close

यसरी सजिलै बुझ्नुहोस् आईफोन र एन्ड्रोइडबीचको अन्तर

टेकपाना टेकपाना

मंसिर २, २०७७ ११:५०

यसरी सजिलै बुझ्नुहोस् आईफोन र एन्ड्रोइडबीचको अन्तर

काठमाडौं । स्मार्टफोनको बजारमा सबैभन्दा धेरै बिक्री हुने फोन एन्ड्रोइड र आईफोन हुन् । आईफोन रुचाउनेहरुले यसको फिचर र अपरेटिङ सिस्टम मन पराउँछन् ।

एन्ड्रोइडका पनि आफ्नै खास फिचरहरु छन् । आज हामी तपाईंलाई यी दुई अपरेटिङ सिस्टममा चल्ने फोनहरुबीचको आधारभूत भिन्नता बारेमा बताउँदै छौं ।

आईफोनमा के छ खास ?

अमेरिकी कम्पनी एप्पलले आईफोन बनाउने गर्छ । एलिट वर्गका लागि तयार पार्ने यो कम्पनीका उत्पादनहरु गुणस्तरीय पनि हुन्छन् ।

आईफोन सबैभन्दा महंगा फोन हुन् र विश्वभर आईफोन मनपराउनेहरु छन् । सबैभन्दा महत्वपूर्ण कुरा आईफोनको सेक्युरिटी अर्थात सुरक्षाकै हो ।

आईफोन सेक्युरिटीको मामिलामा एन्ड्रोइडभन्दा अगाडि छ । एप्पल कम्पनीले आफ्ना स्मार्टफोनमा आफैंले तयार पारेको हार्डवेयर र सफ्टवेयर प्रयोग गर्दछ ।

जसबाट कम्पनीलाई थाहा हुन्छ कि फोनमा कुन कुन पार्टस छन् र के के फिचरहरु समावेश छन् । त्यसैले आईफोनमा हार्डवेयर तथा सफ्टवेयरसँग जोडिएका हैरानी कम आउँछन् ।

यदि आइहाले पनि आईफोनका आधिकारिक सर्भिस सेन्टरबाट त्यसलाई समाधान गर्न सकिन्छ । आईफोन केवल एप्पल कम्पनीले मात्र बनाउँदछ ।

त्यसैले बजारमा यसका सीमित मोडल मात्र बजारमा उपलब्ध छन् । आईफोनमा एन्ड्रोइडमा जति एप त हुँदैनन् तर जति एप हुन्छन्, तिनको गुणस्तर एन्ड्रोइडको तुलनामा राम्रो हुने गर्दछ ।

सफ्टवेयर अपडेटको कुरा गर्ने हो भने आईफोनमा निश्चित समयको अन्तरालमा अपडेटहरु आइरहेका हुन्छन् । यसबाट पछिल्लो प्रविधिबाट फोन अपग्रेड भइरहेको हुन्छ ।

मूल्यको कुरा गर्ने हो भने आईफोन महंगो मूल्यको फोनको रुपमा समेत चिनिन्छ । गुणस्तरीय उत्पादन हुने भएकैले एप्पल कम्पनीका उत्पादन निकै महंगा हुने गर्दछन् । पछिल्ला केही वर्षमा आईफोनका केही सस्ता मोडेल समेत आउन थालेका छन् । जसको मूल्य नेपालमा ७० हजार रुपैयाँबाट सुरु हुन्छ ।

अनि एन्ड्रोइडमा ?

एन्ड्रोइड स्मार्टफोन तिनै हुन्, जसमा एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको हुन्छ । आजकलको समयमा जति पनि स्मार्टफवनहरु आइरहेका छन्, ती मध्ये धेरैजसोमा एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको हुन्छ ।

एन्ड्रोइड सफ्टवेयर गुगल कम्पनीको हो । यो एक प्रकारको ओपन सोर्स सफ्टवेयर हो, जसमा डेभलपरले आफ्नो हिसाबले मोडिफिकेसन तथा कस्टमाइजेसन गर्न सक्छन् ।

त्यसैले हरेक स्मार्टफोनमा अपरेटिङ सिस्टम त एन्ड्रोइड भए पनि फिचर भने अलग अलग हुने गर्दछन् । मोबाइल बनाउने कम्पनीहरुले आफ्नो फोनको हिसाबले एन्ड्रोइडका फिचरहरु राखिरहेका हुन्छन् ।

एन्ड्रोइड फोनमा थुप्रै विकल्पहरु छन् । तपाईं यसमा सस्तो मूल्यको रेञ्जदेखि निकै महंगा फोन खरिद गर्न सक्नुहुन्छ । बजारबाट कुनै एन्ड्रोइड फोन लिन जाँदै हुनुहुन्छ भने तपाईंले अलग अलग डिजाइन फेला पार्न सक्नुहुनेछ ।

एन्ड्रोइड फोनमा मल्टी विण्डो अप्सन हुने गर्दछ । जसमा तपाईंले एकसाथ दुई वा दुईभन्दा बढी काम गर्न सक्नुहुन्छ । एन्ड्रोइडमा एपहरुको संख्या पनि एकदमै धेरै हुने गर्दछ ।

धेरै फोन हुने भएका कारण हरेक एन्ड्रोइड फोनमा अलग अलग प्रकारका एप हुन्छन् । यी फोनहरुको फिचर समेत निकै फरक फरक प्रकारको हुने गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०