close

वालेटमार्फत ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी खुल्ला गर्ने राष्ट्र बैंकको तयारी

टेकपाना टेकपाना

मंसिर १३, २०७७ १५:१५

वालेटमार्फत ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी खुल्ला गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने सुविधा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शनिबार जारी फोनपे डिजिटल कन्क्लेभमा यस्तो जानकारी गराएका हुन् ।  

गत भदौमा नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्राप्त गर्ने व्यवस्थालाई सहज बनाएको थियो । हाल विदेश जाने नेपाली यात्रुलाई पासपोर्टको आधारमा कार्ड मार्फत १५०० अमेरिकी डलरसम्म खर्च गर्न पाउने सुविधा रहेको छ । 

तर अनलाइनबाट भने विदेशी ईकमर्स तथा अन्य सेवा एवम् सब्सक्रिप्सन खरिद गर्न सकिने सुविधा भने छैन । जसका कारण गेमिङ, सःशुल्क एप, अमेजन प्राइम तथा नेटफ्लिक्स, अन्तर्राष्ट्रिय ईकमर्सको सेवा र त्यसको भुक्तानी नेपालका लागि असहज बनेको छ ।

तर अब भने यस किसिमको समस्या सम्बोधन गर्न अनलाइन भुक्तानी खुल्ला गर्न लागिएको हो ।त्यसका लागि राष्ट्र बैंक आन्तरिक छलफलमा जुटेको गभर्नर अधिकारीले बताए । 

‘पाँच सय डलरको अकाउन्ट खोल्न दिने विषयमा हामी छलफलमा छौं,’ उनले भने, ‘त्यसबाट विदेशी ईकमर्सको खरिद गर्न तथा कुनै सेवाको सब्सक्रिप्सनको भुक्तानी गर्न सकिनेछ ।’

ब्राण्ड वर्थको आयोजना तथा एनसेलको स्पोन्सरशिपमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले विदेशी अनलाइन भुक्तानी क्रमशः खोल्दै जानुपर्ने विषय भएको उल्लेख गरे । उनले अगाडि भने, ‘भुक्तानी सेवाप्रदायकहरुले पनि आफ्नो असोसियसन खोज्न सक्ने विषयलाई समेत खुल्ला गर्ने विचारमा छौं ।

हामीसँग अहिले १४ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित रहेका छ । यस्तो अवस्थामा सीमित रुपमा अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी खुल्ला गर्दा मुलुकलाई कुनै किसिमको असहजता उत्पन्न हुने अवस्था पनि छैन ।’

उनले यसबाट व्यवसाय, विभिन्न किसिमका गतिविधि र सहजता बढ्ने भन्दै संसारले खोलेको विषय नेपालले रोकिरहन सम्भव नरहेको बताए । ‘यद्यपि यसका लागि अध्ययन गरेर निश्चित प्रकृया भने तय गर्न आवश्यक छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०