close

बलात्कारीको नाममा फेसबुक पेज बनाएर जथाभावी पोस्ट गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

असोज ३०, २०७७ २०:८

बलात्कारीको नाममा फेसबुक पेज बनाएर जथाभावी पोस्ट गर्ने व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले बलात्कारीको नाममा फेसबुक पेज बनाउने एक जनालाई फक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन (बलात्कारी संगठन) नामक फेसबुक पेज तथा ग्रुप बनाएर जघन्य अपराध गर्न दुरुत्साहन गरेको प्रहरीको साइबर ब्यूरोले नवीन बस्नेत नाम गरेका व्यक्तिलाई पक्राउ गरेको हो । 

प्युठान झिम्रुक गाउँपालिका ७ घर भई हाल कावासोती नगरपालिका १६ बस्ने १९ वर्षीय बस्नेतलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बस्नेतले सामाजिक सञ्जालमा अश्लील, आपत्तिजनक सामग्री पोस्ट गर्ने, कमेन्ट गर्ने लगायतका कार्य गरेको सूचना प्राप्त भएपछि अनुसन्धानको क्रममा बस्नेतलाई पक्राउ गरिएको हो । 

उनले सामाजिक सञ्जाल फेसबुक पेज र ग्रुपमार्फत बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव र शिष्टाचार विरुद्धका सामग्री पोस्ट गर्ने गरेको प्रहरीको आरोप छ ।

ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न लगाई नवलपरासी प्रहरीको सहयोगमा बस्नेतलाई पक्राउ गरेको हो । 

अश्लील तथा यौनजन्य सामग्रीहरु कम्प्युटर, इन्टरनेट लगायतका माध्यमबाट प्रकाशन, प्रशारण वा प्रदर्शन गर्ने कार्य सार्वजनिक नैतिकता तथा शिष्टाचार विरुद्ध हुने र व्यक्तिलाई अपमान तथा हैरानी गर्ने, घृणा वा द्वेष फैलाएर सामाजमा विकृति बढाउने भन्दै प्रहरीले त्यस्तो कार्य नगर्न नगराउन अनुरोध समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३