close

सस्तो मूल्यमा मस्त ब्याट्री र स्क्रिन सहितको स्मार्टफोन

हरिजङ्ग थापा हरिजङ्ग थापा

असोज ८, २०७८ ८:४

सस्तो मूल्यमा मस्त ब्याट्री र स्क्रिन सहितको स्मार्टफोन

काठमाडौं । सस्तो मूल्यमा मस्त ब्याट्री टिक्ने, ठूलो डिस्प्लेसँगै बजेट अनुसार क्षमतावान प्रोसेसर भएको फोन हो, ‘रियलमी सी२१’ । केही दिन चलाएको आधारमा आज म यही फोनको रिभ्यु गर्दैछु ।

सुरुमै भनि हालौं, यो जम्माजम्मी १७ हजार रुपैँयाको फोन हो । तर, बजेट अनुसारको अपेक्षा राखेर चलाउँदै गर्दा मलाई यो फोनले बेखुशी चाहिँ बनाएन । भनेको मतलब ब्याट्री खुबै मजाले टिक्दो रहेछ ।

६.५ इन्चको ठूलो डिस्प्लेमा कन्टेन्टहरु हेर्न त मजा हुने भयो, साथमा अनलाइन क्लास वा मिटिङमा प्रस्तुत गरिएका प्रेजेन्टेसन हेर्न पनि ठूलो डिस्प्लेमा सजिलो हुन्छ ।

कुरा नचपाई भन्ने हो भने घण्टौं भिडिओ कन्टेन्ट हेर्ने जोकोहीका लागि यो फोन फिट हुन्छ । त्यस्तै अनलाइन क्लासमा व्यस्त रहने विद्यार्थीका लागि त झन् यो फोन बेस्ट हुन सक्छ ।

एकदमै खत्रा क्वालिटीको क्यामेरा खोज्ने र हेभी गेम त्यो पनि खत्रा क्वालिटीमै खेल्न चाहनेका लागि यो फोन उचित नहुन सक्छ । यसो भन्दै गर्दा पब्जी, फ्री फायरजस्ता हेभी गेमका फ्यानहरु निराश हुन भने जरुरी छैन ।

किनकि पब्जी एचडी वा एचडीआरमा खेल्न नमिले पनि स्मुथ र Balanced ग्राफिक्समा मजाले खेल्न सकिन्छ। मैले खेल्दा खासै ल्यागिङ भएको पाइनँ । अन्य सामान्य गेमहरु खेलेर समय कटाउन यो फोनमा खासै समस्या छैन ।

यो फोनको अर्को मलाई मन परेको कुरा भनेको यसको Face Unlock Function पनि हो। फेस अनलकका लागि Screen Auto Bright बनाउने फिचर रहेकाले पनि होला, अँध्यारो हुँदा पनि Face Unlock ले मजाले काम गर्दो रहेछ । जुन सुविधा मिड रेन्जका फोनबाट पनि पाउन मुश्किल छ। Face Unlock ले राम्रो काम गरेकाले Screen Unlock का लागि मैले Fingerprint Sensor समेत खासै प्रयोग गरिनँ ।

अब लागौं फाेनको लुक्सतर्फ। १९० ग्राम तौल भएको यो फोनको यत्तिको मोटाइलाई स्लिम नै मान्न सकिन्छ । ब्याक कभर स्टाइलिस देखिन्छ, जसमा रहेको प्याट्रनका कारण औंलाका छाप र धब्बाहरु पनि बस्दैन ।

Back Top मा Flash सँगै Triple Camera Setup छ, जसको अलिकति तल Fingerprint Sensor छ भने तल्लो साइडमा Branding सँगै स्पिकर छ । जसको साउन्ड ठीकठाक नै सुनिन्छ । फ्रेम पनि प्लास्टिककै हो, तर झट्ट हेर्दा भने आल्मुनियम जस्तो देखिँदो रहेछ ।

टप र बटम साइडको फ्रेम स्मुथ छ, तर साइडको फ्रेम भने अलि उठेको छ। त्यसैले हेर्दा चिटिक्क देखिएपनि यो भाग अलि छिटो स्क्रयाच हुन्छ कि जस्तो लाग्छ। सँगै पछाडि क्यामेराको भाग पनि स्क्रयाचको हिसाबले अलि जोखिमपूर्ण नै छ जस्तो लाग्छ ।

डिस्प्लेको तल्लो साइडमा अलि बढी नै बेजल्स देखिन्छ भने अन्य साइडमा पनि थोरै बेजल्स त छ । तर त्यो नोटिस हुने खालको भने छैन । सेल्फी क्यामेरा Water Drop टाइपको Notch ले घेरिएको छ। त्यसको माथि फोनमा बोलेको सुन्ने सानो स्पिकर छ ।

बटम साइडमा ३.५ एमएमको अडियो ज्याक, माइक र चार्जिङका लागि MicroUSB पोर्ट छ। Type C Port ले बजार खाइसकेको र धेरैको मन जितिसकेको यो समयमा Micro USB Port हुनु यो फोनको कमजोर पक्ष नै मान्न सकिन्छ ।

दायाँ साइडमा अधिकांश स्मार्टफोनको जस्तै पावर की र  भोल्युम की छ। लेफ्ट साइड सिम ट्रे छ, जसमा दुइवटा सिमसँगै एउटा MicroSD कार्ड राख्न सकिन्छ। अहिले फोनहरुमा 1TB सम्म External storage बढाउन मिल्ने अप्सन दिन थालिएको छ। तर, ६४ जिबी इन्टरनल स्टोरेज भएको यो फोनमा 256 GB सम्मको MicroSD कार्ड मात्रै सपोर्ट गर्छ ।

IPS LCD panel भएको यो फोनको डिस्प्ले 6.5 inch को छ, जसमा HD+ रेजुलेसन उपलब्ध छ। Super Amoled Screen को फ्यान भइसकेकालाई यो स्क्रिन अलि बढी लाइट वा ब्राइट फिल हुन सक्छ । 400 nits को ब्राइटेस घरभित्रको लागि त धेरै नै हो । यदि ब्राइटनेस फुल गर्ने हो भने चर्को घाममा पनि मोबाइलको स्क्रिन मजाले देखिन्छ । 

12nm Helio G35 Chipset रहेको फोनमा नयाँ अपडेट आइसकेको छ । Android 10 रहेको यो फोनलाई Android 11 मा अपडेट गर्न सकिन्छ । यो अपडेटसँगै User Interface पनि 1.0 बाट 2.0 अपडेट हुन्छ ।

फोनको नोटिफिकेसन बारमा थुप्रै फिचरहरु उपलब्ध गराइएको छ । स्क्रिन रेकर्ड, स्क्रिन कास्ट, One Hand Mode, One Tap Search लगायत एकदमै काम लाग्ने फिचरहरु Notification Bar मा नै अटाइएका छन् ।

तर, फोनमा अलि बढी नै प्रि-इन्स्टल एपहरु आउँदा रहेछन्, जुन चाहिँ मलाई खासै चित्त बुझेन । किनकी जोस, मोजलगायत टिकटकजस्ता एपहरुको नोटिफिकसन आएरै हैरान बनाउँदो रहेछ । त्यसैले यी एपहरुको कि त हटाउन पर्‍यो नत्र नोटिफिकसन अफ नगरेसम्म दिक्क लगाउने रहेछन्। तर फोन क्लोन, Docvault, Heyfun लगायत कतिपय एपहरु भने उपयोगी पनि छन् । 

अब कुरा गरौं क्यामेराको। यो फोनको पछाडी पट्टी तीनवटा क्यामेरा छन्। त्यी मध्ये मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ भने २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलकै Black & White लेन्स छ। जसले मुख्य क्यामेराको फोटोलाई राम्रो बनाउन सहयोग गर्छ ।

१०८ मेगापिक्सल क्यामेरा भएका मोबाइल बजारमा आइरहँदा मुख्य क्यामेरा नै १३ मेगापिक्सल भनेको सुन्दा मन खुम्चिन सक्छ। तर आफ्ना सम्झनाहरु संग्रह गर्न यो फोनको क्यामेराले मजाले काम गर्छ ।

फोनको क्यामेरामा Night Mode, Panoramic view, Expert, Timelapse, Portrait Mode, Face-Recognition, HDR, Ultra macro, AI Beauty, Filter, Chroma Boost जस्ता फिचरहरु छन् । जसले फोटोलाई अझै सुन्दर बनाउन सघाएको छ । मैले यो फोनबाट खिचेका यी फोटोहरु हेरेर पनि तपाईंले यसको क्वालिटी मूल्याङ्कन गर्न सक्नुहुन्छ ।

सेल्फी क्यामेरा पनि तुलनात्मक रुपमा एकदमै कम अर्थात ५ मेगापिक्सेलको मात्रै छ । यद्यपि क्वालीटी भने मेगापिक्सेल अनुसार गजबकै छ ।

भिडिओको कुरा गर्ने हो भने यो फोनको रियर र सेल्फी दुवै क्यामेराले Full HD video खिच्न सक्छ । तर स्टेबिलाइजेसन अप्सन नभएकाले भिडियो चाहिँ अलि बढि नै Shakey आउँदोरहेछ। त्यसैले भिडियो खिच्दा केहीमा अड्याएर वा ट्राइपडमा राखेर खिच्नु नै बुद्धिमानी हुन्छ ।

ब्याट्रीको चर्चा मैले सुरुमै गरिहालेँ । Realme C21 मा 5000 mAh को ब्याट्री आउँछ । बजेट फोनमा 6000 mAh को ब्याट्री आउन थालिसकेकाले कतिपयलाई यो ब्याट्री कम लाग्न पनि सक्छ ।

तर मैले चलाएको आधारमा भन्नुपर्दा फोनमा ब्याट्री मजाले नै टिक्दो रहेछ । करिब १८ प्रतिशत ब्याट्रि हुँदा पनि मैले एक/डेढ घण्टा गेम खेलेर अरु आधा घण्टा युट्युव हेर्दा पनि अझै ७ प्रतिशत ब्याट्री बाँकी नै थियो ।

फोनमा Power Saving Mode मात्रै होइन Super Power Saving Mode पनि छ जसले फोनमा ५ प्रतिशत मात्रै ब्याट्री हुँदा पनि डेढ घण्टा युट्युवमा भिडियो हेर्न वा झण्डै साढे २ घण्टा फोनमा कुरा गर्न सकिने कम्पनीले दाबी गरेको छ । 

तर, फोनले १० वाटको मात्रै चार्जिङ सपोर्ट गर्दोरहेछ। फोनसँगै आउने यो चार्जर पनि १० वाटकै हो, तर चार्जरहरुको साइज घट्दै गइरहेको समयमा यो चार्जर बोकेर हिँड्न चाहिँ अलि ठूलो नै लाग्यो ।

चार्जर ठूलो भएपनि चार्जिङ क्षमता अलि कमै भएकाले चार्ज हुन अलि बढी नै समय लाग्दो रहेछ । चार्ज गरिसकेपछि चाहिँ यो बजेट फोनमा पनि अरु फोन चार्ज गर्न मिल्नेगरी रिभर्स चार्जिङ समेत उपलब्ध गराइएको छ ।

फोनले 4G सँगै 850/900/1800/1900 Band सपोर्ट गर्छ भने Bluetooth 5.0 सपोर्ट गर्नु अर्को राम्रो पक्ष हो । फोन किन्दा Micro USB Cable, Charge Adapter,Quick Guide सँगै SIM Card Ejector पनि आउँछ । 

फोनको फिचर र Specifications हरु त मैले लगभग बताइ हालें । सँगै आफुले चलाएको आधारमा गुन र बैगुनका कुराहरु पनि भनि हालेँ । समग्रमा भन्दा १७ हजार रुपैँयामा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको यत्तिको फोन पाउनु राम्रै कुरा हो। बाँकी यहाँहरुकै मर्जी । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१