close

फेसबुक म्यासेञ्जर डाउन, लाखौं प्रयोगकर्ताले पाएनन् एपको एक्सेस

टेकपाना टेकपाना

मंसिर २५, २०७७ १७:४

फेसबुक म्यासेञ्जर डाउन, लाखौं प्रयोगकर्ताले पाएनन् एपको एक्सेस

काठमाडौं । फेसबुक म्यासेञ्जर डाउन तथा काम नगर्ने भएको छ । विश्वभरका थुप्रै प्रयोगकर्ताले च्याट एपमा समस्याको सामना गरिरहेका हुन् ।

फेसबुकको यो आउटेज समस्याका कारण दशौं हजार प्रयोगकर्ताले म्यासेञ्जरको सेवा प्रयोग गर्न सकिरहेका छैनन् । अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार नेपाल सहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले मिनेटैपिच्छे म्यासेञ्जरमा पहुँच पाउन सकिरहेका छैनन् ।

यस किसिमको समस्या वेबका साथै मोबाइल एपमा समेत देखिएको छ । डाउन डिटेक्टरका अनुसार हरेक मिनेट २४०० प्रयोगकर्ताले म्यासेञ्जर लगईन गर्न, म्यासेज पठाउन र कल रिसिभ गर्न सकिरहेका छैनन् ।

यस्तो समस्या नेपालमा मात्र नभएर युरोपका प्रयोगकर्ताले समेत सामना गरिरहेका छन् । डाउन डिटेक्टरको म्यापमा म्यासेञ्जर डाउनको समस्या बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका देशमा देखिएको छ ।

अहिलेसम्म के कारणले यस किसिमको समस्या देखा परेको हो र कति समयमा समाधान हुन्छ भन्ने विषय स्पष्ट भइसकेको छैन । म्यासेञ्जर मात्र नभएर फेसबुककै अर्को एप इन्स्टाग्राम समेत डाउन भएको उल्लेख गर्दै केही प्रयोगकर्ताले रिपोर्ट गरिरहेका छन् ।

यस्तो अवस्थामा प्रयोगकर्ताहरुले सामाजिक सञ्जालहरुमा कम्पनीप्रति असन्तुष्टी व्यक्त गरिरहेका छन् । डाउन डिटेक्टरमा रिपोर्ट गर्ने आधाभन्दा धेरै प्रयोगकर्ताहरुले म्यासेज प्राप्त गर्न नसकिरहेको उल्लेख गरेका छन् भने ३१ प्रतिशतले सर्भर नै कनेक्ट हुन नसकेको र १५ प्रतिशतले लगईन नभएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०