काठमाडौं । नेपाल टेलिकमले कम्पनीको नाम दुरुपयोग गर्दै भ्रामक सामग्री शेयर गरिएको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । कम्पनीले जरुरी सूचना प्रकाशित गर्दै टेलिकमको नाम, लोगो तथा अन्य सामग्री प्रयोग गरी विभिन्न सामाजिक सञ्जालमा अनधिकृत पेजमार्फत सम्प्रेषण भएका सामग्रीको भर नपर्न आग्रह गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसैक्रममा नेपाल टेलिकमको नाममा फेसबुक पेज बनाएर साइबर अपराधीहरुले भ्रामक जानकारी सहित फिशिङ लिङ्क राखिएको पोस्ट बुस्ट गरेका छन् ।

यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ । यस्तोमा टेलिकमले कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिन आग्रह गरेको हो ।
नेपाल टेलिकमको हरेक जानकारी आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र लिनुहुन समस्त ग्राहकवर्गलाई आग्रह गर्दछौँ । #NepalTelecom
Posted by Nepal Telecom on Monday, December 7, 2020
टेलिकमले जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘यस्ता अनाधिकृत पेजमा आफ्ना कुनै विवरण, सूचना उपलब्ध नगराउनुहुन समस्त ग्राहवर्गलाई आग्रह गर्दछौं ।’
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
