close

यसरी बुझ्नुहोस् फोनको वाटर रेसिस्टेन्ट, रिपेलेन्ट र प्रुफ प्रविधिबीचको भिन्नता

टेकपाना टेकपाना

मंसिर २४, २०७७ ८:३३

यसरी बुझ्नुहोस् फोनको  वाटर रेसिस्टेन्ट, रिपेलेन्ट र प्रुफ प्रविधिबीचको भिन्नता

काठमाडौं । स्मार्टफोनको फिचर चेक गरिरहँदा वाटर रेसिस्टेन्ट  फिचर देख्ने वित्तिकै जोकोही पनि उत्साहित हुन्छन् । पानीबाट बच्ने वाटरप्रुफ युक्त फोन पाएँ भनेर तपाईं पनि पक्कै मख्ख पर्नुहुन्छ ।

तर याद राख्नुहोस् वाटर रेसिस्टेन्ट फिचर देखेकै भरमा यो प्रविधिबारे राम्रोसँग नबुझी फोन किन्न हत्तार गर्नुभयो भने तपाईंको अपेक्षा अपुरो हुन सक्छ । मोबाइल प्रविधिमा वाटर प्रुफ जस्तै सुनिने तर असमान प्रविधिहरु पनि छन् ।

वाटर रेसिस्टेन्ट, वाटर रिपेलेन्ट र वाटर प्रुफ तीन वटै शब्दावली सुन्दा झट्ट एकै किसिमको प्रविधि जस्तो लाग्छ । यस्तोमा धेरै मानिसहरु झुक्किरहेका हुन्छन् र पानीमा फोन खस्दा बिगर्दैन भनेर लापारबाही गर्छन् ।

तर आज हामी यिनै प्रविधिको बारेमा तथा यिनको भिन्नताको बारेमा तपाईहरुलाई विस्तृत रुपमा बताउँदै छौं । 

वाटर रेसिस्टेन्ट

अधिकांश फोन निर्माता कम्पनीहरुले आफ्नो फोनलाई वाटर रेसिस्टेन्ट सर्टिफाइड भनेर विज्ञापन गरिरहेका हुन्छन् । यदि तपाईंको फोन पनि वाटर रेसिस्टेन्ट हो भने बुझ्नुहोस् कि तपाईंको फोनमा पानी सजिलै पस्न सक्दैन ।

यस किसिमका फोनभित्र पानीको केही थोपा पस्दा पनि फोनमा ठूलो क्षति हुँदैन । तर फोन वाटर रेसिस्टेन्ट हो भनेर त्यसलाई पानीभित्र हालेर परीक्षण गर्ने गल्ति भने नगर्नुहोस् । 

वाटर रिपेलेन्ट 

वाटर रिपेलेन्ट प्रविधि वाटर रेसिस्टेन्ट भन्दा एक स्तर माथिको सुरक्षित प्रविधि हो । यस किसिमको प्रविधिमा निर्माणकर्ताले फोनको बाहिर र भित्र एउटा पातलो फिल्म राख्दछन् ।

जसले फोनभित्र पानी छिर्नबाट रोक्छ । यस्तै फोनलाई पानीबाट बचाउन निर्माणकर्ताले एउटा हाइड्रोफोबिक सतह राखिदिएका हुन्छन् । यसले गर्दा फोनलाई पानीबाट कुनै असर हुँदैन । 

वाटर प्रुफ 

यदि तपाईंको फोन वाटर प्रुफ छ भने पानीबाट सुरक्षा दिने यो सबैभन्दा राम्रो प्रविधि हो । स्मार्टफोनमा आईपी ६७, ६८ सर्टिफिकेसन छ भने यस्ता फोनहरु वाटर प्रुफ हुन्छन् ।

यी फोनहरु पानीभित्र ३० मिटर गहिराईमा राख्दा समेत कुनै फरक पर्दैन । यस किसिमका फोनलाई पानी भित्रको तस्वीर लिन समेत प्रयोग गर्न सकिन्छ । 

यसरी गरिन्छ फोनको आईपी रेटिङ 

कुनै पनि ग्याजेट चाहे त्यो फोन, घडी, टिभी वा कुनै पनि सामग्री किन नहोस् । ठोस र तरल पदार्थ विरुद्ध सुरक्षा प्रदान गर्न सक्छ भने निर्माणकर्ता कम्पनीहरुले आईपी रेटिङमार्फत त्यसको स्तर निर्धारण गर्दछन् ।

आईपीको अर्थ इन्ग्रेस प्रोटेक्सन अर्थात कुनै बाह्य कुरा भित्र पस्नबाट रोक्ने क्षमता हो । आईपी सधैं दुईवटा डिजिट अर्थात् अङ्कमा राखिन्छ । उदारहणका लागि आईपी ६७, आईपी ५८ आदी ।

यी दुवै अङ्कको अर्थ आआफ्नै छ । पहिलो अङ्क जस्तै ६ ले ठोस पदार्थ धुवाँ, धुलोको सुरक्षा रेटिङ बताउँछ भने अन्तिम अङ्क ७ ले तरल पदार्थ जस्तै तेल, पानीविरुद्ध सुरक्षालाई जनाउँछ ।

ठोस प्रतिरोधी अङ्कको रेन्ज शून्यदेखि ६ सम्म हुन्छ भने तरलमा यसको रेन्ज शून्यदेखि आठसम्म हुन्छ । उच्चतम ८ अङ्क भनेको पानीभित्रको स्थितिमा प्रदान गर्ने सुरक्षाको स्तर हो ।  

तपाईंको डिभाइस सात अङ्कमा छ भने बुझ्नुहोस् तपाईंको ग्याजेट शूद्ध पानीभित्र एक मिटरसम्मको गहिराईमा तीस मिनेटसम्मका त्यो सुरक्षित रहन सक्छ ।

यस्तै आठ अङ्कमा छ भने तीन मिटरसम्मको गहिराईमा तीस मिनेटसम्म सुरक्षित रहन सक्छ । यदि तपाईंको फोनको आईपी रेटिङ ६८ छ भने तपाईंको फोनमा उच्चतम सुरक्षा छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०