close

त्रिविमा थेसिस चोरी गरे अब सफ्टवेयरले पत्ता लगाउने

टेकपाना टेकपाना

भदौ १६, २०७८ १२:३४

त्रिविमा थेसिस चोरी गरे अब सफ्टवेयरले पत्ता लगाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले थेसिसमा हुने चोरी पत्ता लगाउने सफ्टवेयर सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूले किनेर थेसिस बुझाउने वा इन्टरनेटबाट तानेर आफ्नो थेसिस बनाउने गतिविधिलाई नियन्त्रण गर्न त्रिविले ‘एन्टी प्लेजरिजम चेकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याएको हो ।

विश्ववद्यालयका अनुसार यो सफ्टवेयरको मद्दतबाट विद्यार्थीले थेसिस कतैबाट चोरेर लेखेको हो वा आफैं लेखेको हो भनेर पत्ता लगाउन सकिन्छ ।

विश्वविद्यालयका अनुसार पहिलो चरणमा यो सफ्टवेयर एमफिल र पीएचडी तहमा लागू गरिएको छ भने विस्तारै मानविकी, चिकित्सा, व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा पनि लागू हुने जनाइएको छ ।

त्रिविले केन्द्रीय रुपमा यस किसिमको सफ्टवेयर पहिलोपटक ल्याएको हो । सफ्टवेयर ल्याएपछि कति प्रतिशत प्लेजरिजम मान्य हुने भन्ने विषयमा नीति नै बनाउने त्रिविको योजना छ ।

हाल विभिन्न मुलुक अनुसार १० प्रतिशतदेखि  १५ प्रतिशतसम्मको प्लेजरिजमलाई मान्यता दिइन्छ ।

सफ्टवेयर आइसकेपछि विद्यार्थी तथा प्राज्ञिक अनुसन्धानकर्मीहरु सतर्क बन्ने र बौद्धिक सम्पत्ति चोरीको प्रवृत्ति हटेर जाने त्रिविको विश्वास छ । यस किसिमको सफ्टवेयर पहिलेदेखि नै इन्जिनियरिङ अध्ययन संस्थानमा भने प्रयोग हुँदै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३