close

विद्यालय तहमै वेबसाइट र मोबाइल एप बनाउन सिकाउँदै डिजी स्कुल

टेकपाना टेकपाना

असोज १३, २०७८ ९:२४

विद्यालय तहमै वेबसाइट र मोबाइल एप बनाउन सिकाउँदै डिजी स्कुल

काठमाडौं । ५० हजारभन्दा बढी विद्यार्थीलाई अनलाइनबाटै निःशुल्क रुपमा कम्प्युटर शिक्षा दिइरहेको डिजी स्कुलले विद्यालय तहमै विद्यार्थीलाई आधुनिक आईटी कोर्ष सिकाउन थालेको छ ।

२१औं शताब्दीका लागि आवश्यक दक्ष आईटी जनशक्ति तयार पार्ने अभियानसहित सञ्चालित यस्तो कोर्षबाट कलिलै उमेरमा विद्यार्थीले सीपमूलक शिक्षा पाएको डिजी स्कुलले जनाएको छ ।

बालबालिकाको उमेरअनुसार विभिन्न तहको लाइभ क्लास सञ्चालन तथा मूल्याकंन गरी अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त ‘एनसीसी यूके आईटी कोर्ष’ को सर्टिफिकेट अभिभावकहरुको उपस्थितिमा विद्यार्थीहरुलाई गत असोज ९ गते हस्तान्तरण गरिएको छ ।

यस कार्यक्रममा कम्पनीका तर्फबाट सीईओ राजु बानियाँले अब आउने समयमा प्रविधिकै प्रधानता रहने बताउँदै कम्प्युटर सीपलाई आधारभुत बनाउनुपर्ने धारणा राखे ।

विकसित मुलुकहरुमा प्राथमिक स्कुलबाटै बच्चाहरूले कोडिङ, ग्राफिक्स, भिडिओ इडिटिङ सिकिरहेको उदाहरण दिँदै उनले नेपाली बालबालिकाहरु पनि विश्व बजारमा प्रतिस्पर्धी होउन् भनेर डिजी स्कुलले यो कोर्ष सञ्चालन गरेकोे जानकारी दिए ।

‘यो कोर्षमार्फत बढीभन्दा बढी विद्यार्थीलाई सहभागी गराएर डिजिटल नेपालको सपना साकार पार्न हामी नयाँ पुस्ता निर्माण गर्ने कार्यमा प्रयासरत छौं,’ उनले भने ।

यो कोर्ष सीपमुखी भएकाले विद्यार्थीहरू विद्यालय तहमै वेबसाइट र मोबाइल एप बनाउन सक्षम हुने उनकाे भनाइ छ ।

‘भविष्यमा स्वरोजगार बन्ने र इन्टरनेटले पुरै विश्व एउटा गाउँ बनाएको समयमा उनीहरू घरबाटै देश विदेशका विभिन्न काम गर्नसक्ने छन्,’ उनले थपे ।

बेलायत सरकारमातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पठ्यक्रम निर्माण गर्ने एनसीसी यूके एजुकेशनले विद्यालय तहका लागि तयार गरेको कम्प्युटर कोर्ष ‘डिजी प्रोग्राम’ लाई नेपालमा डिजी स्कुलको नाम दिइएको हो, जसलाई सफ्टएड ग्रुपले सञ्चालनमा ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१