close

लगभग देशभरका खानेपानी अनलाइनमा, तर केयूकेएल भने पुरानै लाइनमा

रन्जन कोइराला रन्जन कोइराला

कात्तिक ३०, २०७७ १४:४९

लगभग देशभरका खानेपानी अनलाइनमा, तर केयूकेएल भने पुरानै लाइनमा

काठमाडौं । जानी नजानी हामी प्रविधिसँग धेरै नै घुलमिल भइसकेका छौं । युवा पुस्ताको त कुरै छाडौं, घरमा बिजुलीको बिल आएपछि बुबा आमा अचेल प्रयोग गर्ने शब्दले पनि प्रविधि दर्शाउन थालेजस्तो लाग्छ । ‘छोरा बिजुलीको बिल आएको छ, खै तेरो ई–सेवाबाट पैसा तिर्दे !’

बुबा आमालाई अनलाइन पेमेन्टले कसरी काम गर्छ, ई–सेवा, खल्ती लगायतका मोबाइल वालेटमार्फत कसरी बिल भुक्तानी हुन्छ भन्ने विषय थाहा नहोला । तर, उहाँहरुलाई यति थाहा छ, छोराले अनलाइन भुक्तानी गरिदियो भने आफू बिजुलीको बिल तिर्नका लागि लाइन बस्न जानु पर्दैन ।

बिजुलीको बिलमात्रै किन ? खानेपानी, इन्टरनेट तथा टेलिफोन, राजश्व लगायतको भुक्तानी अनलाइनबाटै सम्भव भइसकेको छ ।

अनलाइन टिकेटिङ तथा अनलाइन शपिङ त छँदै छ । अझ कोरोनाको माहामारीसँगै धेरै क्षेत्रमा प्रविधिको प्रयोग हुन थालेको छ । बैंकिङ क्षेत्रले आफ्ना सेवाग्राहिलाई सेवा दिन नयाँ–नयाँ प्रविधि भित्र्याइरहेको छ ।

सरकारी कार्यालय त्यही अनुसार प्रविधिलाई आत्मसाथ गर्न थालेका छन् । यसरी प्रविधिमैत्री हुनुको एउटै उद्देश्य पारदर्शीता र सहजता नै हो ।

अझ अहिले कोरोना माहामारीको समयमा प्रविधिको प्रयोगको अर्को विकल्प छैन भन्दा फरक नपर्ला । सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा बिल भुक्तानीको लागि लाइन बस्नु त सम्भव नै छैन । त्यसैले पनि यसैबीच कतिपय सेवा अनलाइनमा धकेलिएका छन् ।

कारोना महामारीसँगै नयाँ नयाँ अनलाइन प्लेटर्फम खुले । लामो समयदेखि अनलाइन सेवा दिन हिच्किचाइरहेका कतिपय सेवा प्रदायकले अनलाइनमार्फत आफ्नो सेवा दिनुको विकल्प देखेनन् । यसैबीच राजस्व कार्यालयले अनलाइन भुक्तानी सम्भव बनायो ।

अनलाइनबाटै कम्पनी दर्ता र नवीकरण सम्भव भयो । आपुर्ती विभागले व्यापार व्यवसायको दर्ता र नवीकरण अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलायो । ट्राफिक प्रहरीले अनलाइनबाटै बिलबुक तथा लाइसेन्स हराएको उजुरी दिन मिल्ने सेवाको सुरुवात गर्‍यो ।

त्यतिमात्र नभएर ससाना खानेपानी उपभोक्ता समितिको बिल समेत अनलाइनबाटै तिर्न सकिने भइसकेको छ । १५ सय ग्राहक रहेकाे कपिलवस्तुको बाँडगंगा खोनपानी उपभोक्ता तथा सरसफाई समितिले आज भन्दा तीन वर्ष अघिबाटै अनलाइन बिलिङ सुरु गरेको हो ।

जसको प्रभाव आज ६० प्रतिशतभन्दा बढी प्रयोगकर्ताले अनलाइन भुक्तानी गर्न थालेको समितिका अध्यक्ष विश्व कार्की बताउँछन् । कार्कीका अनुसार लकडाउनसँगै यसको प्रयोगमा अझ धेरै बृद्धि भएको छ । 

सामान्य अवस्थामाभन्दा लकडाउनसँगै अनलाइन भुक्तानी गर्नेको संख्या झन्डै ३० प्रतिशतले बढेको उनी बताउँछन् । भन्छन्, ‘यसको कारण कार्यालयमा लाइन बस्नु नपर्ने र समयको बचत नै हो ।’

वार्षिक आम्दानी लाखमै सीमित हुने यस्ता ससाना खानेपानी समितिले तत्परता देखाएर आफ्ना सेवाग्राहीलाई अनलाइन सेवा उपलब्ध गराइरहेका छन् ।

उनीहरुले प्रविधि आत्मसाथ गर्दा देशकै ठूलो खानेपानी समिति काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भने अझै पुरानै ढर्रामा चलिरहेको छ । केयूकेएलका प्रवक्ता प्रकाश राईकै भनाइ मान्ने हो भने हाल केयुकेएलका प्रयोगकर्ता दुई लाख २३ हजारभन्दा बढी छन् । 

नेपालमा कस्तो छ खानेपानीमा प्रविधिकाे प्रयाेगकाे अवस्था ?

प्राप्त तथ्याङ्क अनुसार खानेपानी समितिहरुमा सिस्टम उपलब्ध गराउँदै आएको कम्पनी दियालो टेक्नोलोजी अन्तर्गतको वाटरमार्क प्रयोग गर्ने खानेपानी समितिको संख्या हाल १४९ भन्दा बढी छ ।

सन् २०१८ मा अनलाइनमार्फत खानेपानीको बिल तिर्ने प्रयोगकर्ताको संख्या १ लाख ४८ हजार थियो । उक्त संख्या बढ्दै २०१९ को अन्त्यसम्म आइपुग्दा करिब ३ लाख पुग्यो ।

हाल १४९ समितिका ३ लाख ७५ हजारभन्दा बढी प्रयोगकर्ता यसमा जोडिएका छन् । त्यसमध्ये ३० भन्दा बढी समिति यही लकडाउनकै बीचमा थपिएको दियालो टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल बताउँछन् ।

उनका अनुसार यस्तो सिस्टम जडानको लागि बढीमा २० दिन देखि एक महिनामात्रै लाग्छ । जसमा लेखा तथा जिन्सी व्यवस्थापन, बजेट तथा लक्ष्य, स्थिर सम्पति र ह्रास कट्टी, बायोमेट्रिक हाजिरी, मानव संसाधन व्यवस्थापन, खानेपानीको ल्याब परीक्षण तथा परीक्षण प्रतिवेदन, मिटर रिडिङ सिस्टमसम्म सम्पूर्ण कुरा अटाउँछन् ।

वाटरमार्क जस्तै नेपालमा खानेपानीका लागि सिस्टम उपलब्ध गराउने संस्था धेरै छन् । त्यसमध्ये प्लाज्मा टेक प्रालि पनि एक हो । उक्त संस्थाले सरकारी संस्था ‘खानेपानी संस्थान’ मा यस्तै खालको सिस्टम उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक निर्मल सेढाईंका अनुसार संस्थानमा गतवर्षबाट प्रविधिको प्रयोग भएको हुन थालेको हो । लकडाउनको समयमा ग्राहकको सहजताको लागि भन्दै वैशाखबाट अनलाइन भुक्तानी पनि सुरु भएको छ ।

वैशाख यता संस्थानमा ई–सेवाबाटमात्रै १२ हजार भन्दाबढी उपभाेक्ताले अनलाइनबाट खानेपानीको बिल तिरेका छन् । तथ्याङ्ककै कुरा गर्ने हो भने, २०७६ साउनमा ई–सेवामार्फत ५३,३७६ जना खानेपानी उपभाेक्ताकाे बिल अनलाइनमार्फत भुक्तानी भएकाे थियाे । 

उक्त संख्या एक वर्षमा झन्डै दुई गुणाले बढेको छ । गएको साउनमा अनलाइमार्फत ९७ हजार पाँच सय ग्राहककाे बिल अनलाइन भुक्तानी भएकाे छ । गएको असोजमा आइपुग्दा अनलाइन बिल भुक्तानी गर्ने ग्राहक एक लाख १० हजारकाे हाराहारीमा रहेका थिए । 

प्राप्त तथ्याङ्कअनुसार लकडाउनकै बीच अनलाइन पेमन्ट गर्नेको संख्या भारी मात्रामा वृद्धि भएको छ । फागुनमा अनलाइन पेमन्ट गर्नेको संख्या ८४ हजार दुई सय रहेकोमा चैत र वैशाखमा केही कम भएको थियो । तर जेठमा ९० हजार खानेपानी उपभाेक्ताकाे बिल अनलाइनबाट भुक्तानी भएकाे देखिन्छ ।

केयूकेएल भने पुरानो ढर्रामा 

यसरी निरन्तर रुपमा प्रविधिमा मानिसहरु अकर्षित भइरहेको अवस्थामा केयूकेएल भने अझै ग्राहकलाई बिल तिर्नका लागि कार्यालयमै बोलाइरहेको छ । यतिसम्म कि कोरोना महामारी बीच पनि उपभोक्ताले शाखा केयूकेएलका कार्यालयहरुमार्फत पैसा बुझाएको केयूकेएलका प्रवक्ता राई बताउँछन् । 

त्यतिले नपुगेर केयूकेएलले काेराेना महामारी कै बीच विभिन्न पदकाा लागि आवदेन माग गरेकाे थियाे । जसका लागि लाइन बसेर आवेदन भरिरहेकाे कुरा विभिन्न मिडियामा आएकाे थियाे ।

सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेकाे अवस्थामा सेवाग्राहिलाई यसरी लाइन बसालेर सेवा दिनु कत्तिकाे जायज हाे भनेर हामीले राईसँग प्रश्न गरेका थियौं । जवाफमा उनले भने, ‘पक्कै पनि तपाईंले उठाएकाे प्रश्न जायज हाे । त्यसैले अब हामी हाम्राे सिस्टमलाई परिमार्जन गरिरहेका छाैं ।’ 

राईका अनुसार अहिले केयूकेएलमा बिलिङ सिस्टम तयार भएको छ । बाँकी आईटीको प्याकेजमा काम भइरहेको छ ।

‘हामीले आजभन्दा चार वर्ष अघि नै बिलिङ सिस्टमका लागि बोलपत्र आह्वान गरेर काम अघि बढाएका थियौं,’ राई भन्छन्, ‘तर, काम चाहिँ सोचेजस्तो भएन । सिस्टमा बल्ल अहिले आएर तयार भएको छ । हामीलाई त्यतिबेला बिलिङ सिस्टमको आवश्यकता थियो । त्यही भएर बिलिङ सिस्टमको काम अघि बढाएका थियौं ।’

तर, काम सम्पन्न हुन झन्डै पाँच वर्ष लाग्यो । त्यसै कारण प्रविधि प्रयोगमा संस्था पछाडि परेको उनको भनाई छ । भन्छन्, ‘ अहिले प्रविधिमा रुपमान्तरणका लागि नयाँ परियोजना अघि बढाएका छौं । त्यसका लागि सम्झौता समेत भइसकेको छ । अबको केही समयमा उक्त सिस्टमा सञ्चालनमा आउने अपेक्षा गर्न सकिन्छ । उक्त सिस्टमा सञ्चालनमा आउँदा ग्राहकले अनलाइबाटै खानेपानीको बिल भुक्तानी गर्न सक्नेछन् ।’

तर, उक्त परियोजना कहिले सकिन्छ भन्ने कुराको अझै कुनै यकिन छैन । एउटा सिस्टम राख्नका लागि झन्डै पाँच वर्ष बिताएको कम्पनीको सिस्टमको काम सक्ने गरी सोही कम्पनीलाई नै नयाँ परियोजनाको समेत जिम्मा लगाइएको छ ।

कम्पनीले टेण्डर आह्वान गर्दाकै बखत त्यसै अनुसारको प्रावधान राखेकाले सोही कम्पनीले उक्त परियोजना हात पारेको केयूकेएल बताउँछ ।

केयूकेएलले जारी गरेको सार्वजनिक सूचना अनुसार नयाँ सिस्टमको लागि ओम्नी बिजेनश कर्पोरेट इन्टरनेश्नल र जेभीको रुपमा एक्सेस वर्ल्ड टेक प्रालिलाई उक्त प्रविधि जडानका लागि चार करोड ७९ लाख १४ हजार रुपैयाँमा जिम्मा दिएको छ ।

जिम्मा दिएकै डेढ वर्ष बितिसकेको छ । यो डेढ वर्षको अवधिमा पनि काम सम्पन्न हुन सकेको छैन । अझै केही समय लाग्ने प्रवक्ता राई बताउँछन् । 

सामाजिक सञ्जालमा केयूकेएल

यो समाचार तयार पार्दा सामाजिक सञ्जालमा केयूकेलको विषयमा हुने चर्चाकाे विषयमा हामीले केलाउने प्रयास समेत गरेका छौं । धेरै जसाेले केयूकेएललाई गाली गर्ने गरेको भेटियाे । त्यसमध्ये हाम्राे सन्दर्भ मिल्ने दुई वटा ट्वीट रहेछन् ।

 ट्वीटरमा पवन माथेमाले केयूकेएलमा पानीकाे बिल अनलाइन तिर्न मिल्दैन भनेर प्रश्न गरेका छन् । उनकाे प्रश्नकाे जवाफमा सबैले छैन उल्लेख गरेका छन् ।  

त्यस्तै अर्काे ट्विट पनि अनलाइन भुक्तानीकै विषयमा छ । प्रज्वल अमात्य साेध्छन, ‘केयूकेएलकाे पानीकाे बिल अनलाइन भुक्तानी गर्ने कुनै माध्यय छ ?’ 

आफैंले सेवाग्राहीकाे सहजताकाे लागि अनलाइन भुक्तानीकाे सेवा सुरु गर्नुपर्ने केयूकेल यसरी प्रयाेगकर्ताले अनलाइन पेमेन्टकाे माध्यम खाेजिरहँदा समेत कुनै विकल्प दिन सकिरहेकाे छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०