close

एचडी भ्वाइस सेवा परीक्षण गर्दै टेलिकम, अर्को महिनादेखि व्यवसायिक सञ्चालन

टेकपाना टेकपाना

पुस १५, २०७७ ११:४१

एचडी भ्वाइस सेवा परीक्षण गर्दै टेलिकम, अर्को महिनादेखि व्यवसायिक सञ्चालन

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी एलटीई प्रविधिमा आधारित एचडी भ्वाइस कल सेवाको परीक्षण थालेको छ । टेलिकमले हाल देशभर विस्तार गरिरहेको फोरजी एलटीई परियोजना अन्तर्ग एचडी भ्वाइस सेवाको परीक्षण थालेको हो ।

अहिलेको डाटा चलाउँदा मात्रै डिभाइस इन्टरनेटमा कनेक्ट हुन्छ । तर, अबको टेलिकमको फोरजीमा भने हरबखत मोबाइल डिभाइस इन्टरनेटमा कनेक्ट भइरहनेछ ।

तर, फोरजीमा आधारित भिओएलटीई प्रविधिमा भने निश्चित गुणस्तर (क्रिस्टल क्लियर) नभएसम्म कल नै गर्न सकिँदैन ।

टेलिकमको हालको फोरजी सेवामा इन्टरनेट डेटा मात्रै चल्नेगरेकाे छ भने भ्वाइस कलका लागि थ्रीजीमै फलब्याक हुनेगर्छ । तर अब भिओएलटीईमा भने भ्वाइस कल समेत फोरजीमै चल्नेछ ।

यसको मतलव अब भ्वाइस कल समेत फोरजी इन्टरनेटमै हुनेछ । भिओएलटीईमा हालको थ्रीजीको तुलनामा गुणात्मक रुपमा नै उच्च गुणस्तरमा अर्थात प्राकृतिक आवाजमै कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ ।

अहिलेको टुजी र थ्रीजी प्रविधिमा भ्वाइसका लागि जति खर्च गर्नुपरिरहेको छ, भिओएलटीइमा त्यसभन्दा निकै सस्तो मूल्यमा सेवा उपभोग गर्न सकिने बताइएको छ । कम्पनीले यसका लागि बिलिङ सिस्टम समेत तयार पारिसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले जानकारी दिए ।

यो सेवाका लागि टेलिकम र मोबाइल निर्माता कम्पनीको सेट निर्माता दुवैतर्फबाट इनेबल गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार साओमीका पछिल्ला मोडेल तथा सामसङको एउटा मोडेलमा भोल्टे सेवा चल्न सक्नेगरी आवश्यक काम भइसकेको छ ।

अन्य स्मार्टफोन निर्माता कम्पनीका सेटमा समेत भोल्टे इनेबल गराउन कम्पनीले बुधबार सूचना समेत जारी गरेको छ । कम्पनीले फोरजी मोबाइल सेटहरुमा ब्याण्ड थ्री, ब्याण्ड २० तथा भीओएलटीई परीक्षण गर्ने भन्दै आपूर्तिकर्ता तथा बिक्रेताहरुलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

टेलिकमले हाल फोरजी सेवा सञ्चालनमा रहेका साइटहरुमा समानान्तर रुपमा भीओएलटीई सेवाको परीक्षण गरिरहेको छ । टेलिकमले फोरजी ब्याण्ड ३ (१८०० मेगाहर्ज), ब्याण्ड २० (८०० मेगाहर्ज) र भीओएलटीई सम्बन्धी प्राविधिक परीक्षणका लागि आपूर्तिकर्ता तथा बिक्रेतालाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

परीक्षण पश्चात फोरजी एलटीई तथा भ्वाइस ओभर एलटीई सेवा सपोर्ट गर्ने मोबाइल सेटको मोडल टेलिकमको वेबसाइटमा राखिने उल्लेख छ । विभिन्न चरणको टेस्टिङ गर्नुपर्ने भएकाले व्यवसायिक रुपमा भोल्टे सेवा सञ्चालनमा आउन भने अझै केही समय लाग्ने कम्पनीले जनाएको छ ।

मुख्य स्मार्टफोन निर्माता कम्पनीहरुको सिस्टममा टेलिकमको भोल्टे इनेबल भएको खण्डमा संभवत आउँदो माघ २२ गतेदेखि कम्पनीले यो सेवा व्यवसायिक रुपमा नै सुरु गर्नेछ । त्यसपछि भने भोल्टे इनेबल मोबाइल सेटमा प्रयोगकर्ताले अहिले फोरजी एक्टिभ गरेजस्तै यूएसएसडी कोड डायल गरी सेवा सुचारु गराउन सक्नेछन् ।

भोल्टे इनेबल रहेका साओमीका पछिल्ला मोडेल र सामसङको एउटा मोडेलमा अहिले टेलिकमले म्यानुअल रुपमा यो सेवा परीक्षणका लागि खुल्ला गरिरहेको छ । भोल्टे टेलिकमको सिस्टमबाट समेत भोल्टे इनेबल हुँदा प्रयोगकर्ताले स्पष्ट आवाजमा कुरा गर्न सक्छन् ।

भोल्टे इनेबल भएका मोबाइलबीच तथा त्यसबाट आईभीआर र ल्याण्डलाइन नम्बरमा कल गर्दा समेत प्रयोगकर्ताले भ्वाइस सेवामा उच्च गुणस्तरको अनुभव गर्न सक्छन् ।

भाइबर, ह्वाट्सएप, म्यासेन्जर लगायतका ओटीटी सेवाहरुले इन्टरनेटमा आधारित भ्वाइस तथा भिडियो सेवा दिइरहेका छन् । त्यस्ता सेवाले गुम्दै गएको कम्पनीको आम्दानी भीओएलटीई (भोल्टे) ले भरथेग समेत गर्ने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०