close

१९ वर्षीय नेपाली युवाले बनाए ब्याक गियर भएको इलेक्ट्रिक बाइक

टेकपाना टेकपाना

कात्तिक २८, २०७८ १४:४१

१९ वर्षीय नेपाली युवाले बनाए ब्याक गियर भएको इलेक्ट्रिक बाइक

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा भइरहेका नयाँ-नयाँ आविष्कारले जनजीवन विस्तारै विद्युतीय उपकरणमा आश्रित हुँदै गइरहेको छ । ग्यास छोडेर इन्डक्सन चुलो, आगो छोडेर हिटर अनि पेट्रोल छोडेर विद्युतीय गाडी ।

हाम्रो दैनिकी विस्तारै विद्युतीय उपकरणतिर ढल्किदै गइरहेको छ । यसले गर्दा मानव जीवनको भविष्य अब विद्युतीय नै हुने पनि कतिपयको अनुमान छ । यस्तै अनुमानका बीच विद्युतीय गाडीमा नै आफ्नो भविष्य देख्ने एक नेपाली किशाेर हुन्, अर्घाखाँचीका सागर पोखरेल ।

सन्धिखर्कका १९ वर्षीय पोखरेल बुटवलको नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् । सानैदेखि मसिनसँग लगाव भएका सागरले विद्युतीय गाडी निर्माण गर्ने सपना कक्षा ९ मा हुँदा नै देखिसकेका थिए ।

विद्यालयमा सिभिल इन्जिनियरिङ पढेका सागरले भ्याकुम क्लिनर लगायत अन्य विद्युतीय सामग्रीको ‘डेमो’ स्कुले जीवनमा नै बनाइसकेका थिए ।

यो विद्युतीय गाडी नै उनको पहिलो निर्माण भने होइन । उनले यसअगाडि १३ वर्षको उमेरमै पानीबाट चल्ने एक्साभेटर बनाइसकेका थिए । यही सिलसिलामा उनले विभिन्न जिल्ला तथा क्षेत्रीयस्तरको पुरस्कार पनि जित्न सफल भएका छन् ।  

टिभी तथा सामाजिक सञ्जालतिर अरु मान्छेले विद्युतीय गाडी बनाएको, अनि उनीहरूको नाम सञ्चारमाध्यममा आएको देख्दा उनलाई आफूले पनि यस्तै बनाउन पाए कस्तो हुन्थ्यो होला भन्ने सधैं मनमा लागिरह्यो । इच्छा त थियो, अनि सपना पनि ।

तर साथमा बाटो देखाइदिने गुरु थिएन । यद्यपि प्रविधिको यो युगमा सामाजिक सञ्जालभन्दा ठूलो ज्ञान केन्द्र उसका लागि अरु केही बन्न सकेन । सपनालाई पच्छ्याउँदै सानो पाइलाबाट उनले आफ्नो अध्ययनको सुरुवात गरे ।

विद्यालय जाने, पढ्नेबाहेक उनले आफ्नो सपनाका लागि आवश्यक ज्ञान र सीपको खोजी गुगल अनि युट्युवमा गर्न सुरु गरे ।

‘मलाइ सिकाउनका लागि कोही पनि थिएन । त्यसमाथि आफैंले इन्टरनेटमा के चिज कस्तो हो, कुन कुन कुराको आवश्यकता हुन्छ भन्ने कुरा खोजेर हेर्दा हेर्दै आफैं प्रयास सुरु गरे,’ उनले भने, ‘त्यसपछि एउटा-एउटा गरेर सानो-सानो काम गर्दै जादा अन्तत: बाइक नै तयार गर्न म सफल भएँ ।’

उनले करिब एक वर्षको समयमा यो ब्याक गियर सहितको विद्युतीय मोटरसाइकल तयार पारेका हुन् ।

आफ्नो एक वर्षे यात्रालाई सम्झिदै उनी भन्छन्, ‘सुरुवात गर्दा जुन जोस थियो, बीचमा धेरै कुराले थकित बनायो । यो यात्रामा धन्न मैले मेरो परिवारको साथ पाएँ । अरु त कहिँ कतैबाट केही सहायता पाइनँ । आफ्नै प्रयासमा यो गर्न सफल भएँ, यसैमा खुशी छु ।’

तर पनि लगानी गरिदिने अथवा सहकार्य गरिदिने कोही भयो भने यसलाई थप व्यवस्थित गरेर अगाडि जान सक्ने उनको विश्वास छ । उनले यो विद्युतीय मोटरसाइकल तयार पार्नका लागि करिब एक लाख १० हजार रुपैयाँ खर्च गरेका छन् ।

‘आफ्नो पकेट खर्चका लागि भनेर घरबाट दिएको पैसालाई जोगाएर आफ्नो सपना पुरा गर्न आवश्यक सामग्री, मसिनहरू किनेको हो मैले,’ उनले भने ।

आइरन बडी भएको यो मोटरसाइकलमा ७५० वाट को BLDC48v गेयर मोटर प्रयोग भएको छ, जसको क्षमता प्रतिमिनेट ४५० आरएमपीको रहेको छ । त्यस्तै ३२.५ एएमपी भएको १२ भोल्टको ब्याट्री चारवटा सिरिजमा प्रयोग गरेर ४८ भोल्टको ब्याट्रि प्रयोग भएको छ ।

यसले गर्दा एकपटक फुल चार्ज भएपछि यो मोटरसाइकल १०० किलोमिटरसम्म गुड्नसक्ने सागरले बताए । अझै राम्रो लगानी गर्न सके यो मोटरसाइकललाई थप व्यवस्थित र आकर्षित बनाउन सकिने उनको भनाइ छ ।

‘यो मोटरसाइकल तयार त भयो, तर सबै जुगाडबाट बनेको मोटरसाइकल साँच्चै राम्रा उत्पादन प्रयोग गरेर बनाउन पाए थप राम्रो हुने थियो भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘लगानीको कुरा नै ठूलो हाे, जुन म एक्लैले गर्न सक्छु भनेर हुँदैन । तर यसलाई व्यवसायिक बनाउने मेरो सोच छ ।’

आफूले सुरुवात गर्दै गर्दाको समय सम्झेर उनी भन्छन्, ‘मैले यो काम सुरु गर्दै गर्दा धेरैजनाले मलाई विश्वास गरेका थिएनन् । मैले बाहिर अरुलाई नभनी गरेको होइन । तर यस्तो पहाडमा यो विद्युतीय गाडीको के काम भन्ने, अनि यो यहाँ सम्भव छैन भन्नेहरूको भिड धेरै थियो ।’

तर यी र यस्ता अन्य नकारात्मक प्रतिक्रियाबाट कति पनि बिचलित नभइ उनी अगाडि बढे । जब उनले बोलेको कुरा पुरा गरेर देखाए, आज सबैजना चकित छन् । अनि उनको प्रशंसा गरिरहेका छन् ।

‘मान्छेहरूले त प्रशंसा मात्र दिने हुन् । सम्बन्धित निकायहरू नै चुप रहन्छन् अनि कसरी प्रविधिको क्षेत्र अगाडि बढ्न सक्छ,’ उनले भने, ‘अबको मानिसको भविष्य भनेको विद्युतीय गाडी नै हो । तर म जस्तो यस क्षैत्रमा केही गर्न चाहने धेरै युवा छन्, जसले कुनै साथ सहयोग पाएका छैनन् ।’

वातावरणीय र दिगो रुपमा हेर्ने हो भने विद्युतीय गाडीको भविष्य राम्रो भएको उनको बुझाइ छ । यसैले आफ्नो भविष्य पनि विद्युतीय गाडीमा नै देखेको उनले बताए ।

‘अब आउने नयाँ पिँडीमाँझ विद्युतीय गाडीकै माग बढी हुनेछ । त्यसैले हामीले अब यसरी एउटा/दुईटा डेमो मात्र बनाएर हुँदैन, हामी व्यावसायिक रुपमा नै आक्रमक भएर अगाडि बढ्ने बेला आइसकेको छ,’ उनले भने, ‘राम्रो लगानीमा यसको गुणस्तरसहित मूल्य र डिजाइन पनि आकर्षक बनाउन सकियो भने व्यवसायिक रुपमा नै यो मोटरसाइकललाई बजारमा ल्याउन सकिन्छ ।’

आफ्नो यो सपनालाई पुरा गर्न कक्षा १२ पछि भने मेकानिकल इन्जिनियरिङ पढ्ने उनको सोच छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२