close

वर्ल्डलिंकको २५ वर्षे यात्रा, यसरी बन्यो देशकै ठूलो इन्टरनेट कम्पनी

टेकपाना टेकपाना

भदौ ३०, २०७७ १४:२८

वर्ल्डलिंकको २५ वर्षे यात्रा, यसरी बन्यो देशकै ठूलो इन्टरनेट कम्पनी

वर्ल्डलिंकले आज २५ वर्ष पुरा गरेको छ । आजभन्दा २५ वर्षअघि अमेरिकाबाट बोकेर आएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट सुरु भएको कम्पनीको यात्रा सबैको लागि उदाहरणीय छ । जसले नेपालको इन्टरनेट पहुँचमा ठूलो भूमिका निर्वाह गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क हेर्ने हो भने इन्टरनेट पहुँचको ४३ प्रतिशत योगदान वर्ल्डलिंकको छ । सन् १९९५ मा इमेल सिस्टमबाट सुर भएको वर्ल्डलिंकले यो २५ वर्षको अवधिमा डायल–अपदेखि फाइबर टु दी होमसम्मकाे यात्रा तय गरेको छ ।

सन् १९९५ मा इमेल सेवा सुरुवात गरेको वर्ल्डलिंकले सन् १९९७ मा डायल-अप इन्टरनेट सेवाको सुरुवात गरेको थियो । त्यसको दुई वर्षपछि काठमाडौं बाहिर सेवा विस्तार गरेको थियो । कम्पनीले अन्तर्राष्ट्रिय ब्याण्डविथका लागि भिस्याटको सुरुवात पनि त्यहीँबाट गरेको हो ।

त्यसको एक वर्षपछि अर्थात सन् २००० मा कम्पनीले वायरलेस ब्रोडब्यान्ड इन्टरनेट सेवाको सुरुवात गर्‍यो । कम्पनीले नेपालमै पहिलो पटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी गरेको थियो । यो सन् २००१ को कुरा हो । अकमाईसँगको यो साझेदारीसँगै कम्पनीले भिस्याट नेटवर्कमार्फत देशका प्रमुख सहरमा इन्टरनेटको विस्तारलाई बढवा दियो ।

सन् २००३ मा आएर कम्पनीले केबल इन्टरनेट सेवाको सुरुवात गर्‍यो । त्यसको तीन वर्षपछि वायरलेस प्रविधिबाट कम्पनीले देशका प्रमुख सहरमा इन्टरनेटको विस्तार उल्लेख गरिएको छ । यसरी देशव्यापी रुपमा इन्टरनेट विस्तारको काम गरिरहेको कम्पनीले सन् २००८ मा अन्तराष्ट्रिय ब्यान्डविथको लागि क्रस बोर्डर फाइबर जडान गरेको थियो ।

यसरी अन्तराष्ट्रिय इन्टरनेटतर्फ आफूलाई विस्तार गरेको कम्पनीले सन् २०१० मा स्थानीय सर्भरको लागि गुगलसँग साझेदारी गर्‍यो । उक्त सम्झौताले ग्राहकको इन्टरनेट अनुभवलाई अझ प्रभावकारी बनाउन अर्को महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । इन्टरनेटको अनुभवलाई अझ प्रभावकारी बनाउने क्रममा कम्पनीले सन् २०१२ मा नेपालमा पहिलो पटक १० एमबीपीएसको इन्टरनेट सुरु गरेको थियो ।

त्यसबेला दिइएको उक्त १० एमबीपीएस इन्टरनेट केबलमा आधारित थियो । त्यसको दुई वर्षपछि कम्पनीले फाइबर टु दी होम(एफटीटीए) इन्टरनेटको सुरुवात गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको असार मसान्तसम्मकाे तथ्याङ्क अनुसार हाल वर्ल्डलिंकका फाइबर प्रयोगकर्ता ३ लाख ७३ हजारभन्दा बढी रहेका छन् ।

कम्पनीले सन् २०१६ मा कन्टेन्ट क्यासको लागि फेसबुकको साथ साझेदारी गरेको थियो । त्यही वर्षबाट नेपालमै पहिलो पटक कम्पनीले आईपी टिभी सेवाको सुरुवात गरेको हो । जसको प्रयोगकर्ता हाल १ लाख ८४ हजार भन्दा बढी रहेको कम्पनीले जनाएको छ ।

सेवा विस्तारसँगै कम्पनीले ग्राहकको सुरक्षाको लागि अनलाइन बालबालिकामाथि हुने दुर्व्यवहार रोक्न सेफनेट सेवा सञ्चालन ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक सन् २०१८ मा आईपीभी सिक्सको सुरुवात गरेको थियो । त्यही वर्षबाट कम्पनीले निःशुल्क रुपमा पब्लिक वाईफाई सेवा सुरु गरेको थियो ।

कम्पनीका तथ्याङ्क अनुसार हाल पब्लिक वाईफाई प्रयोग गर्ने दैनिक प्रयोकर्ता एक लाख ५१ हजार भन्दा बढी रहेका छन् । त्यस्तै कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणक अन्तर्गत रहेको ग्रामिण दूरसञ्चार विकास कोषमार्फत अघि बढाएको परियोजना अन्तर्गत कर्णाली जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

यसरी विभिन्न समयमा विभिन्न सेवा विस्तार गर्दै आएको कम्पनीले प्रत्यक्ष रुपमा चार हजारको हाराहारीमा रोजगारी प्रदान गरिरहेको छ । कम्पनीले गत वर्षमात्रै विदेशी लगानी भित्र्याउन सफल भएको छ । कम्पनीले सीडीसीद्धारा विदेशी लगानी भित्र्याएको हो । यसरी अघि बढ्दै आएको कम्पनीले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उच्चतम करदाताको रुपमा सम्मान प्राप्त गरेको छ । साथै नेपाल सरकारबाट राष्ट्रिय आईसीटी पुरस्कार समेत प्राप्त गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०