रदायकलाई मात्र दोष दिएर हुँदैनः आनन्दराज खनाल, दूरसञ्चार विज्ञ

टीजेएफले गरेको भर्चुअल अन्तरक्रियामा दूरसञ्चार विज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावका बीच इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए ।

महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारको लागि विकसित देशले व्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेको, तर नेपाल सरकारले भने उपभोक्तालाई छूट दिने निर्देशन बाहेक अरु केही नगरेको खनालको आरोप छ ।

‘इन्टरनेटको गुणस्तर सेवा प्रदायकको हातमा मात्रै छैन । इन्टरनेट आफैमा एउटा ठूलो प्रणाली हो । सरकार, नियामक र उपभोक्ताले धेरे बुझ्न बाँकी छ । यदी सेवा प्रदायकका दुःख बुझ्ने हो भने सेवाप्रदायकलाई गाली गर्ने थिएनौं होला,’ दूरसञ्चार विज्ञ खनालले भने ।

आईएसपीले विदेशमा व्यान्डविथको पैसा भुक्तानी गर्नका लागि पनि कयौं दिन यता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले निर्देशन मात्रै दिने गरेको तर गुणस्तर सुधारको लागि नीतिगत र व्यवहारिक काममा ध्यान नदिएको बताए ।

उनले राउटर लगायतका सामग्री सेवाप्रदायक स्वयंले उपलब्ध गराउँदै आएको भन्दै कम गुणस्तरको राउटरकै कारण इन्टरनेट स्पीड कम भएको भनेर पन्छिन नमिल्ने उल्लेख गरे ।

माग अनुसार इन्टरनेट सेवा बढाउन दुईवटा उपाय मात्र भएको उनी बताउँछन् ,पहिलो ब्याण्डविथ र दोस्रो पूर्वाधार । 

कोभिडको समयमा बढ्दो इन्टरनेट खपतलाई व्यवस्थापन गर्न युरोपले पूर्वाधारमा सीमितताको समस्या देखेपछि ओटीटीलाई क्वालिटी घटाउन लगाएर आफ्नो पूर्वाधारसँग मिलाउन लगाई सेवालाई व्यवस्थापन थप गरेको दृष्टान्त उनले सुनाए । यस्तै अमेरिकाले पनि प्रयोग नभएको फ्रिक्वेन्सी सेवाप्रदायकलाई थप गरिदिएको तर नेपालमा भने अकर्णमन्यता देखिएको उनले बताए । 

यसबाहेक घरमा धेरैवटा डीभाइस कनेक्टेड हुन्छन् । तर १० एमबीपीएस हामी एउटै डिभाइसमा खोज्ने सेवाग्राहीको अनुचित अपेक्षाको समेत उनले चर्चा गरेका थिए । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team