close

भन्सारबाट भित्रिएका करिब ५ लाख मोबाइलको भएन आईएमईआई दर्ता

टेकपाना टेकपाना

कात्तिक १८, २०७७ १३:२८

भन्सारबाट भित्रिएका करिब ५ लाख मोबाइलको भएन आईएमईआई दर्ता

काठमाडौं । भन्सारबाट भित्रिएका करिब ५ लाख मोबाइलको आईएमईआई दर्ता नभएको पाइएको छ । भन्सार विभागको वैदेशिक व्यापारको तथ्याङ्क र नेपाल दूरसञ्चार प्राधिकरणको आईएमईआई दर्ताको तथ्याङ्क आपसमा बाझिएको हो । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा कूल ४३ लाख ६५ हजार ९९० वटा मोबाइल भित्रिएका थिए । तर दूरसञ्चार प्राधिकरणमा भने ३८ लाख ७६ हजार ३०९ वटा मोबाइलको मात्रै आईएमईआई दर्ता भएको छ ।

जबकि नेपालमा आयात हुने हरेक मोबाइलको इक्विपमेन्ट आइडेन्टिटी अर्थात आईएमईआई नम्बर दर्ता गर्नुपर्ने व्यवस्था छ । त्यसो त नेपालमा आयात हुने सञ्चार सम्बन्धी इलेक्ट्रोनिक उपकरणको प्राविधिक पक्ष चेकजाँचपछि मात्रै आयातको अनुमति पाइन्छ ।   

दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट मोडल अनुसार उपकरण आयातका लागि अनिवार्य रुपमा टाइप अप्रुभलको सर्टिफिकेट लिनुपर्ने हुन्छ । साथै आयात हुने मोबाइलको आईएमईआई नम्बर दर्ता गराएर ‘नो अब्जेक्सन लेटर समेत जरुरी हुन्छ ।

यसरी नियामकको नो अब्जेक्सन लेटर बिना भन्सारले आयातित मोबाइल छोड्न नमिल्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् । ‘प्राधिकरणको आईएमईआई दर्ता र भन्सारको तथ्याङ्कमा यति ठूलो अन्तर नदेखिनुपर्ने हो, ‘ उनी भन्छन्, ‘अर्थ भन्सार विभाग र अर्थ मन्त्रालयसँग समन्वय गरेर यो समस्याको समाधान गर्नुको विकल्प छैन ।’

प्राधिकरणले आईएमईआई दर्तालाई अनिवार्य गरेर नियन्त्रणभन्दा पनि व्यवस्थित गर्न खोजेको प्रवक्ता अर्यालको भनाई छ । उनी अगाडि भन्छन्, ‘मोबाइल सेटको दुरुपयोग हुन नसकोस् र त्यसलाई नियमन गर्न सकियोस् भन्ने उद्देश्यले नै आईएमईआई दर्ता अनिवार्य गरिएको हो ।’

त्यसो त दर्ता नभएका मोबाइल नेपालमा चल्नै नसक्ने गरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सिस्टम जडाको कार्य थालेको छ । अबको तिन महिनाभित्र उक्त सिस्टम सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ । त्यसपश्चात भने आईएमईआई दर्ताबिना नेपालमा मोबाइल आयात गर्ने कार्य पूर्णतः नियन्त्रण हुने प्रवक्ता अर्यालले बताए । 

अनलाइनबाट आईएमईआई दर्ता गराउन सकिने सुविधा हुँदा समेत केही आयातकर्ताले त्यसलाई नजरअन्दाज गरेको पाइएको छ । नो अब्जेक्सन बिना भन्सारले सामान नछोड्ने भए पनि आईएमईआई दर्ता बिना नेपालमा मोबाइल कसरी भित्रिए भन्ने कुराको स्पष्ट जवाफ भने छैन ।

आईएमईआई दर्ता बिना नेपालमा मोबाइल भित्रिएको विषयमा भन्सार विभागका सूचना अधिकारी शिशीर घिमिरे अनविज्ञता प्रकट गर्छन् । ‘कहिले काहिँ तथ्याङ्कको गडबडीले समेत यस्तो अवस्था सिर्जना हुने गर्दछ,’ उनले भने । 

प्राधिकरणको आईएमईआई दर्ताको तथ्याङ्क अनुसार गत वर्ष नेपालमा भारतीय मोबाइल निर्माता कम्पनी लाभा पहिलो नम्बरमा देखिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०