यस्तो अनलाइन शैलीको शिक्षाले कोभिडभन्दा पनि ठूलो विपत्ति ल्याउँछ

कोभिड १९ को महामारीले थलिएका हरेक क्षेत्र पूर्ववत् अवस्थामा आउन संघर्ष गरिरहेका छन् । कोभिड तत्काल रोकिने अवस्थामा देखिँदैन । तर पनि दैनिक क्रियाकलापमा सूचना र सञ्चार प्रविधि (आईसीटी)को अधिकतम प्रयोग बढिरहेको छ । यसले आईसीटीलाई नयाँ अवस्थामा वैकल्पिक उपायको रुपमा अघि सारेको छ ।

यसै सन्दर्भमा लामो समयसम्म शैक्षिक क्षेत्र ठप्प हुँदा विश्वविद्यालयको उच्च शिक्षा विशेष गरी आईटी शिक्षामा के कस्ताे प्रभाव परिरहेको छ, सहजताका लागि कस्ता प्रयास भइरहेका छन् भन्ने विषयमा टेकपानाका लागि शिव बस्नेतले काठमाडौं विश्वविद्यालयका प्रा.डा. मनिष पोखरेलसँग कुराकानी गरेका छन् :

कोभिड १९ महामारीले नेपालको विश्वविद्यालय शिक्षामा पारेकाे प्रभावलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
कोभिड सुरु भएपछि सबैभन्दा नराम्रो असर भोेगेका दुई क्षेत्र छन् । पहिलो स्वास्थ्य र त्यसपछि शिक्ष क्षेत्र । अरु क्षेत्र पनि प्रभावित नभएका होइनन् । तुलनात्मक रुपले यी क्षेत्र बढी प्रभावित भएकाे मान्न सकिन्छ । अहिले नेपालका ७० हजारभन्दा बढी उच्च शिक्षाका विद्यार्थी र शिक्षक घरमै ‘लक’ भएर बस्नुपरेको छ । उनीहरुका बारेमा खासै लेखिदैंन, बोलिदैंन ।

कोरोना महामारीका कारण शिक्षा क्षेत्रले भोग्नुपरेको एउटा समस्याको पाटो त यो भयो । अर्कोतिर महामारीले सिर्जना गरेका नयाँ अवसरहरुकाे पनि कुरा गराैं । आईटी पढ्ने विद्यार्थीका लागि त स्वभावैले सूचना प्रविधि सिकाइकाे महत्वपूर्ण माध्यम बन्याे ।

अहिले हरेक क्षेत्र सूचना प्रविधि चाहिँदाे रहेछ भन्ने साेचमा पुगे । आफ्ना दैनिक क्रियाकलाप यही माध्यमबाट गर्न गराउन लागिपरेका छन् । हुन पनि काेभिड सुरू भएपछिकाे ६/७ महिनामा सूचना प्रविधिमा आधारित क्रियाकलाम बढिरहेका छन् ।

तर पनि अवसरलाई हामीले राम्ररी चिन्न सकिरहेका छैनौं । जहाँसम्म विश्वविद्यालयको शिक्षाको सन्दर्भ छ, विश्व व्यापारले यस्तो सीप खोजिरहेको छ भनेर त्यो सीपलाई कसरी अहिलेदेखि प्रवाह गराउने, कसरी आईटीमा कन्भिन्स गराउने भन्ने काममा नेपालका ११ ओटै विश्वविद्यालय चुकेका छन् ।

विश्वविद्यालयहरुले आफ्ना विद्यार्थी कस्तो अवस्थामा छन्, नअत्तालिऊ भन्न सकिरहेको छैन । अहिले विश्वविद्यालयले अध्ययन अध्यापन अनलाइन गर्ने भनेको छ । अभिभावकमा कस्तो प्रभाव परेको छ ? उनीहरुले आफ्ना छोराछोरीका लागि ल्यापटप र इन्टरनेट दिन सकेका छन् कि छैनन् ?

बहालमा बस्ने अभिभावकले छोराछोरीका लागि छुट्टाछुट्टै कोठा दिन सकेका छन् कि छैनन् ? यस्ता समस्यामा न सरकारले हेरेको छ, न त शिक्षाविद् र विश्वविद्यालयले नै हेरेका छन् ।

विश्वविद्यालयलाई अनलाइनमा जनपर्छ भन्ने त छ । तर अनलाइनको सन्दर्भमा उचित ज्ञान नभएको हो कि जस्तो लाग्छ । अनलाइन भनेको अहिले भएका पाठ्यक्रमहरुलाई जुम, मिट, टिम्समा प्रयोग गरेर पढाउने मात्रै होइन । यसको आफ्नै गाइडलाइन छ । सबै ईकोसिस्टम नै फरक छ । यसबारेमा कसैले पनि चर्चा र बहस गरेको जस्तो लाग्दैन ।

अहिले विश्वविद्यालयका विद्यार्थीका लागि ठूलो अवसर छ । विशेषत: आईटी विद्यार्थीहरुले यो अवसरलाई राम्रोसँग सदुपयोग गर्ने अवसर छ । अन्य क्षेत्र पनि सूचना प्रविधिका लागि रेडी हुनु भनेकाे उनीहरूका लागि प्रशस्त निस्कनु हाे । यसले हाम्रो देशको आर्थिक, सामाजिक र शैक्षिक अवस्था सबैको पुर्नजन्म हुनसक्छ ।

अहिले धेरैजसो विद्यार्थी घरमै छन् । विश्वविद्यालय र कलेजहरूले वैकल्पिक शिक्षाकाे नाममा अनलाइनबाट पढाउन खाेजिरहेका छन् । तर याे के साँच्चिकै प्रभावकारी बनेकाे छ त ?

म प्राध्यापनरत काठमाडौं विश्वविद्यालयमा पनि अनलाइनबाट कक्षाहरु भइरहेको छ । मैले क्लास लिएँ । प्रिजेन्टेशनहरु दिएँ । त्यो आफ्नाे ठाउँमा छ । तर हामीले हाम्रो विद्यार्थीका लागि कोभिड १९ अघि घरबाट कसरी पढ्ने भनेर कहिल्यै सिकाएनौं ।

अथवा घरबाट कसरी काम गर्ने भनेर सिकाएका थिएनौं । अब यो कोभिड १९ कति पछिसम्म जाला भनेर मानिसहरुले अहिलेसम्म अड्कल गर्न सकेका छैनन् ।

अझै डेढ वर्षदेखि २ वर्षसम्म यस्तै अवस्था रहन्छ भन्ने धेरै विज्ञहरुको भनाइ रहेका कारण अहिले अन्डर ग्र्याजुएटको चौथो वर्ष वा अन्तिम वर्ष पढ्ने विद्यार्थीहरुलाई अब २ वर्षजति घरमै बसेर काम गर वा यो विकल्प अपनाऊ भन्ने दायित्व विश्वविद्यालयकै हो ।

हामीले अनलाइन पढाएको छौं भनेर मात्रै दायित्व पुरा हुँदैन । विश्वविद्यालयले नै अबको २ वर्षजति यस्तै होला, अर्को नसोचेको महामारी समेत आउन सक्ला, यसबाट कसरी सतर्क हुने, कसरी घरबाट सिक्ने, नयाँ नयाँ स्किलहरु के के हुन सक्लान्, घरमै बसीबसी बाहिरका आउटसोर्सिङ प्राजेक्टहरु कसरी गर्ने भनेर हामीले विद्यार्थीलाई सिकाउनै पर्छ ।

अहिले अनलाइन प्रणाली ल्याइरहँदा अर्को के चुनौती छ भने विद्यार्थीहरुलाई अनलाइनमा कसरी छलफल गर्ने भन्नेबारे पनि थाहा छैन । अनलाइनमा कसरी प्रिजेन्टेशन गर्ने भनेर ज्ञान छैन । अनलाइन प्रयोगको आचारसंहिता थाहा छैन । यी सबै कुराको ज्ञान दिने काम विश्वविद्यालयको हो ।

तर दु:खको साथ भन्नुपर्छ कुनै पनि विश्वविद्यालयले यसबारेमा केही गरेको जस्तो लाग्दैन । मात्रै हामी अनलाइनमा जानुपर्छ भनेको छौं । यस पछाडिका गम्भीर कुराहरुमा धेरै विश्वविद्यालय चुकेका छन् ।

शिक्षा मन्त्रालयले विद्यालय शिक्षाका लागि मात्रै योजना ल्याएको जस्ताे देखिन्छ । उच्च शिक्षाको सबै जिम्मा विश्वविद्यालयले नै गरुन् भन्ने चाहेको पो हो कि केही सकारात्मक याेजना पनि ल्याएकाे छ ?
मन्त्रालयले गर्न नखोजेको त होइन । तर गहिरिएर हेर्दा गर्न त खोजेको छ, तर के गर्न खोजेको छ, उनीहरु नै अलमलिरहेको जस्तो देखिन्छ । वैकल्पिक शिक्षा चाँडोभन्दा चाँडो सुरु गर्छौं भनेर स्टेटमेन्ट दिइरहेका छन् ।

तर वैकल्पिक शिक्षा भनेको के हो, यसबारे उनीहरूमा अल्पज्ञान हावी भएको छ । वैकल्पिक शिक्षाको अवधारणा अहिले फरक सन्दर्भमा आएको छ । पहिले हामी यो अवधारणाको प्रयोग अर्कै प्रयाेजनमा गर्थ्याैं ।

तर नीतिगत र कार्यान्वयन पक्ष हेर्ने निकायमै पछिल्लाे समयका लागि आवश्यक वैकल्पिक शिक्षाको ज्ञान भेटिँदैन । वैकल्पिक शिक्षा मात्रै भनेर हुँदैन, यसको बारेमा गहन अध्ययन गरेर अघि बढ्न सक्नुपर्छ ।

चीन, थाइल्यान्ड जस्ता देशहरुका शिक्षा मन्त्रालयले कोभिडले लामो समयसम्म प्रभाव पार्ने र नयाँ खालको जनशक्ति माग गर्ने विश्लेषण गर्दै पाठ्यक्रम परिवर्तन गर्न निर्देशन दिइसकेका छन् ।

हामीले विगतको ज्ञानलाई आधार मानेर मात्रै पाठ्यक्रम बनायौं । भोली के चाहिन्छ, कस्तो सीप आवश्यक होला भनेर कहिल्यै सोच्न भ्याएनौं ।

उसाे भए नेपालको सन्दर्भमा पाठ्यक्रम परिवर्तन गर्नपरे कुन कुन कुरामा हामीले जोड दिनुपर्ला ?

पाठ्यक्रम परिवर्तन गर्ने हो भने अहिलेका लागि मात्रै सोचेर हुँदैन । परिवर्तनका लागि मात्रै परिवर्तन गर्ने होइन । पाठ्यक्रम तयार पार्ने व्यत्तिहरुले के बुझिदिनुपर्यो भने हाम्रा विद्यार्थीहरु जो अहिले विश्वविद्यालयमा पहिलो वर्षमा भर्ना पाएका छन् ।

उनीहरु ४ वर्षपछि ‘जब मार्केट’मा जाँदा कस्तो किसिमको स्किल चाहिन्छ, कस्तो किसिमको प्रोग्रामिङ चाहिन्छ, आर्टिफिसियल इन्टेलिजेन्सकाे विकास विस्तार भइरहँदा हामीले त्यसअनुसारका पाठ्यसामग्री समेट्न सक्छाैं ।

हामीले पुराना र अनावश्यक कुरा मात्रै पढाएर विद्यार्थीहरुलाई लोड दिएका छौं कि भन्ने कुराको सबै हामीले विचार गर्नुपर्छ । अहिले विश्वविद्यालयहरुले विद्यार्थीहरुलाई धेरै लोड दिने गर्छन् ।

चार वर्षमा १४०, १४५ र कतै १५३ क्रेडिट आवरसम्म पढाउने गरेका पाइन्छ । जुन कुरा सम्भव नै छैन । अहिलेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चार वर्षमा १२० क्रेडिट आवर उत्तम हो । १२५, १२८ सम्म बढाउनु सामान्य हाे ।

तर १५० क्रेडिट आवरसम्म पढाउने भनेको विद्यार्थीलाई अनावश्यक लोड दिनु नै हो । हामीले चाहिने कुरा पढाएका छैनौं । नचाहेका कुरा पढाएर विद्यार्थीलाई लोड दिइरहेका छौं ।

उदाहरणका लागि चीनले सन् २०३० मा ३० ट्रिलियन डलर बराबरको आर्टिफिसियल इन्टेलिजेन्सको व्यापार गर्छौं भनेर बाहिर ल्याइसकेको छ र त्यही अनुसार जनशक्ति तयार पार्न लागिसकेकाे छ ।

हामीले भविष्यकाे अध्ययन गर्न जरूरी मानिरहेका छैनाैं । छिमेकी राष्टले लिएकाे माेडेल केही हदसम्म अनुसरण गर्न सक्याैं भनेपनि हामीले धेरै कायापलट गर्न सक्छौं ।

यसका लागि हामीले अहिले नै स्रोतसाधन र जनशक्ति तयार गर्नतर्फ लाग्नुपर्ने हो । यसलाई राम्रोसँग ब्रेनस्ट्रोमिङ गरेर त्यस्ता सीपहरु पठ्यक्रममा समावेश गर्नपर्छ ।

अहिले विश्वविद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीहरु सबैमा एक प्रकारको कमजोर मनोविज्ञान देखिएकाे, अत्तालिएको अवस्था छ । धेरैलाई अब कसरी अघि बढ्ने चिन्ताले ग्रस्त बनाइरहेकाे छ । यसकाे सहज समाधान के हुन सक्ला ?

अहिले मनोवैज्ञानिक प्रभाव सबैलाई परेकाे देखिन्छ । मुख्यतः बाल मनोविज्ञान खलल नहोस् । उनीहरु भविष्यका कर्णधार हुन । अहिल्यै मनाेविज्ञानमा समस्या देखिन थाल्याे भने पछि परिणाम सारै नराम्राे ल्याउँछ । यस्तै विद्यार्थीहरुलाई ज्ञान बाँड्ने शिक्षक नै डिमोटिभेट भयाे भने उसले विद्यार्थीलाई के दिन सक्ला ?

मानिसक पीडा बोकेर कुनै हालतमा स्वस्थ जनशक्ति तयार पार्न सकिँदैन । यसकारण शिक्षकलाई पनि मनोवैज्ञानिक परामर्श दिनुपर्ने बेला आएको छ । कोभिड १९ केही समयका लागि हो । सधैंका लागि हुने होइन । सुरक्षाका उपाय त अपनाउनै पर्छ ।

हामीले अहिले परिवारसँग समय पाइरहेका छौं । गाउँघर जान पाएका छौं । त्यहाँका संस्कृति बुझ्ने मौका पाएका छौं । यो पनि हाम्रो जीवनको उपलब्धि नै हो नि । गिलास आधा रित्तो छ भन्दा पनि गिलास आधा भरी छ भनेर हामीले परामर्श गर्नैपर्छ ।

यो परामर्श पनि विद्यालय र विश्वविद्यालयले नै गर्नपर्छ । यता विद्यार्थीहरु पनि धेरै अत्तालिएका छन् । कोही बाहिर जाने तरखरमा थिए, कोही उद्योगमा आउने तयारीमा थिए, काेही सुन्दर सपना सजाएर पढ्दै थिए ।

अहिले नेपालमा मात्रै होइन १९५ देशमा कोभिड छ । यसमध्ये १९० देशका विद्यार्थीहरु घरमा लक भएर बसेका छन् । हामी मात्रै होइनौं । विश्वलाई नै प्रभाव पारेको छ । तर यो बेला गुगल लकडाउन भएको छैन, युट्युब लकडाउन भएको छैन । मैले यसरी काउन्सिलङ गरिरहेको छु ।

उच्च शिक्षाका यी यावत् चुनाैतीकाे न्यूनीकरणका लागि अबका दिनमा के कस्ता उपाय अवलम्बन गरिनुपर्ला ?
सबै विश्वविद्यालयले अनलाइन शिक्षाको आवश्यकता त बुझेका छन् । यसमा कुनै विमति छैन । सबै गइरहेका छन् । तर म के भनिरहेको छु भने अनलाइनमा जानु भनेको कोभिडभन्दा पनि डिजास्टरमा जानु हो ।

एक तथ्याकं अनुसार जम्मा २० प्रतिशत विद्यार्थीसँग इन्टरनेट कनेक्टिभिटी छ । यसको मतलब ८० प्रतिशत विद्यार्थीसँग छैन । जुम, गुगल मिट, टिम्स जुनसुकै टुल प्रयोग गरेपनि ८० प्रतिशत विद्यार्थीहरु बाहिर हुने भए ।

अनलाइन सजिलो हुने ठाउँमा त समस्या भएन, नहुने ठाउँका लागि त धेरै समस्या छ । यसर्थ सहज एक विकल्प भनेकाे विश्वविद्यालयले रेकर्डेड फाइल बनाएर विद्यार्थीका लागि राखिदिनु हाे ।

शिक्षकलाई सुरक्षाका उपाय अवलम्बन गरेर विश्वविद्यालयमा आई रेकर्ड गर्न मिल्ने व्यवस्था गर्ने र विश्वविद्यालयले विद्यार्थीलाई पठाइदिने हाे भने उनीहरुले पायक समयमा पढ्न सक्छन् ।

काेभिडले विद्यालय र विश्वविद्यालयका पदाधिकारी, शिक्षक, विद्यार्थी सबैलाई परिवर्तन गर्ने सुनाैलाे माैका दिएकाे छ । कुन कुन क्षेत्रमा कस्ता अवसर छन्, त्याे अनुकूल कस्ता काम थाल्नुपर्छ भन्नका लागि विश्वविद्यालयले पयार्प्त अनुसन्धानका कार्य गर्न सक्छन् ।

म फेरि पनि भन्छु हामीलाई कोभिडले माैका दिएकाे छ । यसपाली काेही चुक्नुहुँदैन । विपद्हरु आउँछन् । त्यसले केही न केही पाठ सिकाएकै हुन्छ । तर हामी निराशावादी हुनुहुँदैन । भविष्यका लागि अहिले नै साेच्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team