close

नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा

टेकपाना टेकपाना

पुस ६, २०७७ १८:१५

नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा

काठमाडौं । नेपाली टिम एबरप्ट स्लेयर पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा पुगेको छ । विश्वभरका २४ वटा टिम सहभागी सुपर विकेण्ड चरणबाट नेपाली टोली अन्तिम चरणमा पुगेको हो ।

सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । चार विकेण्डको अवधिमा जम्मा ४५ खेल खेलेको टोलिले कूल ३१२ अ‌ंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १३२ र प्लेस प्वाइन्ट १८० हात पारेको थियो ।

यस अघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि हात पार्दै एबरप्ट स्लेयर ग्लोबल च्याम्पियनशिपका लागि छानिएको थियो । उक्त टिमले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ हात पारेको थियो ।

तर दक्षिण एसियाबाट दोस्रो स्थान बनाउँदै ग्लोबल च्याम्पियनशिपमा प्रवेश गरेको अर्को नेपाली टोली ‘द रियल सोल्डर’ (डीआरएस) भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको छ । अंक तालिकाको २० औं स्थानमा रहेको डीआरएसले कूल ११४ अंक मात्र बटुल्न सकेको हो ।

अब नेपाली टिम एबरप्ट स्लेयरसँगै १६ टिमले पब्जि मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुबईमा आयोजना हुने फाइनल खेल आउँदो जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । फाइनल चरणको खेलका लागि २० लाख अमेरिकी डलर राशीको पुरस्कारको व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०