close

सफ्टवेयरबाटै कर निर्धारण र संकलन गर्दै काठमाडौं महानगर

टेकपाना टेकपाना

असोज ४, २०७७ ८:२४

सफ्टवेयरबाटै कर निर्धारण र संकलन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । याे सफ्टवेयर सांग्रिला इन्फरमेटिक्सले निर्माण गरेको हो ।

प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता विकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजनासहित वडा नम्बर २६ बाट सेवा सुरु गरिएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरे ।

सापकोटाले भूमिकर शीर्षकमा विवरण भरेकी थिइन् । सेवा शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले महानगरका हरेक सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लगेको जानकारी दिए ।

अबको प्रशासन सहभागितामुलक, पारदर्शी हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि प्रविधि नै उपयुक्त विकल्प रहेको बताए । अनलाइन प्रणालीले करदाताको अभिलेखीकरण र राजश्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्ने सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिए ।

वडा नम्बर २६ का अध्यक्ष एवं सूचना प्रविधि समितिका सदस्य खेमराज तिवारीले विद्युतीय प्रणालीबाटै कर मूल्याङ्कन गर्नु र निर्धारित कर भुक्तानी गर्नु स्मार्ट सिटी निर्माणका लागि पहिलो शर्त भएको टिप्पणी गरे ।

सफ्टवेयर निर्माण गरेको सांग्रिला इन्फरमेटिक्सका अध्यक्ष वसन्त वनले महानगरले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीलाई विद्युतीय शासन, पारदर्शी सेवासँगै स्वास्थ्य सुरक्षाका कोणबाट पनि महत्वपूर्ण मान्न सकिने बताए ।

‘सार्वजनिक सेवालाई भरपर्दो, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बनाउन यस प्रकारको प्रणाली अनिवार्य आवश्यकता हो । कोरोना महामारीका कारण स्वयं उपस्थित भएर सेवा प्रदान गर्न असहज भएको यस अवस्थामा विद्युतीय प्रणाली विकास गर्ने र कार्यान्वयन गर्ने उपयुक्त अवसर पनि हो,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०