close

२ जीबी, ४ जीबी वा ६ जीबी र्‍याम, कुन स्मार्टफोन किन्ने ?

टेकपाना टेकपाना

मंसिर २३, २०७७ १५:१५

२ जीबी, ४ जीबी वा ६ जीबी र्‍याम, कुन स्मार्टफोन किन्ने ?

तपाईं नयाँ स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने कति जीबी वाला र्‍याम भएको फोन खरिद गर्ने भन्ने बारेमा पक्कै सोच्नुहुन्छ । दुई जीबी, तीन जीबी, चार जीबी वा आठ जीबी गरी अनेक भेरियन्टमा तपाईंले बजारमा स्मार्टफोन पाउन सक्नुहुन्छ ।

के तपाईंले कति जीबी र्‍याम भएको स्मार्टफोन आफ्नो लागि उपयुक्त हुन्छ भन्ने बारेमा सोच्नु भएको छ ? आज हामी कति जीबी र्‍याम भएको स्मार्टफोन तपाईंका लागि उपयुक्त हुन्छ भन्ने बारेमा बताउँदै छौं ।

तपाईंले कति जीबीको र्‍याम आफ्नो लागि उपयुक्त हुन्छ भन्ने जान्नु भन्दा अगाडि र्‍याम के हो भन्ने बारेमा बुझ्न जरुरी छ । र्‍याण्डम एक्सेस मेमोरीलाई हामी छोटकरीमा र्‍याम भनेर बुझ्दछौं ।

यसलाई सजिलोसँग बुझ्ने हो भने यो एक प्रकारको अस्थायी रुपमा डेटा स्टोर गर्ने मेमोरी हो । यसले जब तपाईंको फोनमा कुनै एप वा वेब रन हुन्छ, त्यसको डेटा यसले अस्थायी रुपमा स्टोर गरेर राख्दछ ।

ता कि उक्त एप्लिकेसनलाई फास्ट प्रयोग तथा एक्सेस गर्न सकियोस् । यदि तपाईं फोनमा एकसाथ धेरै एप्लिकेसन प्रयोग गर्नुहुन्छ र एउटा एप्लिकेसनबाट अर्कोमा फास्ट सिफ्ट हुन चाहनुहुन्छ भने यो सबै काम र्‍यामकै कारण सम्भव वा असम्भव हुन्छ ।

यसको अर्थ तपाईंले जसै आफ्नो स्मार्टफोनमा कुनै एप अन गर्नुहुन्छ, तत्कालै उक्त एप्लिकेसन र्‍याममा लोड हुने गर्दछ । यस्तो एप र्‍याममा त्यतिखेरसम्म रहन्छ, जबसम्म तपाईं उक्त एपलाई बन्द गर्नुहुन्न वा फोनलाई रिस्टार्ट गर्नुहुन्न ।

यसअर्थ सामान्य रुपमा बुझ्दा र्‍याममा एप्लिकेसनको डेटा अस्थायी रुपमा स्टोर हुने गर्दछ । यो एक प्रकारको अस्थायी स्टोरेजका लागि उपयोग हुने मेमोरी हो ।

यदि तपाईंले स्मार्टफोनको इतिहास केलाउनु भयो भने १२८ एमबी, ५१२ एमबी, एक जीबी र दुई जीबीको र्‍याम हुने गर्दथ्यो । यदि तपाईंले ती दिन सम्झिनु भएको छ भने त्यतिखेर आउने एप्लिकेसनहरु पनि निकै हलुका आकारका हुने गर्दथे ।

समय बदलिँदै गएसँगै प्रविधि पनि विकास हुँदै गयो । र्‍यामको क्षमता बढ्दै गयो । एपहरु अपग्रेड हुँदै गए । पहिले हलुका एप हुने गर्दथे, अब त्यही ठाउँमा भारी एपहरु आउन थालेका छन् ।

तपाईंले ख्याल गर्नुभयो भने आजकलका एपहरु ५० एमबी, सय एमबी, ५०० एमबीका हुने गर्दछन् । अझ गेमहरु हेर्नुभयो भने त झन् एक जीबी, डेढ जीबी र दुई जीबी आकारका हुने गर्दछन् ।

जब कि यी एपहरु सुरुवाति दिनमा केही केबी अथवा एमबी साइजमा हुने गर्दथे । यसरी समयसँगै सबैकुरा बदलिँदै गएको छ ।

त्यसैले अहिलेको समयमा तपाईंले स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने कमसेकम चार जीबी र्‍याम त हुन जरुरी छ । स्मार्टफोन उद्योगमा चार जीबी र्‍याम एउटा स्ट्याण्डर्डको रुपमा स्थापित हुँदै गएको छ ।

त्यसैले स्मार्टफोन निर्माता कम्पनीहरु पनि कम्तिमा चार जीबी र्‍याम भएका स्मार्टफोनहरु ल्याउनेतर्फ जोड दिइरहेका छन् । ता कि एपहरु सहजै ओपन गर्न सकियोस् ।

प्रयोगकर्ताले सहजै मल्टी टास्किङ अर्थात एकसाथ फोनमा दुई वा दुई भन्दा बढी एपहरु प्रयोग गर्न सकुन् । अझ अर्को कुरा गेमिङका लागि प्रयोग गर्न चाहन्छन् भने सामान्य रुपमा त्यसलाई पनि खेल्न सकुन् ।

यसबाट सामान्य प्रयोगकर्ताको अनुभव नराम्रो नहोस् भन्नेतर्फ स्मार्टफोन निर्माता कम्पनीको ध्यान गइरहेको हुन्छ । चाहे त्यो सामान्य एप प्रयोग गर्ने कुरा होस् । 

यदि तपाईंले ख्याल गर्नुभएको छ भने स्मार्टफोन निर्माता कम्पनीले एउटै स्मार्टफोनलाई अलग अलग र्‍याम भेरियन्टका साथ बजारमा ल्याइरहेका हुन्छन् । ता कि प्रयोगकर्ताहरु आफ्नो आवश्यकता र मागको आधारमा आफ्ना लागि उपयुक्त विकल्प छनौट गर्न सकुन् ।

यदि तपाईंले इन्ट्री लेभलका वा भनौं दश हजार आसपासका मोबाइलहरु हेर्नु भयो भने त्यस्ता फोनहरुमा दुई जीबी वा तीन जीबी र्‍याम रहेको हुन्छ । र्‍यामको यो आकार त्यस्ता प्रयोगकर्ताका लागि उपयुक्त मानिन्छ, जो फिचर वा बारफोनबाट स्मार्टफोनमा शिफ्ट भइरहेका हुन्छन् ।

उदाहरणका लागि तपाईंका बुबा, आमा वा हजुर आमा तथा हजुर बुबा हुनसक्नुहुन्छ । उहाँहरुका लागि यी स्मार्टफोन उपयुक्त मानिन्छन् ।

यी फोनहरु सामाजिक सञ्जाल, ह्वाट्सएप, युट्युव आदिका लागि पर्याप्त हुन्छन् । तर यहाँनिर हामी तपाईंलाई दुई जीबी र्‍यामयुक्त स्मार्टफोन सकेसम्म प्रयोग नगर्न सुझाव दिन्छौं ।

किन भने यस्ता फोनहरुले ह्याङ भएर तपाईंलाई दिक्क पार्न सक्छन् । इन्ट्री लेभलकै स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने कम्तिमा तीन जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्नुहोस् ।

दुई जीबी र्‍यामलाई बिर्सिदिनुहोस् । यदि तपाईं स्मार्टफोनमा फेसबुक, युट्युव, ट्वीटर, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता एप्लिकेसनका साथै सामान्य किसिमका गेमिङ एप प्रयोग गर्न चाहुनुहुन्छ भने आजको समयमा कम्तिमा चार जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्नुहोस् ।

तर तपाईं सामान्य गेमिङभन्दा माथि अर्थात हेभी गेमिङ गर्न चाहनुहुन्छ अथवा भनौं तपाईंलाई गेमिङको निकै शौख छ र एक जीबी/डेढ जीबी साइजका गेम खेल्नुहुन्छ भने फोनमा कमसे कम छ जीबीको र्‍याम हुन जरुरी छ ।

यदि तपाईं त्यसभन्दा पनि झन् हार्डकोर गेमिङमा रुची राख्नुहुन्छ भने तपाईंको रोजाई गेमिङ स्मार्टफोन नै हो । त्यस्तो अवस्थामा आठ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्ने कोसिस गर्नुहोस् ।

तर कुनै पनि स्मार्टफोनमा र्‍याम मात्रै महत्वपूर्ण र पर्याप्त हिस्सा होइन । अर्थात ठूलो आकारको र्‍याम हुँदैमा मात्र तपाईंले स्मार्टफोनमा फास्ट पर्फर्मेन्स अनुभव गर्न पाउनुहुन्छ भन्ने ग्यारेन्टी छैन ।

त्यसैले तपाईंको फोनमा र्‍यामका अलावा तपाईंको फोनमा पावरफुल प्रोसेसर र अप्टिमाइजेसन समेत हुन जरुरी छ । यी सबैको संयोजनबाटै तपाईंलाई फोनमा राम्रो पर्फर्मेन्स अनुभूत गर्ने मौका मिल्ने गर्दछ ।

उदाहरणको रुपमा यहाँनिर आईफोनलाई नै हेरौं । आईफोनमा तीन वा चार जीबी र्‍यामको प्रयोग गरिएको हुन्छ । तर यस्ता आईफोनले पर्फर्मेन्सको मामिलामा १० वा १२ जीबी र्‍याम भएका एन्ड्रोइड फोनलाई टक्कर दिने क्षमता राख्दछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०