close

वाई-फाई सिक्स उपलब्ध गराउँदै डिशहोम

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ १२:३०

वाई-फाई सिक्स उपलब्ध गराउँदै डिशहोम

काठमाडौं । डीटीएच सेवाप्रदायक डिशहोमले वाई-फाईको नयाँ प्रविधि वाई-फाई सिक्स सुरुवात गर्ने भएको छ । वाई-फाई सिक्स अर्थात् सिक्स गिगाहर्ज वेभमा आधारित वाई-फाई प्रणालीलाई डिशहाेमले चिनियाँ प्रविधि कम्पनी ह्वावेसँगको सहकार्यमा आजदेखि सुरुवात गर्ने तयारी गरेको हाे ।

आज काठमाडौंस्थित म्यारियट होटलमा ह्वावेको वार्षिक कार्यक्रम ‘ह्वावे कनेक्ट २०२१’ आयोजना हुँदैछ । कार्यक्रमको दोस्रो संस्करणका रुपमा आयोजना हुने उक्त कार्यक्रममार्फत् डिशहोमसँगको सहकार्यमा वाई-फाई सिक्सको सुरुवात हुने जनाइएको छ ।

हाल नेपालमा २.४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाई-फाई अब भने ६ गिगाहर्जमा उपलब्ध हुनेछ ।

प्रयोगकर्तालाई वाई-फाई अनुभवलाई अझ धेरै प्रभावकारी बनाउने उद्देश्यका साथ डिशहोमले ह्वावेसँगको सहकार्यमा यसको सुरुवात गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आज हुने कार्यक्रममार्फत नयाँ प्रविधिको घोषणा हुनेछ भने विस्तारै ग्राहकमाझ यो प्रविधि उपलब्ध गराइने छ ।

योसँगै वायरलेस कनेक्सनको अनुभवलाई २ लेनको बाटोबाट एकै पटक ८ लेनको बाटोमा हिँडेजस्तै बनाउने दाबी कम्पनीले गरेकाे छ । हुन त बजारमा वाई-फाई सिक्सलाई सपोर्ट गर्ने फोन तथा ल्यापटप त्यति धेरै उपलब्ध छैनन् ।

तर, पनि यो प्रविधिलाई वाई-फाईकाे दुनियामा पछिल्लो २० वर्षयताकै ठूलो अपग्रेडको रुपमा लिइएको छ । त्यसैले पनि डिशहोमले उपलब्ध गराउने नयाँ प्रविधिमा आधारित वाई-फाईको अनुभव कस्तो हुनेछ भन्ने सबैलाई चासोको विषय हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३