close

आजदेखि लागू भयो क्लिन फिड, बन्द भए यी विदेशी टिभी च्यानल

टेकपाना टेकपाना

कात्तिक ८, २०७७ ८:२७

आजदेखि लागू भयो क्लिन फिड, बन्द भए यी विदेशी टिभी च्यानल

काठमाडौं । लामो समयदेखि चर्चाको विषय बन्दै आएको क्लिन फिड अन्ततः आजबाट लागू भएको छ । राति १२ बेजदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित भएका छन् । यसको अर्थ अब नेपाल प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन हेर्नुपर्ने छैन ।

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो ।

त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि विगत केही समयदेखि सरोकारवालहरुलाई कात्तिक ८ गतेबाटै क्लिन फिड लागू गर्नुपर्न भन्दै निर्देशन नै दिएको थियो ।

उक्त निर्देशन र कानूनी प्रावधानकै कारण आजबाट क्लिन फिड लागू भएको हो । क्लिन फिडको अनुगमनका लागि मन्त्रालयले विज्ञापन बोर्ड समेत गठन गरिसकेको छ ।

यसरी नेपालमा प्रसारण हुने च्यानलमा विज्ञापन बजाउन नपाउने निर्णय नेपाल र नेपालको विज्ञापन बजारका लागि एउटा महत्वपूर्ण कदमको रुपमा हेरिएको छ । क्लिन फिड लागू भएसँगै नेपालको विज्ञापन बजार थप ३ देखी ४ अर्ब ठुलो हुने अपेक्षा गरिएको छ ।

तर, अर्कोतर्फ तयारी पुरा नहुँदा केही विदेशी च्यानालको प्रसारणमा भने रोक लागेको छ । यस विषयमा डिसहोम, नेट टिभी, भायो टिभी, क्लियर टिभी, प्रभु टिभी, सिम टिभी लगायतका सेवा प्रदायकले जानकारी समेत गराइसकेका छन् ।

उनीहरुले सरकारको निर्णय र विज्ञापन ऐन–२०७६ को प्रावधान अनुसार केही च्यानल शनिबारबाट प्रसारण नहुने भन्दै जानकारी गराएका छन् । सेवा प्रदायकका अनुसार सोनी टिभिले अन्तिम समयमा आएर भएतापनि विज्ञापन रहित च्यानल उपलब्ध गराउन सफल भएको छ ।

त्यसका अलावा, स्टार अन्तर्गतका च्यानल भने बन्द भएका छन् । स्टार अन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायतका २० भन्दा बढी स्टारका च्यानल केही समयका लागि बन्द भएको छन् ।

साथै कलर्स, कलर्स एचडी, बीबीसी, सीएनएन लगायतका च्यानलको पनि प्रसारण रोकिएको डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्य बताउँछन् । उनका अनुसार कोरोनका महामारीको बिचमा यी च्यानलले आवश्यक तयारी गर्न नपाएकाले पनि यस्ता अवस्था सिर्जना भएको हो ।

क्लिन फिडका लागि आवश्यक सामाग्री रोकिँदा हाल सर्भिस दिन नसकेता पनि दसैं पश्चात भने यी च्यानलको पूनः प्रसारण हुने जनाइएकाे छ । तर, त्यती बेलासम्म हाल चलिरहेको आईपीएल लगायतका खेल भने टिभीमा हेर्न नपाइने भएको छ

त्यस्तै क्लिन फिड लागू भएसँगै सब्सक्रिप्सन बिना पनि हेर्न सकिने फ्रि-टु-एयर सर्भिस अन्तर्गतका ५० देखि ६० च्यानलकाे प्रसारण पनि राेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०