close

साइबर ब्यूरोको ‘ह्याकर हण्ट’ अप्रेसन, लोक सेवा आयोगको सर्भर ह्याक गर्ने ३ जना पक्राउ

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १८:४९

साइबर ब्यूरोको ‘ह्याकर हण्ट’ अप्रेसन, लोक सेवा आयोगको सर्भर ह्याक गर्ने ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोले ‘ह्याकर हण्ट’ (ह्याकरको शिकार) नामक विशेष अप्रेसन सुरु गरेको छ । सरकारी सूचना प्रणालीमा अनधिकृत पहुँच बनाएर भ्रामक सन्देश फैलाएको भन्दै ब्यूरोले तीन जना ह्याकरलाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार सरकारी सरकारी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच बनाएको विषयमा विभिन्न माध्यमबाट सूचना तथा निवेदन परेको थियो । अनुसन्धानको क्रममा प्राप्त सूचनाको आधारमा विशिष्ट प्रापिकिक विश्लेषण तथा अनुसन्धानको आधारमा ब्यूरोले विशेष अप्रेसनको रुपमा ‘ह्याकर हण्ट’ सुरु गरेको हो ।

अप्रेसनको क्रममा ललितपुर महालक्ष्मी नगरपालिका ९ सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्की जिल्ला पोखरा महानगरपालिका बस्ने १७ वर्षीय छोरेपाटन (परिवर्तित नाम) र १५ वर्षीय घारी पाटन (परिवर्तित नाम) लाई पक्राउ गरिएको छ ।

उनीहरुले अनधिकृत रुपमा सरकारी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको ब्यूरोको आरोप छ । उनीहरुले लोक सेवा आयोगको मूख्य सर्भर ह्याक गरी भ्रामक सूचना सहितको एसएमएस पठाएको बताइएको छ ।

९ हजारभन्दा बढीलाई पठाइएको एसएमएसमा कर्फ्यु लाग्ने भन्दै झुटो सन्देश प्रवाह गरिएको थियो । उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कास्की समेतको सहयोगमा कास्की र काठमाडौंबाट तीन जना ह्याकर पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको ब्यूरोका प्रवक्ता नविन्द अर्यालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०