close

चार इन्टरनेट सेवाप्रदायकले सुरु गरे टोल फ्री नम्बर, बाँकीलाई कारबाहीको तयारी

टेकपाना टेकपाना

असोज १९, २०७७ १५:३१

चार इन्टरनेट सेवाप्रदायकले सुरु गरे टोल फ्री नम्बर, बाँकीलाई कारबाहीको तयारी

काठमाडौं । चार वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहकको सहजताको लागि टोलफ्री नम्बर सुरु गरेका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अब अनिवार्य रुपमा टोल फ्री नम्बर राख्नुपर्ने व्यवस्था अनुरुप सेवा प्रदायक कम्पनीले यसको सुरुवात गरेका हुन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म चार वटा सेवा प्रदायकले मात्र टोलफ्री नम्बर सञ्चालनमा ल्याएका छन् । टोल फ्री नम्बर सञ्चालनमा ल्याउनेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, सुविसु केबलनेट प्राली र ब्रोडब्याण्ड नेपाल प्राली रहेको प्राधिकरणका निर्देशक विजयकुमार रोयले जानकारी दिए ।

सेवा प्रदायकको टोल फ्री नम्बर

यसअघि प्राधिकरणले गएको असार १० गते सेवा प्रदायकहरुलाई पत्र काट्दै टोल फ्री नम्बरको व्यवस्था गर्न निर्देशन दिएको थियो । सेवा प्रदायकले अनुमतिपत्रको शर्तअनुसार शूल्क सम्बन्धी विवरण निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

साथै ग्राहकको गुनासो तोकिएको समयभित्र समाधान गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत छ । सोही आधारमा प्राधिकरणले सेवा प्रदायकलाई उक्त निर्देशन दिएको थियो ।

‘अनुमतिपत्रको शर्त कार्यान्वयन गर्न र ग्राहकहरुको गुनासो समाधान गर्नका लागि टोल फ्री नम्बर राख्न निर्देशन दिइएको थियो’, निर्देशक रोयल भने, ‘उक्त निर्देशन अनुसार हालसम्म चार वटा सेवा प्रदायकले टोल फ्री नम्बर सञ्चालनमा ल्याएका छन् ।’

बाँकी रहेका सेवा प्रदायकको हकमा स्पस्टीकरण लिने तयारी भइरहेको उनको भनाई छ । ‘कम्पनीबाट आएको स्पस्टीकरण चित्त बुझ्दो नभएको खण्डमा कानून अनुसार ५० हजारसम्म जरिवाना गरिनेछ,’ निर्देशक रोयले अगाडि भने ।

इन्टरनेटको गुनासो गर्ने विषयमा कम्पनीहरुले राम्रो व्यवस्था नगर्दा ग्राहक मर्कामा परिरहेका छन् । ग्राहकले अहिले सेवा प्रदायकलाई कल गर्नुपर्दा सुरुमा आईभीआर सिस्टमले धुन बजाउने र आफ्ना सेवाको बारेमा जानकारी दिने काम गरेर ग्राहकको पैसा अनावश्यक रुपमा काटिरहेका छन् ।

यस्तो समस्याको अन्त्य गर्ने उद्देश्यका कल गर्दा ग्राहकको पैसा नलाग्ने टोल फ्री नम्बर उपलब्ध गराउन निर्देशन दिइएको हो । यसबाट ग्राहकले चाहेको समयमा सेवा प्रदायकलाई आफ्नो गुनासो निःशुल्क रुपमा टिपाउन सक्छन् ।

निर्देशक रोयले भने, ‘अहिले ससाना गुनासो पनि सिधै प्राधिकरणमा आउने गरेका छन् । टोल फ्री नम्बर भएको खण्डमा ग्राहकले सुरुमा सेवा प्रदायकलाई आफ्नो समस्याबारे जनाकारी गराउन सक्नेछन् । त्यहाँबाट समाधान नभएका गुनोसाहरु मात्र फिल्टर भएर प्राधिकरणमा आउन् भन्ने पनि हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०