close

नदेखिने नम्बरबाट फोन गरी नग्न फोटो र भिडियो माग्दै !

टेकपाना टेकपाना

कात्तिक १३, २०७७ १३:११

नदेखिने नम्बरबाट फोन गरी नग्न फोटो र भिडियो माग्दै !

काठमाडौं । विभिन्न व्यक्तिको मोबाइल, ल्याण्डलाइनमा अननोन तथा प्राइभेट (कुनै पनि नम्बर नदेखिने) नम्बरबाट कल गर्दै नग्न तस्वीर माग्ने क्रम बढेको छ । तपाईंको फेसबुक ह्याक भएको भन्दै साइबर क्राइम डिपार्टमेन्टको नामबाट अश्लिल फोटो तथा भिडियो पठाउन लगाउने समस्या बढेको हो ।

बुधबार सार्वजनिक सूचना जारी गर्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत गराएको छ । प्राइभेट नम्बरबाट कल गर्ने तथा फेसबुकमा फेक अकाउन्ट बनाइ म्यासेञ्जरबाट कल गरेर तपाईंको फेसबुक ह्याक भएको र अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको ब्ल्याकमेल गर्ने गरिएको ब्युरोले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय, साईवर व्यूरोको अनुरोध ।

Posted by Cyber Bureau on Wednesday, October 28, 2020

‘हामीले एक पटकका लागि त्यसो हुनबाट रोकिदिएका छौं, तर भेरिफिकेसनका लागि तपाईंले आफ्नो नग्न फोटो र भिडियो पठाउनु होस् भन्दै ईमेल, सामाजिक सञ्जालमा पठाउने गरिएको छ,’ ब्युरोको सूचनामा भनिएको छ, ‘म्यासेज पठाइसकेपछि ईमेल, फेसबुक आईडी तथा म्यासेञ्जर डिएक्टिभेट गर्ने गरिएको सूचना तथा उजुरीहरु प्राप्त भइरहेको प्रति ब्यूरोको ध्यानाकर्षण भएको छ ।’

प्रविधिको दुरुपयोग गरी गरिएका गैरजिम्मेवार तथा ऐन कानून विपरीत कार्य प्रति सजग भइ त्यस्ता झुक्यानमा पार्ने क्रियाकलापबाट सचेत रहन ब्यूरोले आग्रह गरेको छ ।

‘आफ्ना व्यक्तिगत कुनै पनि विवरणहरु उपलब्ध नगराउन साथै त्यस्ता कार्यहरु भए गरेको पाइएमा तत्काल आफ्ना अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय वा साइबर ब्यूरोमा सूचना जानकारी दिन अनुरोध छ,’ ब्यूरोले अगाडि भनेको छ ।

यस्ता उजुरी तथा सूचना ब्यूरोको टेलिफोन नम्बर ०१४२१९०४४, ०१४२१९०४८, मोबाइल नम्बर ९८५१२८६७७० वा यहाँ क्लिक गरी ईमेलमार्फत टिपाउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०