close

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने सम्झौतामा प्राधिकरणले माग्यो टेलिकमसँग स्पष्टिकरण

टेकपाना टेकपाना

पुस १४, २०७७ १४:१५

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने सम्झौतामा प्राधिकरणले माग्यो टेलिकमसँग स्पष्टिकरण

काठमाडौं । नेपाल टेलिकम र नेपाली सेनाबीच काठमाडौं- तराई/मधेश द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने सन्दर्भमा भएको सम्झौतालाई लिएर नियामक दूरसञ्चार प्राधिकरणले टेलिकमसँग स्पष्टिकरण मागेको छ ।

टेलिकम र सेनाबीच गत पुस १० गते द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो । साे सम्झाैताप्रति प्रश्न उठाउँदै प्राधिकरणले ठूला पूर्वाधार निर्माण र सहप्रयाेगमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था रहेकाे स्मरण गराएकाे छ ।

प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले निकालेको साे पत्रमा दूरसञ्चार पूर्वाधार नियमावली, २०७४ को नियम ११ मा समेत ठूला पूर्वाधार निर्माण गर्न प्राधिकरणबाट स्वीकृति लिनुपर्ने र उपरोक्त नियमावलीको उपनियम ५ बमोजिम ठूला पूर्वाधार सहप्रयोग गर्न सक्ने गरी निर्माण हुनुपर्ने व्यवस्था भएको उल्लेख गर्दै यस अनुसार स्वीकृति लिई/नलिई कसरी काम अगाडि बढाइएको छ, त्यस बारेमा ७ दिनभित्र जानकारी उपलब्ध गराउन टेलिकमसँग अनुरोध गरिएको छ ।

‘द्रुतमार्गमा फाइबर बिछ्याउन दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सुरक्षा निकाय, प्रसारण लगायत राष्ट्रको माग धान्न सक्ने गरी सहप्रयोग गर्न अप्टिकल फाइबर बिछ्याउने भनी गत कात्तिक १७ गते त्यस कम्पनी, प्राधिकरण र काठमाडौं तराई मधेश द्रुतमार्ग परियोजना सहित सबै सेवा प्रदायकको माग सम्बोधन गर्न सक्ने गरी उक्त मार्गमा अप्टिकल फाइबर बिछ्याउन छलफल भइरहेको अवस्थामा उक्त कार्यका लागि टेलिकम र नेपाली सेनाबीच सहमतिपत्रमा हस्ताक्षर भएको समाचार आएपछि याे पत्र लेखिँदै छ,’ साे पत्रमा उल्लेख छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशकलाई सम्बोधन गरी लेखिएको सो पत्रमा बोधार्थ तथा अवगतार्थमा सञ्चार तथा सूचना प्रविधिमन्त्री, मन्त्रालयका सचिव, रक्षा मन्त्रालय, सडक विभाग ललितपुर र काठमाडौं-तराई/मधेश द्रुतमार्ग परियोजना (नेपाली सेना) लाई उल्लेख गरिएको छ ।

राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ कि.मी) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०