close

बिक्री गर्नुभन्दा बरु टिकटकको अमेरिकी सञ्चालन नै बन्द गर्ने पक्षमा चीन !

टेकपाना टेकपाना

भदौ २७, २०७७ २१:३९

बिक्री गर्नुभन्दा बरु टिकटकको अमेरिकी सञ्चालन नै बन्द गर्ने पक्षमा चीन !

काठमाडौं । चीनले टिकटक बिक्री गर्नुको साटो अमेरिकी सञ्चालन नै बन्द गर्ने संकेत दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक बिक्रीका लागि दिएको अल्टिमेटम सकिनै लाग्दा चीन सरकार त्यसको विपक्षमा देखिएको हो ।

रोयटर्सका अनुसार चिनियाँ सरकार बाइटड्यान्सको टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिनुभन्दा सहजै बन्द गर्ने पक्षमा देखिएको छ । टिकटकको जारी बिक्रीको सन्दर्भ नियमित कारोबारको विषय भने होइन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनिक हैसियतको दम्भ देखाउँदै टिकटक बिक्रीका लागि जबरजस्ती गरिरहेका छन् । टिकटक हत्याउँदा त्यसको निश्चित हिस्सा अमेरिकी सरकारले समेत पाउनुपर्ने जोड उनले गर्दै आइरहेका छन् । तर यो अवधारणा कानूनी हो वा होइन भन्ने विषय समेत हालसम्म प्रस्ट भइसकेको छैन ।

विगत लामो समयदेखि अमेरिका र चीनबीच विश्व अर्थतन्त्र र राजनीतिमा को महाशक्ती बन्ने भन्ने होड चलिरहेको छ । टिकटकको डिललाई लिएर दुवै देश त्यसको एउटा संघारमा उभिएको विश्लेषण हुन थालेको छ ।

ट्रम्प प्रशासनले टिकटक हस्तान्तरणका लागि मध्य सेप्टेम्बरसम्मको समयसीमा दिएको थियो । उक्त समयसीमा भित्र यो डिल सम्पन्न हुने वा नहुने भन्ने विषय अझैं स्पष्ट भइसकेको छैन ।

टिकटकलाई विवादमा मुछ्नेमा अमेरिका एक्लो देश भने होइन । दुई देशबीचको सीमा विवादबीच भारतले टिकटक सहितका दर्जनौं चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।

टिकटकको डिलको दबाबले चीनको नियमनकारी व्यवस्थामामा समेत परिवर्तनहरु देखिन थालेका छन् । हालै मात्र चीनले आफ्नो निर्यातसम्बन्धी नीतिमा बदलाव ल्याएको छ । जसले टिकटकको कारोबारलाई सीमित गर्ने र सम्भवतः बिक्रीलाई नै रोक्नसक्ने बताइएको छ ।

टिकटकको माउ कम्पनी बाइटड्यान्स यतिखेर पेलानमा परेको छ । ट्रम्पले उसलाई शक्ति अभ्यासको गोटीको रुपमा प्रयोग गरिरहेका छन् । यदि यो डिलमा दुवै देश एक ठाउँमा उभिए भने निश्चित रुपमा त्यो पनि आश्चर्यकै विषय हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०