close

आईफोन इलाभेनको डिस्प्लेमा समस्या, एप्पलले ल्यायो निःशुल्क रिप्लेसमेन्टको अफर

टेकपाना टेकपाना

मंसिर २१, २०७७ १९:४५

आईफोन इलाभेनको डिस्प्लेमा समस्या, एप्पलले ल्यायो निःशुल्क रिप्लेसमेन्टको अफर

काठमाडौं । एप्पलले आईफोन इलाभेनका लागि डिस्प्ले मोड्युल रिप्लेसमेन्ट कार्यक्रम सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आईफोन इलाभेनको डिस्प्लेमा एक प्रकारको समस्या देखिएको छ, जसका कारण कयौं पटक डिस्प्लेमा टच गर्दा त्यसले प्रतिक्रिया जनाउँदैन ।

यस्तो समस्या आईफोनका ती युनिटमा भइरहेको छ, जसको उत्पादन नोभेम्बर २०१९ देखि २०२० को मे महिनाको बीचमा भएको थियो । एप्पलले आफ्नो सपोर्ट पेजमार्फत आईफोन इलाभेनको डिस्प्ले मोड्युलमा केही समस्या रहेको उल्लेख गरेको छ ।

कम्पनीले गत वर्ष आईफोन इलाभेनलाई आईफोन प्रो र आईफोन प्रो म्याक्सका साथ सार्वजनिक गरेको थियो । आईफोन इलाभेनमा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले रहेको छ ।

आईफोन इलाभेन सार्वजनिक भएको करिब एक वर्षभन्दा बढी समय बितिसकेको छ । एप्पलको रिप्लेसमेन्ट कार्यक्रममार्फत आईफोन इलाभेनका ती युनिटहरु समेटिनेछन्, जो सार्वजनिक भएको दुई महिना पछि अर्थात नोभेम्बर २०१९ पछि उत्पादन गरिएका थिए ।

रिप्लेसमेन्ट कार्यक्रममार्फत केवल डिस्प्लेको समस्यालाई मात्र समेटिनेछ । जुन डिभाइसको स्क्रिन टुटफुट भएको छ, त्यसलाई भने सर्भिसमार्फत नै ठीक बनाउनुपर्नेछ ।

यस्तो अवस्थामा अतिरिक्त रिपेयरिङका लागि थप शुल्क समेत लाग्न सक्नेछ । यस अघि नै डिस्प्लेको समस्या देखिएर रिपेयर गराइसकेका प्रयोगकर्ताले कम्पनीबाट उक्त शुल्क रिफण्डको रुपमा फिर्ता लिन समेत सक्नेछन् ।

यो रिप्लेसमेन्ट कार्यक्रम आईफोन इलाभेन खरिद गरेको दुई वर्षसम्म मान्य हुनेछ । आईफोन इलाभेनका प्रयोगकर्ताले आफ्नो फोनको सिरियल नम्बर उपलब्ध गराएर आफ्नो डिभाइस डिस्प्ले रिप्लेसमेन्टका लागि योग्य रहे/नरहेको जानकारी लिन सक्नेछन् ।

यो रिप्लेसमेन्ट कार्यक्रममा आईफोन इलाभेनको वारेन्टी थप गरिएको छैन । डिस्प्लेको कमजोरी वारेन्टी बाहिर फिक्स गरिने बताइएको छ ।

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०