काठमाडौं । बहुप्रतिक्षित एप्पल इभेन्ट आज हुँदै छ । ‘क्यालिफोर्निया स्ट्रिमिङ’ थिममा हुने यो इभेन्टमा कम्पनीले नयाँ के ल्याउला भनेर आम प्रविधिप्रमीले चासो राखिरहेका छन् ।
प्रविधि पण्डितहरूले एप्पलले आईफोन १३, एप्पल वाच सिरिज ७ का साथै थर्ड जेनेरेशनको एयरपोर्ड प्रो सार्वजनिक हुनसक्ने अनुमान गरेका छन् ।
तर कम्पनीले आजकै दिन सबै नयाँ उत्पादन सार्वजनिक नगर्न सक्ने तर्क पनि गरिएको छ । किनकि एप्पलले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्न दुई वटा कार्यक्रम गर्ने बताइसकेको छ ।
नेपाली समयअनुसार एप्पल इभेन्ट बेलुकी १०ः४५ बजेदेखि सुरु हुनेछ । एप्पलको आधिकारिक युट्युव च्यानल र एप्पल इभेन्ट पेजबाट इभेन्टको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।
नयाँ के आउलान् ?
एप्पल इभेन्टमा धेरैको ध्यान आईफोन १३ ले तानिरहेको छ । पछिल्ला रिपोर्टअनुसार नयाँ आईफोनहरुमा अपडेटेड क्यामेरा, सुधारिएको डिस्प्ले र सानो नच हुनेछ ।
साथै यी आईफोन मोडल एप्पलको ए१५ बायोनिक प्रोसेसरद्वारा सञ्चालित हुनेछन् । यसका प्रो मोडेलहरु १२० रिफ्रेस रेटको सपोर्टसहित प्रोमोशन डिस्प्लेसहित आउने अनुमान गरिको छ ।
यो वर्ष धेरै हल्ला भएको र रिलिज हुने आशा गरिएको प्रडक्टमध्ये रिडिजाइन गरिएका १४ र १६ इन्चको ‘म्याक प्रो’ हुन्, जुन मिनी-एलईडी टेक्नोलोजीमा आधारित डिस्प्लेका साथ आउनेछन् । यसमा पावरफुल एप्पल सिलिकन चिप हुने आशा गरिएको छ ।
यो एप्पलको ‘एम वान एक्स’ प्रोसेसरसँगै आउन सक्छ । विभिन्न सात कलर भेरियन्टमा उपलब्ध हुनसक्ने म्याकबुक प्रो म्याग्नेटिक म्यागसेफ चार्जर र एक्सटर्नल ड्राइभ र डिभाइसका लाथि केही पोर्टकाे सुविधासहित सार्वजनिक हुने चर्चा छ ।
त्यसैगरी विभिन्न रिपोर्टअनुसार यसपटक एप्पलले ठूलो साइजको एप्पल सिलिकन चिपयुक्त आईम्याक पनि ल्याउने तयारी गरेको छ ।
त्यसैगरी एप्पलले नाइन्थ जेनेरेशनकाे आईप्याड मिनी पनि सार्वजनिक गर्नसक्ने चर्चा छ । सानो साइजमा आएपनि यसको डिजाइन भने आईप्याड प्रो र आईप्याड एयरसँग मिल्दोजुल्दो हुनेछ । यसमा यूएसबी-सी पोर्ट र ए१४ चिप रहने अनुमान छ ।
एप्पल इभेन्टमा अपेक्षा गरिएको अर्को उत्पादन हो, रिडिजाइन गरिएको ‘एमवान एक्स म्याक मिनी’ । शक्तिशाली एप्पल सिलिकन चिप र नयाँ डिजाइनसहित आउने अनुमान गरिएको यो म्याकमा अतिरिक्त पोर्टहरू पनि हुनेछ ।
त्यसैगरी एप्पलले सेकेन्ड जेनेरेशनको एयरपड्स प्रो सार्वजनिक गर्न सक्नेछ । नयाँ एयरपड्समा कम्प्याक्ट डिजाइन, नयाँ वायरलेस चिप, सुधारिएको साउन्ड क्वालिटी र फिटनेश ट्रयाकिङका लागि अपडेटेड मोशन सेन्सर हुने अनुमान गरिएको छ ।
त्यसैगरी कम्पनीले एस७ प्राेसेसरसहित एप्पल वाच सिरिज ७ सार्वजनिक गर्नेछ, जुन ४१ एमएम र ४५ एमएम साइजमा उपलब्ध हुनेछ । एप्पल वाचमा नयाँ हेल्थ सेन्सर थप भएकाे चर्चा गरिएकाे छ ।