close

सामसङ ग्यालेक्सी एस ट्वान्टी एफई सार्वजनिक, यस्तो छ मुल्य र फिचर

टेकपाना टेकपाना

असोज ७, २०७७ २२:२९

सामसङ ग्यालेक्सी एस ट्वान्टी एफई सार्वजनिक, यस्तो छ मुल्य र फिचर

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले नयाँ ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसन सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल इभेन्टमार्फत बुधबार ग्यालेक्सी एस ट्वान्टी सिरिजको यो नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

सामसङले सस्तो फ्ल्यागशिप मोडलको रुपमा सार्वजनिक भएको यो स्मार्टफोन सामसङ ग्यालेक्सी एस ट्वान्टी जस्तै छ । यसमा आईफोन इलाभेन र वानप्लस एट जस्तै फ्ल्यागशिप डिभाइसमा जस्तै फिचर रहेका छन् ।

सामसङले यस अघि नै नियमित, प्लस र अल्ट्रा गरी ग्यालेक्सी एस ट्वान्टीका तीन वटा भिन्न स्मार्टफोन बजारमा ल्याइसकेको छ । अब यसमा चौथो फोनको रुपमा ग्यालेक्सी एफई समेत थपिएको छ । जसलाई फ्यान एडिसनको नाम दिइएको छ ।

जसबाट एस ट्वान्टीका केही महंगा पाटपूर्जाहरु हटाइएको छ भने केही मूख्य फिचरहरुलाई यथावत रुपमा राखिएको छ । यो फोन छ वटा भिन्न कलरमा आएको छ । अक्टुबर २ बाट बजारमा उपलब्ध हुने यो स्मार्टफोनको मूल्य ६९९ अमेरिकी डलर (८२ हजार रुपैयाँभन्दा बढी) राखिएको छ ।

ग्यालेक्सी एफई मा ६.५ इञ्चको डिस्प्ले राखिएको छ । जुन ग्यालेक्सी एस ट्वान्टीभन्दा सानो तथा एस ट्वान्टी प्लसभन्दा ठूलो हो । ती फोनमा जस्तै एफईमा पनि १२० हर्ज रिफ्रेश रेटसहितको स्मुथ एनिमेसन र ग्राफिक्स राखिएको छ ।

यसको पछाडि भागमा प्लास्टिक राखिएको छ । जसलाई नोट ट्वान्टीमा प्रयोग गरिएको प्लास्टिककै रुपमा लिन सकिन्छ । यद्यपी यो ठिकै देखिन्छ । सामसङले यो फोनमा कलरको रोजाईलाई भने निकै फराकिलो तुल्याएको छ ।

जसमा रातो, सुन्तला, ल्याभेन्डर, मिन्ट र ह्वाइट रहेका छन् । ४५०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको यो फोनमा ६ जीबी र्‍याम, वायरलेस चार्जिङ, आईपी ६८ वाटर रेसिस्टेन्स, बढाउन मिल्ने स्टोरेज र स्नाप ड्रागन ८६५ प्रोसेसर राखिएको छ । एफईमा सामसङको उच्च मेगापिक्सेलको रियर क्यामेराको विकल्प पनि हटाइएको छ । तर त्यो नै एस ट्वान्टीको सबथोक भने होइन ।

यसको मूख्य रियर सेन्सर ओएसआई सहित १२ मेगापिक्सेलको रहेको छ । साथमा १२ मेगापिक्सेलकै अल्ट्रा वाइड र ८ मेगापिक्सेलको टेलिफोटो लेन्स समेत रहेको छ । सामसङका अनुसार टेलिफोटोमा तीन गुणा अप्टिकल जुम रहेको छ र यसले ८० गुणा स्पेस जुमलाई समेत कायम राख्न सक्छ । जुन वास्तवमा हार्डवेयरभन्दा सफ्टवेयरको कमाल हो ।

यसको अर्थ यो एफईले ८ के भिडियो रेकर्ड गर्न सक्ने छैन । तर यो ठूलो क्षति भने होइन । यसमा ग्यालेक्सी ए ७१ मा जस्तै ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

कम्पनीले एस ट्वान्टी लाइनअप सार्वजनिक गर्दा एफई भर्सन आफ्नो योजनामा नरहेको बताएको छ । तर अहिलेको महामारी सुरु भएपछि गत मार्चमा मात्रै कम्पनीले यो फोन ल्याउने निर्णय लिएको थियो ।

यस अर्थमा ग्यालेक्सी एस ट्वान्टी एफई महामारीलाई लक्षित गर्दै ल्याइएको कम्पनीको पहिलो स्मार्टफोन ठानिएको छ । सामसङ खासगरी सस्तो मुल्यलाई आफ्नो लक्ष्य बनाउन खोजिरहेको थियो तर अमेरिकी बजारमा राम्रो प्रदर्शन गर्न सफल कम्पनीको प्रिमियम एस ब्राण्डमै झुण्डिन चाहेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०