close

ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गर्न माग

टेकपाना टेकपाना

असोज ९, २०७७ ८:१२

ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गर्न माग

काठमाडाैं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी–मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका छन् ।

महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसद्को विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी–मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन् ।

नेपालमा ओटीटी–मोबाइल एप्समार्फत प्रभु टीभी र नेट टीभीले टेलिभिजन प्रसारण गर्दै आएका छन् । गएकाे सोमबार संसद्को विकास तथा प्रविधि समितिले आउँदाे कात्तिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापनरहित नीति (क्लिन फिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो ।

केबल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी–मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन् ।

महासंघका अध्यक्ष ध्रुव शर्माले नेपालमा ओटीटी–मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण कानुन सम्मत लाइसेन्स लिएर सञ्चालनमा नआएको भन्दै हटाउनुपर्ने माग गर्नुभयो ।

व्यवसायीहरुले नेपालमा गैरकानुनी रुपमा विदेशी तथा स्वदेशी ओटीटी–मोबाइल एप्समार्फत भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अरबाैँकाे राजस्व छली गरिरहेको समेत बताएका छन् ।

त्यस्ता प्रसारणलाई क्लिन फिड लागू हुनु अगाडि नै बन्द गराउन व्यवसायीहरुले माग गरेका हुन् ।

यस्तै खुला सिमानाको फाइदा उठाउँदै भारतीय डीटीएच टेलिभिजन च्यानलहरुले नेपालमा व्यापार गरिरहेकोप्रति पनि व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगावै यस्ता समस्याको समाधान नगरे केवल टेलिभिजन व्यवसायीहरुले लगानी गरेको अरबाैँ रुपैयाँ जोखिममा पर्ने बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०