close

स्थापना भयो विज्ञापन बोर्ड

टेकपाना टेकपाना

मंसिर २५, २०७७ ९:१७

स्थापना भयो विज्ञापन बोर्ड

काठमाडौं । नयाँ कानूनी व्यवस्था अनुसार विज्ञापन बोर्डको स्थापना भएको छ । मुलुकको समग्र विज्ञापन बजारको अनुगमन, नियमन तथा कार्यान्वयनका लागि बोर्डको कार्यालय स्थापना गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधबार राजधानीको बबरमहल स्थित विज्ञापन बोर्डको कार्यालय उद्घाटन गरे ।

त्यसक्रममा उनले विज्ञापनको क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्दै मुलुकको राष्ट्रिय हितको निम्ति विज्ञापन बोर्ड गठन गरिएको बताए । मन्त्री गुरुङले अगाडि भने, ‘आजको दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विज्ञापन बोर्डका लागि ऐतिहासिक छ ।’

विज्ञापनलाई कसरी एकीकृत तथा थप व्यवस्थित र समानुपातिक गर्न सकिन्छ, विज्ञापनमा दुर्गम ठाउँका सञ्चारकर्मी, सञ्चार गृहहरुको स्वामित्वलाई कसरी स्थापना गर्न सकिन्छ भन्ने सोच र दृष्टिकोणबाट विज्ञापन बोर्ड स्थापना गरिएको उनले बताए ।

साथै उनले विज्ञापन बोर्डको गठनले विज्ञापन ऐनलाई कार्यान्वयनमा लैजान थप सहयोग पुग्ने र कसैले पनि प्रश्न उठाउन नसक्ने गरी नीति तथा कार्यविधि बनाउन बोर्डलाई आग्रह समेत गरे । ‘तपाईंहरुले बनाउनु भएको कार्यविधि र नीतिलाई गाउँदेखि सहरसम्मका तथा दूरदराजका सबै सञ्चारकर्मी तथा सञ्चार क्षेत्रले स्वागत गर्न सकोस्,’ मन्त्री गुरुङले भने ।

विज्ञापन ऐन २०७६ ले विज्ञापन बोर्ड गठन सम्बन्धि व्यवस्था गरेको छ । एक जना मन्त्री, प्रतिनिधि सभा सदस्य र नेपाली नागरिकको हैसियतले विज्ञापन बोर्डलाई आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता समेत मन्त्री गुरुङले व्यक्त गरे ।

सरकारले गत समोबार मात्रै बोर्डमा थप पाँच जना सदस्य नियुक्त गरेको थियो । जसमा हेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना रहेका छन् । त्यसअघि तीन तथा सरकारी प्रतिनिधि नियुक्त गरिएको थियो ।

विज्ञापन नियमन ऐन २०७६ अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका तत्कालिन सहसचिव डिल्लिराम शर्माको अध्यक्षतामा बोर्ड गठन गरेको हो । खुला प्रतिस्पर्धाबाट विज्ञापन बोर्डको अध्यक्ष नियुक्त नहुँदासम्म सञ्चार मन्त्रालयका सहसचिवलाई अध्यक्षको जिम्मेवारी दिन सकिने प्रावधान ऐनमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०