close

ई-लर्निङका लागि नेपाली युवाले बनाए सामाजिक सञ्जाल ‘स्कलर्स स्पेस’

टेकपाना टेकपाना

असोज १३, २०७७ २०:५६

ई-लर्निङका लागि नेपाली युवाले बनाए सामाजिक सञ्जाल ‘स्कलर्स स्पेस’

काठमाडाैं । कोभिड १९ का कारण हरेक क्षेत्र मारमा परेका छन् । यसबाट सबैभन्दा बढी शिक्षा क्षेत्र प्रभावित भइरहेकाे छ । लामाे समयसम्म शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थीमा स्वभावैले नकारात्मक असर परेकाे छ ।

काेभिडले सबैतिर नकारात्मक परिणाम मात्रै ल्याएकाे छ भन्नु पनि सही नहाेला । याे अवधिमा नयाँ वैकल्पिक विधि पनि उपयाेगमा आइरहेका छन् । घरमै बसेर शैक्षिक र व्यवसायिक ज्ञान हासिल गर्न प्रविधिकाे प्रयाेग हुन थालेकाे छ ।

यस्ता प्रविधिमा पहुँच बढेसँगै स्थानीयस्तरमा डिजिटल सिकाइका नयाँ प्लार्टफर्मकाे विकास समेत हुँदै छन् । नवीन साेचसहित शिक्षामा प्रविधि जाेड्दै याे अभियानमा अग्रसर भइरहेकाे एक प्लाटफर्म हाे, स्कलर्स स्पेस

डिजिटल सिकाइकाे लागि याे सामान्य वेबसाइट मात्रै हाेइन । कम्पनीले यसलाई शिक्षा क्षेत्रको सामाजिक सञ्जालको रुपमा अगाडि सारेको छ ।

डेढ वर्षअघि बुटवलका रोहित सेन्चुरी, राहुल सेन्चुरी र धीरज पौडेलले डिजिटल सिकाइको नयाँ प्लेटफर्म सिर्जना गर्ने सोच बनाए । यसका लागि यी तीन दाजुभाइले लर्निङ म्यानेजमेन्ट सिस्टमको रूपमा ब्लग सुरू गरे ।

‘त्यतिबेला परीक्षणका लागि नाेटहरूकाे लिंक, वर्डप्रेसकाे प्लगइन प्रयाेग गर्थ्याैं, जुन हामीले १८२ विद्यार्थीबीच परीक्षण गरेका थियाैं,’ राेहितले सुनाए, ‘एलएमएसमा कन्टेन्ट धेरै र लाेड हुन अप्ठ्याराे भएपछि हामीले काेडिङ गर्ने याेजना बनायाैं ।’

त्यसयता निरन्तर अनुसन्धान र परीक्षण गर्दै याे टिमले पूर्ण रूपकाे स्कलर्स स्पेस लर्निङ प्लाटफर्म विकास गरेकाे छ ।

४० दिनअघि मात्रै अफिसियल लञ्च भएकाे स्कलर्स स्पेसले आफूलाई नेपालमै पहिलाे पटक ‘साेसियाे लर्निङ कम्युनिटी’काे रूपमा प्रस्तुत गरेकाे छ ।

याे सिक्ने र सिकाउनेका लागि सही विकल्प बनिरहेकाे छ । एक महिनामै प्रयाेगकर्ताबाट उत्साहजनक प्रतिक्रिया मिलिरहेकाे राेहितले सुनाए ।

उनका अनुसार हाल रजिस्टर्ड युजर १८९६ रहेका छन् ।

कोभिडले डिजिटल लर्निङको अवधारणालाई धेरै हदसम्म कार्यान्वयन गर्न वा यसतर्फ मानिसहरुलाई आकर्षित गर्न सहयोग गरेको छ । यो समस्याको प्रत्यक्ष समाधान स्कलर्स स्पेस हुन सक्छ ।

‘हामीले सार्वजनिक गरेकाे ४० दिन मात्रै भएको छ । लर्निङ र प्रोफेस्नालिजमलाई मुख्य विषय बनाएर काम गरिरहेका छाैं,’ राेहितले भने ।

उनी धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा बिई सिभिल चाैथाे वर्षमा अध्ययनरत छन् । काेभिड १९ काे अवधिमा डिजिटल सिकाइकाे प्रभावकारी माध्यम बनाउन उनी उनकाे टिम अहाेरात्र लागिपर्‍याे ।

के हो त स्कलर्स स्पेस ?

यो एक अनलाइन प्लाटफर्म हो, जसले सिकाइ र व्यवसायिकलाई एक आपसमा जोड्ने गर्दछ । स्कलर्स स्पेसमा विभिन्न क्षेत्रकाे सीप सिक्न, सिकाउन र अन्तर्क्रिया गर्न सकिन्छ ।

यसअन्तर्गत कला, साहित्य, नेतृत्व कौशल आदिको क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सही प्लेटफर्म बनेकाे छ, स्कलर्स स्पेस ।

यो प्लेटफर्ममा सातै दिन र चौबिसैं घण्टा प्रविधिको साथमा सिक्न र सिकाउन सकिन्छ । यति मात्रै हाेइन, प्रविधिको साथमा तपाई आफ्नो लिखित भाषाको काैशलता सुधार्न र यसकाे प्रगति ट्र्याक गर्न सक्नुहुन्छ।

यो एक ओपन प्रोफेसनल सोसियल लर्निङ कम्युनिटी हो, जहाँबाट जतिबेला पनि शिक्षक, विज्ञ, विद्यार्थी, प्रोफेसनलहरु र सामान्य प्रयोगकर्ताबीच अन्तर्क्रिया गर्न सकिन्छ ।

अरूभन्दा फरेक के छ ?

कम्पनीले यो नेपालकै पहिलो प्रोफेसनल सोसियो लर्निङ प्लाटफर्म भनेर दाबी गर्दछ । यसले सिक्ने र सिकाउने राम्रो स्पेस मात्रै प्रदान गर्दैन, हरेक व्यक्तिको क्षमता प्रदर्शन गर्ने, विभिन्न जानकारीकाे प्रेजेन्टेशन र स्लाइड सेयर गर्ने, सूचनामूलक पोडकास्टहरु सेयर गर्ने लगायतका फिचरहरु यसले दिन्छ ।

कस्ताे प्रभाव पार्न सक्छ ?

स्कलर्स स्पेसकाे डिजिटल प्लाटफर्ममा प्रयाेगर्कताले एक विद्यार्थीको रुपमा गहिरो सिकाइ अनुभव लिन सक्छ । उसले यहाँ अन्तर्क्रिया गर्दै सिक्ने अवसर पाउँछ ।

‘हामीले यो प्लाटफर्म यसकारण बनायौं कि, विद्यार्थीहरुले सिद्धान्त अनुसार सिक्न नसकेका कुरा यसबाट सजिलै सिक्न सक्छन् । यो इन्टरयाक्टिभ प्रोग्रामबाट व्यक्तिहरुले स्पस्ट भएर ज्ञान लिन पाउँछन्,’ राेहितले भने ।

स्कलर्स स्पेसमा धेरै रिसोर्सेसहरुको प्रयोग गरिएकाे छ । यसबाट प्रयाेगकर्ताहरुले आफ्नो सिर्जनशीलतालाई अझ निखार्न सक्छन् । र अरुलाई पनि सिक्न उत्प्रेरित गर्न सक्छन् ।

कसरी प्रयोग गर्ने ?

१. ब्राउजरमा गई ‘स्कलर्स स्पेस डटकम’ क्लिक गर्नुहोस् । लगईनका लागि दुईवटा विधि छ । तपाईंले फेसबुक वा गुगलबाट सहजै साइनईन गर्न सक्नुहुन्छ ।

त्यस्तै स्कलर्स स्पेसकाे म्यानुअल लगईन गर्ने सुविधा पनि छ । यसका लागि त्यहाँ उपलब्ध फारम भर्नुपर्ने हुन्छ ।

२. वेबसाइट खाेलि सकेपछि हाेम पेजमा तपाईंले जनरल, लिट्रेचर, आर्ट, मल्टिमिडिया र ब्लगका विधा देख्नुहुन्छ । यसअन्तर्गत आफ्नो रुचि वा क्षमता अनुसारका विधा छान्न सकिन्छ ।

फेसबुकमा लाइक कमेन्ट गरेजस्तै यसमा पाेस्टहरू अप्रिसिएट गर्न, फिडब्याक दिन र अरु सोसल प्लाटफर्ममा शेयर गर्न समेत सकिन्छ ।

३. अब यो प्लाटफर्मको प्रडक्ट भिजिट गरौं । स्कलर्स स्पेसकाे साइटकाे दायाँपट्टि शिरानमा वर्क स्पेस देख्न सक्नुहुन्छ । वर्कस्पेस अन्तर्गत लर्न स्पेस, स्लाइड स्पेस, पाेड स्पेस र ब्लग स्पेस छ ।

लर्न स्पेस : स्कलर्स स्पेसको यो फिचर सिक्नका लागि हो । सिक्न र ग्रो हुनका लागि यो फिचरको प्रयोग गर्न सकिन्छ । लर्न स्पेस तपाईंको लाइब्रेरी हो जहाँ, विभिन्न विषयका कोर्सहरु तपाईंले पाउन सक्नुहुन्छ ।

यो ओपन रुम हो, जहाँ विभिन्न कोर्शहरु जुनसुकै ठाउँबाट जुनसुकै समयमा क्लिक गरेकै भरमा सिक्न सकिन्छ ।

स्लाइड स्पेस : स्लाइड स्पेस यस्तो स्पेस हो, जहाँ कोर्शहरु, कुनै पनि सूचना र स्टफहरु स्लाइडको फर्ममा अपलोड गरिएका हुन्छन् । यहाँ युजर वा इन्फ्लुएन्सरले आफ्नो प्रिजेन्टेशन अपलोड गर्न सक्छन् ।

पोड स्पेस : यो स्पेसले विभिन्न सूचना वा विभिन्न विषयबारे आफ्नो अनुभव सुनाउने/सुन्ने अवसर दिन्छ । पोडकास्ट सुन्दै विभिन्न नयाँ कुरा सिक्न चाहनेका लागि यो स्पेस निकै उपयोगी हुन्छ ।

ब्लग स्पेस : यो स्पेस तपाईंको डिजिटल बुक हो, जहाँ तपाईंले आफ्नाे अनुभव, विचार, सम्झना, जीवनको यात्रा आदि लेख्न सक्नुहुन्छ ।

४. पर्सनल स्पेस : यसले तपाईंको आफ्नो ड्यासबोर्ड प्रदान गर्छ, जसले तपाईंलाई आफ्नो प्रोफाइल अपडेट गर्न र प्रोफेसनलासिजम प्रदर्शन गर्न सहयाेग गर्छ ।

५. माई प्रोफाइल : याे फिचरबाट तपाईंले अटो जेनेरेटेड सीभी सेयर गर्न लिंक पाउन सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नाे व्यक्तिगत र व्यवसायिक विवरण सहितको फर्म भर्न सक्नुहुनेछ ।

६. तपाईंले वेबसाइटकाे माथि रहेकाे सर्च बक्सबाट विभिन्न काेर्श, व्यक्तिहरू, स्लाइड, पाेडकास्ट, ब्लग सजिलै खाेज्न सक्नुहुन्छ ।

७. यसपछि सजिलै याे सामाजिक सञ्जालकाे प्रयाेग गर्न सकिन्छ । अन्य सामाजिक सञ्जालजस्तै यसमा व्यक्तिहरूसँग कनेक्ट हुन सकिन्छ ।

कम्पनीले अन्य धेरै फिचर थप्दै लाने याेजना ल्याएकाे छ ।

यस्तो महामारीका बेला शिक्षा क्षेत्र सेलाएकाे छ । स्कलर्स स्पेसले एउटा लर्निङ प्लाटफर्म मात्रै नभइ विभिन्न विधाबाट आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिएकाे छ ।

वास्तवमा विद्यार्थी र शिक्षक दुवैका लागि एक साझा प्लाटफर्म हो यो । विद्यालयतहका लागि कक्षा १० सम्मका सिकाइ सामाग्री नि:शुल्क प्रदान गरिएकाे छ ।

‘यसले वान स्टप लर्निङ कम्युनिटीको रुपमा काम गरिरहेको छ । विद्यार्थी र शिक्षक दुवैका लागि यसले क्वालिटी लर्निङ रिसोर्स र सूचनामा सजिलै पहुँच प्रदान गर्छ,’ कम्पनीका संस्थापक राेहित सेन्चुरीले भने ।

उनले अगाडि भने, ‘व्यक्तिको सिर्जनशीलता बढाउन हरेक विधाका व्यक्तिको ट्यालेन्ट सोकेश गर्न सकिन्छ । वास्तवमा यसबाट पर्सनलाइज्ड र कनेक्टेड लर्निङ अनुभव लिन सकिन्छ।’

हाल कम्पनीले विज्ञापन, प्रिमियम सर्भिस चार्ज, अटोमेटेड सिभी, ब्लग आदिबाट आम्दानी गर्ने याेजना अघि सारेकाे छ । माेनिटाइजेशनका लागि थप गृहकार्य भइरहेकाे उनले जानकारी दिए ।

यदि तपाईंले पनि नयाँ सोचसहित स्टार्टअप व्यवसाय थाल्नुभएको छ भने हामीलाई सम्पर्क गर्नुहोला । हामीले निरन्तर यस्तै स्टार्टअप स्टोरीमार्फत् तपाईंहरुलाई सहयोग र प्रोत्साहन गरिरहने छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०