काठमाडौं । पछिल्लो समय ‘मेटाभर्स’ को बारे चर्चा भइरहेको छ । विशेषगरी फेसबुकले मेटाभर्सको विकास गर्नको लागि लगानी गरिरहेको कुरा सार्वजनिक भएपछि यसको चर्चा चुलिएको छ । यसैबीच फेसबुकले मेटाभर्सको विकासको लागि युरोपमा १० हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ । मेटाभर्स के हो ? फेसबुकले किन गरिरहेको छ यत्ति धेरै लगानी ?
मेटाभर्स भनेको के हो ? केहीले मेटाभर्सलाई मात्र भर्चुअल रियालिटी (भीआर) को विस्तारित रुप हो भनेका छन् । केहीले भने यो नै इन्टरनेटको भविष्य हो अनुमान गरेका छन् । जसरी अहिले पुरानो फिचर्ड फोनको साटोमा स्मार्टफोनहरू आएका छन् त्यसैगरी मेटाभर्स पनि हालको भीआरको भविष्यको स्मार्टफोन जस्तै हुने विश्वास पनि गरिएको छ ।
सामान्य रुपमा बुझाउनुपर्दा मेटाभर्स भनेको अनलाइनको यस्तो दुनियाँ हो जहाँ भीआर हेडसेट प्रयोग गरी मान्छेले एकअर्कासँग कुराकानी गर्न, गेम खेल्न तथा काम गर्न सक्नेछन् । अहिले हामीले प्रयोग गर्ने भीआर गेमिङ लागि मात्र हो तर मेटाभर्सको प्रयोग गरेर हामी काम गर्न, खेल्न, कन्सर्ट गर्न, सिनेमा हेर्न लगायतका कामहरू गर्न सक्छौँ ।
यद्यपि आजसम्म यो एउटा अवधारणा वा कल्पनामा मात्र सीमित छ । यसको बारेमा विभिन्न चर्चा परिचर्चाहरू त भइरहेका छन् तर यो ठ्याक्कै कस्तो हुन्छ भन्ने विषय अन्यौल नै भएकोले यसको परिभाषा पनि विविध छ ।
कसरी यो एक्कासि चर्चामा आयो ? डिजिटल दुनियाँ हरेक पटक केही न केही नयाँ आविष्कारले चर्चित भइरहेको हुन्छ । कतिपय कुरा त चर्चामा नै सीमित हुन्छन् भने केही प्रयोगमा पनि आउँछन् । तर पछिल्लो समय चर्चामा आइरहेको ‘मेटाभर्स’ को विषयलाई लिएर भने विश्वका धनी लगानीकर्ताहरू निकै नै उत्साहित भइरहेका छन् ।
इन्टरनेटको भविष्य मानिएको ‘मेटाभर्स’ को विकासको दौडमा धेरै ठूला कम्पनी र धनाढ्यहरू पनि लागि परेका छन् । धनाढ्य व्यक्तिहरूको यो दौडले गर्दा पनि बजारमा यसले चर्चा पाइरहेको छ ।
किन गर्दैछ फेसबुकले मेटाभर्समा लगानी ? मेटाभर्सको विकास गर्ने दौडमा पछिल्लो समय फेसबुक पनि अग्रपंक्तिमै छ । कम्पनीले मेटाभर्सलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको छ । फेसबुकले पनि ‘अक्युलस हेडसेट’ मार्फत भर्चुअल रियालिटीको अनुसन्धानमा ठूलो लगानी गरेको छ ।
यद्यपि कम्पनीले आफू घाटामा गएर पनि आफ्नो प्रतिद्वन्द्वी कम्पनीका भन्दा सस्तो उत्पादन बनाएको केही समीक्षकहरूको बुझाई छ । कम्पनीले कामको लागि र व्यक्तिगत प्रयोजनको लागि पनि भीआर एपहरूको निर्माण गरिहेको छ । मेटाभर्सको अनुसन्धानको लागि अन्य कम्पनीसँग सहकार्य गरेर अघि बढ्ने फेसबुकले बताएको छ ।
हालसम्म कम्पनीले मेटाभर्स सम्बन्धी अनुसन्धानमा काम गरिरहेको गैरनाफा मूलक समूहहरूमा करिब पाँच करोड अमेरिकी डलर अर्थात छ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरिसकेको छ । यद्यपि कल्पनाको यो मेटाभर्सको दुनियाँ वास्तविकतामा आउन करिब १० देखि १५ वर्ष लाग्ने कम्पनीको भनाई छ ।
को को छन् मेटाभर्सको दौडमा ? एपिक गेम्सका प्रमुख टिम स्विनीले लामो समयदेखि मेटाभर्सको बारेमा कुरा गर्दै आइरहेका छन् । अनलाइन मल्टिप्लेयर गेमहरूमा मेटाभर्ससँग मिल्दो गतिविधि अहिले पनि भइरहेका छन् । जस्तो कि फोर्टनाइट गेमको आफ्नो छुट्टै डिजिटल दुनियाँ छ जहाँ यसका प्रयोगकर्ताहरूले कन्सर्टहरू होस्ट गर्ने, विभिन्न ब्राण्ड इभेन्टहरू आयोजना गर्ने लगायतका गतिविधिहरू गर्न सकिन्छ । यसले स्विनीको मेटाभर्स प्रतिको लगावलाई प्रष्ट रुपमा दर्शाउँछ ।
यो लगायत अन्य गेम जस्तै रोबलक्समा पनि हजारौं खेलाडी ठूलो इको-सिस्टममा आबद्ध भई बसेका छन् । त्यसैगरी, थ्रिडी डेभलपमेन्ट प्लेटफर्म ‘युनिटी’ ले वास्तविक दुनियाँको डिजिटल कपी ‘डिजिटल ट्विन्स’ मा लगानी गरिरहेको छ भने ग्राफिक्स कम्पनी एनभिडियाले थ्रिडी भर्चुअल दुनियाँहरूलाई जोड्नको लागि एउटा साझा प्लेटफर्म ‘ओम्नीभर्स’ को निर्माण गरिरहेको छ ।
के यो गेम मात्र हो त ? मेटाभर्सको विषयमा धेरै परिभाषाहरू दिइएको भए पनि यसको मुख्य अवधारणा भनेको मानिस-मानिसबीचको सामाजिक अन्तर्क्रिया हो । उदाहरणको लागि फेसबुकले अफिसियल कामहरूको लागि भीआर मिटिङ एपको परीक्षण गर्दै आइरहेको छ । त्यसैगरी, अर्को एप ‘भीआर च्याट’ नितान्त रुपमा साथीभाईहरूसँग अनलाइन च्याट गर्ने माध्यमको रुपमा विकसित भएको छ ।
यसैगरी, अन्य भीआर एपहरूमा पनि बजारमा आउने क्रममा नै छन् । त्यसैले मेटाभर्स गेमसँग मात्र सम्बन्धित नभएर यो मानिसमानिसबीच भविष्यमा हुने अन्त्रक्रियासँग सम्बन्धित छ ।