close

आकर्षक फिचर अनि टिकाउ ब्याट्री भएको नोकिया ५.३ नेपाली बजारमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

भदौ २२, २०७७ १६:२०

आकर्षक फिचर अनि टिकाउ ब्याट्री भएको नोकिया ५.३ नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । नेपालका लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रालिले ‘नोकिया ५.३’ मोडल सार्वजनिक गरेको छ । एचएमडी ग्लोबलले उत्पादन गरेको मौलिक विशेषता र धेरै क्षमता भएको यो फोन नेपाली बजारमा आएको हो ।  

नोकियाको यो मोडेल डिस्प्ले, क्यामेरा, ब्याट्री, सफ्टेवेयर सबै कुरामा अगाडि छ । प्रयोगकर्ताले छिटो छरितो रुपमा मोबाइल चलाउन सक्ने गरी यसमा एण्ड्रोइड टेन र गुगल असिसटेन्टको छुट्टाछुट्टै बटन दिइएको छ । 

क्यामेरा

नोकिया ५.३ को क्यामेरा एउटा हाईलाइटेड फिचर हो । यसमा एआईमा आधारित क्वाड क्यामेरा सेटअप रहेको छ । यो क्यामेरा सेटअपभित्रका सबै लेन्सहरु भर्सटाइल छन् । 

११८ डिग्री लेन्सको अल्ट्रा वाइड एंगलले पुरै परिदृश्यलाई कैद गर्न सक्छ । यसमा रहेको माइक्रोलेन्सबाट कुनै पनि वस्तुको सूक्ष्मरुपले आकर्षक तस्वीर खिँच्न सकिन्छ ।

यसको शक्तिशाली एआई क्यामेराले फोटोशूटलाई एकदमै स्टनिङ बनाउँछ । यसमा नाइट मोड क्यामेरा पनि रहेको छ । 

डिस्प्ले तथा स्क्रिन 

नोकियाको ५.३ मोडलको एउटा आकर्षक फिचर भनेको यसको ठूलो आकारको स्क्रिन हो । ६.५५ इन्चको एक्स्ट्रा लार्ज आकारमा रहेको यसको आकर्षक स्क्रिनमा भिडियो स्ट्रिमिङ गर्दा वा गेम खेल्दा तपाईं भिन्दै दुनियाँमा पुगेको अनुभूत गर्नुहुनेछ । 

स्क्रिन ठूलो भए पनि यो तपाईंको गोजीमा सजिलै अट्न सक्छ । एकदमै कम ब्ल्युलाइट उत्सर्जन गर्ने कुरामा यो स्मार्टफोनले टीयूभी रेनल्याण्डबाट प्रमाणीकरण प्राप्त गरिसकेको छ ।

यसकारण तपाईंले आफ्नो मन परेको भिडियो हेर्दा वा गेम खेल्दा तपाईंको आखाँलाई यसले हानी पुर्‍याउने छैन । 

ब्याट्री पावर 

यो फोनमा चार हजार एमएएचको ब्याट्री राखिएको छ । एकपटक फुल चार्ज गर्दा दुई दिनसम्म मज्जाले फोन प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

यसमा भएको एआई एसिस्ट एडप्टिभ ब्याट्री फिचरले अत्यधिक प्रयोग गर्ने एपका लागि ब्याट्री जोगाउने काम गर्दछ । यस्ता फिचरले ब्याट्रीको आम समस्याबाट प्रयोगकर्ता बच्न सक्नेछन् । 

सफ्टवेयर

एन्ड्रोइड वानले यो फोनलाई शुद्ध सफ्टवेयर अनुभव प्रदान गरेको छ । जसमा स्ट्रिमलाइन इन्टरफेस छ । तर ब्लटवेयर भने छैन ।

यो मोडेलमा कम्पनीले नियमित सुरक्षा अपडेट तथा सफ्टवेयर प्रदान गर्ने ग्यारेन्टी गरेको छ । जसले नोकिया ५.३ लाई एकदमै सुरक्षित बनाउनेछ । 

प्रोसेसर 

नोकियाले यो फोनमा पहिलोपटक स्नापड्रागन ६६५ प्रोसेसर प्रयोग गरेको छ । 

स्टोरेज

फोनको स्टोरेजको कुरा गर्दा यसको आधारभूत भेरियन्टमा ६४ जीबी इन्टरनल स्टोरेज र तीन जीबी र्‍याम रहेको छ । यस्तै अन्य भेरियन्टमा इन्टरनल स्टोरेज एउटै भए पनि र्‍याम भने ४ र ६ जीबी रहेको छ । 

मूल्य 

यति धेरै उच्च कोटीका फिचरहरु समावेश भएको यो फोनलाई टेलिटकले सुपथ मूल्यमा नेपाली बजारमा ल्याएको छ ।

यसको मूल्यको कुरा गर्दा ४ जीबी र्‍याम भेरियन्टको मूल्य जम्मा २३, ४९९ रुपैयाँ रहेको छ । यस्तै आधारभूत भेरियन्टको मूल्य २१ हजार रुपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०