close

टेलिकम र कर्मचारीबीच २९ बुँदे सहमति, ३९ दिनपछि रोकियो आन्दोलन

टेकपाना टेकपाना

भदौ १२, २०७८ १६:१०

टेलिकम र कर्मचारीबीच २९ बुँदे सहमति, ३९ दिनपछि रोकियो आन्दोलन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियनहरूबीच सहमति भएको छ । शुक्रबार अबेर दुई पक्षबीच सहमति जुटेपछि ३९ दिनयता कर्मचारीले गर्दै आएको धर्ना र संघर्षका कार्यक्रम स्थगित भएको छ ।

नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वकर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियनले संयुक्त रुपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलन सुरू गरेका थिए ।

विभिन्न पक्षमा भएको छलफल र कर्मचारी विनियमावलीमा आवश्यक संशाेधन गर्न सिफारिस गर्ने सहमतिका साथ आन्दोलन रोकिएको हाे ।

यसअघि गएको साउन ५ मा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसहितका सिनियर तहका कर्मचारीलाई रातभर कम्पनीको केन्द्रीय कार्यालयमा थुनेर आन्दोलन सुरु गरिएको थियो ।

कर्मचारी ट्रेड युनियनले यसअघि भएको कर्मचारी विनियमावलीमा संशोधनको विषयलाई लिएर आन्दोलन गर्दै आएका थिए । जसमा ट्रेड युनियनमा सहभागी हुने तह परिवर्तन गरिएको, प्रबन्धक भइसकेको कर्मचारी दुई तह घटेर कम्पनीमै काम गर्नसक्ने जस्ता प्रावधानमा उनीहरूले आपत्ति जनाउँदै आएका थिए ।

जसका कारण पछिल्लो ३९ दिनदेखि कर्मचारी युनियनले बिहान १० बजे कार्यालयअघि धर्ना सुरु गर्ने र बेलुका ५ बजे ताली पिट्दै छुट्टिने मात्रै काम भइरहेको थियो ।

यो बीचमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक टोली समेत गठन गरेर छलफलका लागि सहजीकरण गर्दै आएको थियो । यसबीच नवनियुक्त सञ्चार सचिव डा. वैकुण्ठ अर्यालको पहलमा टेलिकम व्यवस्थापन र ट्रेड युनियनबीच २९ बुँदे सहमति भएको हो ।

सहमतिमा उल्लेख भएका धेरैजसो विषय यसअघि नै टेलिकमको बोर्डमा प्रस्तुत भएका विषय छन् । जसमा पहिलो भने ११ तहमा पाँच वर्ष र १० तहमा ८ वर्ष सेवा अवधि पुगेपछि स्वतः अवकाश हुने व्यवस्था काय गर्नेगरी कर्मचारी विनियमावली २०७८ संशोधन गर्न उल्लेख गरिएको छ ।

त्यस्तै कम्पनीको कुनै कर्मचारी कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त भए नियुक्त भएको मितिदेखि कम्पनीको सेवाबाट स्वतः अवकाश हुने व्यवस्थासमेत कायम गर्नेगरी संशोधनका लागि लोक सेवा आयोगमा लेखी पठाउने सहमति भएको छ ।

यसका साथै कम्पनीमा बहालवाला स्थायी कर्मचारीहरूलाई खुल्ला प्रतियोगितात्मक परीक्षामा सम्मिलित हुन उमेरको हद नलाग्ने व्यवस्था लगायतका विषयमा सहमति भएको छ ।

यस्ता छन् सहमतिका विषय:

telecom

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१