close

फेसबुकका सबै एप एकसाथ डाउन

टेकपाना टेकपाना

असोज १८, २०७८ २१:३७

फेसबुकका सबै एप एकसाथ डाउन

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुक सहित कम्पनीका सबै एपको सेवा डाउन भएको छ । सोमबार राति सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी अवरुद्ध भएको हो ।

डाउन डिटेक्टरमा ठूलो संख्यामा प्रयोगकर्ताले फेसबुक डाउन भएको रिपोर्ट गरेका छन् । फेसबुकको सेवा अवरुद्ध भएको केही मिनेटमै ३९ हजारभन्दा बढीले त्यसको रिपोर्ट डाउन डिटेक्टरमा गरेका हुन् ।

नेपाल सहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको छ । डाउन डिटेक्टरमा गरिएको रिपोर्ट अनुसार नेपाल सहित एसिया, अमेरिका, युरोप लगायतका विभिन्न देशमा कम्पनीको सेवा अवरुद्ध भएको हो ।

यस विषयमा फेसबुकको तर्फबाट यो समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया प्राप्त भइसकेको छैन । फेसबुकका एन्टिगोने डेभिसले सीएनबीसीसँगको अन्तर्वार्तामा केही प्रयोगकर्ताले आफ्ना एपहरूमा पहुँच बनाउन कठिनाई ब्यहोर्नुपरेको विषयप्रति आफूहरू जानकार रहेको बताएका छन् ।

‘हामी सकेसम्म छिटो सम्पूर्ण सेवा पूर्ववत रुपमा सामान्य अवस्थामा फर्काउने प्रयासमा छौँ,’ उनले भनेका छन्, ‘यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।’ इन्स्टाग्रामले ‘5xx सर्भर इरर’ म्यासेज देखाइरहेको छ भने फेसबुकले केही चिज गलत भएको (समथिङ वेन्ट रङ) भनिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५