close

इन्टरनेटको तार काट्नेलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग

टेकपाना टेकपाना

असोज १६, २०७८ १६:३५

इन्टरनेटको तार काट्नेलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्रधिकरणले इन्टरनेटको तार काटिएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै यसमा संलग्नलाई कारबाहीको लागि आग्रह गरेको छ । 

शनिबार विद्युत प्राधिकरणले इन्टरनेट नै अवरुद्ध हुने गरी भरतपुर, बुटवल, धादिङ, ताप्लेजुङ, काठमाडौंका केही स्थान, र विराटनगर लगायतका स्थानमा तार काटेको छ । 

आफूले बढाएको पोल भाडा नतिरेको भन्दै प्राधिकरणले इन्टरनेटको तार काट्न सुरु गरेको हो । 

‘विद्युत प्राधिकरणबाट देशका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइबर काट्दा देशका धेरै स्थानहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको प्रति यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण हुन पुगेको छ,’ दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

‘इन्टरनेट सेवा प्रदायक संघ नेपाल र विद्युत प्राधिकरणबीच पोल भाडा दर विवाद समाधानका लागि सञ्चार तथा सूचना मन्त्रालय, यस प्राधिकरण, विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अनायास अप्टिकल फाइबर काटियो,’ प्राधिकरणले भनेको छ । 

यसले राज्यको अति आवश्यक सेवामा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । 

दूरसञ्चार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने प्राधिकरणले आफ्नो सूचनामा भनेको छ । 

‘अति आवश्यक सेवाको अवरुद्ध गर्ने जोकोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौँ,’ प्राधिकरणको सूचनामा भनिएको छ ।

हरेक समस्याको समाधान वार्ताबाट मात्र हुने भन्दै दूरसञ्चार प्राधिकरणले सबै पक्ष बसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघलाई आग्रह समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५