close

कस्तो स्मार्टवाच किन्ने ?

टेकपाना टेकपाना

कात्तिक ७, २०७८ २१:२५

कस्तो स्मार्टवाच किन्ने ?

काठमाडौं । हातमा लगाउने घडीको परिस्कृत नाम हो, स्मार्टवाच । अन्य परम्परागत घडीको तुलनामा स्मार्टवाचमा आकाश जमिनको फरक छ ।

यसमा स्मार्टफोनमा जस्तै टचस्क्रिन हुन्छ । कसैले फोन वा म्यासेज गरेको छ भने स्मार्टवाचबाटै थाहा पाउन सकिन्छ । हेल्थ र फिटनेश ट्रयाकिङ फिचरसहितका एपहरु चलाउन सकिन्छ । पछिल्ला स्मार्टवाचले त हाम्रो शरीरको अक्सिजन र मुटुको गतिसमेत मापन गर्छन् ।

साथमा अन्य धेरै सुविधाहरु जस्तै नोटिफिकेसन, मिडिया म्यानेजमेन्ट, फिटनेश ट्रयाकिङ, जीपीएस लगायतका फिचर यसमा पाउन सकिन्छ । वास्तवमा नाडीमा लगाइने स्मार्टवाचले मिनि कम्प्युटरको काम गर्न सक्छ ।

नेपाली बजारमा पनि पछिल्लो समय विभिन्न ब्राण्डका स्मार्टवाच उपलब्ध भइसकेको छ । एप्पल, सामसङ, ह्वावे, साओमी, रियलमी, ओप्पो, अमेजफिट, फिटबिट लगायतका स्मार्टवाच बजारमा उपलब्ध छ ।

आकर्षक बनावट र प्रविधिको कारण स्मार्टवाच लोकप्रिय बनिरहेका छन् । तपाईंले विभिन्न कम्पनीका स्मार्टवाच छानीछानी आफ्नो रुचिअनुसार खरिद गर्न सक्नुहुनेछ ।

कम्पनीअनुसारका आआफ्नै विशेष फिचर पनि स्मार्टवाचमा उपलब्ध हुन्छन् । यसैबीच आज हामीले उपयुक्त स्मार्टवाच खरिद गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी दिँदै छौं ।

१. स्मार्टवाच मोबाइलमा आधारित रहेर छान्नुहोस्

सबै स्मार्टवाच स्मार्टफोनसँग नै जोडिएर चल्ने हुन्छन, यसो हुँदा उपलब्ध फिचरहरुलाई राम्रोसँग चलाउन सकिन्छ । तसर्थ तपाईंले स्मार्टवाच खरिद गर्दा तपाईंले चलाइरहनु भएको स्मार्टफोनसँग कम्प्याटिबल छ वा छैन भनेर हेर्नुपर्छ ।

जस्तो कि, एप्पलको स्मार्टवाचलाई आईफोनसँग मात्र चलाउन सकिन्छ । यदि तपाईंसँग आईफोन छैन भने एप्पल वाच किन्नु अर्थहिन हुन जान्छ । यसर्थ स्मार्टवाचको अपरेटिङ सिस्टमले आफ्नो फोनलाइ सपोर्ट गर्छ कि गर्दैन भनेर जाँच्नुहोस् ।

२. स्मार्टवाचले सपोर्ट गर्ने एप्लिकेसनहरु जाँच्नुहोस्

स्मार्टवाच खरिद गर्दा त्यसले कुनकुन एप्लिकेसनहरु सपोर्ट गर्छ र कुनकुन एप्लिकेसन चलाउन सकिन्छ राम्रोसँग जाँच्नुहोस् । स्मार्टवाच किनेपछि सजिलै धेरै किसिमका एप चलाउन सकियोस् भन्ने नै हो, तसर्थ स्मार्टवाचमा उपलब्ध फिचरहरु दुवैमा सिंक गरेर चलाउन मिल्ने किसिमको छरछैन ध्यान दिनुहोस् ।

३. ब्याट्री लाइफ विचार गर्नुहोस्

कुनै पनि डिभाइस खरिद गर्दा ब्याट्री लाइफ हेर्नु त अनिवार्य नै हुन्छ । कुनैकुनै स्मार्टवाच धेरै लामो समयसम्म चार्ज टिक्ने हुन्छन् ।

यदि राम्रो ब्याट्री भएको स्मार्टवाच किन्नुभयो भने चार्ज सकिएला कि भन्ने डर रहँदैन । यदि तपाईं ट्राभल गरिरहनु हुन्छ भने त ब्याट्री लाइफमा विशेष ख्याल राख्नैपर्ने हुन्छ ।

४. डिजाइन हेर्नुहोस्

अहिले स्मार्टवाचहरु विभिन्न डिजाइनमा उपलब्ध छन् । महिला, पुरुष र बालबालिकाका लागि छुट्टै कलर र डिजाइनमा हुन्छन् । यसो हुँदा यदि तपाईंले पर्सनलाइज स्मार्ट वाच पाउनुभयो भने खरिद गर्नु उपयुक्त हुन्छ ।

५. मूल्य

अब कुनैपनि समान खरिद गर्दा बजेटको कुरा त महत्वपूर्ण नै हुने भयो । बजारमा उच्चतम देखि न्यूनतम मूल्यका स्मार्टवाच उपलब्ध छन् । धेरैजसो अवस्थामा मूल्य अनुसार गुणस्तरमा पनि फरक पर्ने हुन्छ त्यसकारण बजेट कम गर्नकै लागि सस्तो वाच नकिन्नुहोला ।

६. अतिरिक्त फिचर

आधारभूत कुराहरु हेरिसकेपछि स्मार्टवाचका अन्य फिचरहरु के-कस्ता छन् बुझ्नुहोस् । स्मार्टवाच टच स्क्रिन होकि बटनबाट चल्ने हो हेर्नुहोस् र आफूलाई जुन राम्रो लाग्छ, त्यसअनुसार नै खरिद गर्नुहोस् ।

स्मार्टवाचमा भएको ‘फिटनेस जोन’, ‘क्यालोरी काउन्टर’, र ‘हार्टबिट काउन्टर’ आदि चेक गर्नुहोस् । साथै तपाईंले रुचाउनुभएको मोडेलमा फोनकल ,मेसेज, जिमेल, क्यालेन्डरहरु सम्बन्धी जानकारी गराउने एक्टिभ अलर्टहरु उपलब्ध भएनभएको चेक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१