close

सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट

टेकपाना टेकपाना

मंसिर १, २०७८ १५:१६

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो प्रति उपलब्ध गराउँदै सरकारले नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा हलमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी वितरण गरे ।

तेस्रो पुस्ताको यो राहदानीलाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ) ले सुरक्षित मान्यता दिएको छ । ई-पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।

परीक्षण वितरण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी विभागको रहेको छ ।

आजदेखि केही हप्ता विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिनेछ । त्यसपछि औपचारिक वितरण सुरु भएसँगै प्रदेश तथा जिल्ला स्तरमा विद्युतीय राहदानी वितरण गरिनेछ ।

ई-पासपोर्टको अनलाइन बुकिङका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।

पासपाेर्टकाे कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । विभागले सात प्रकारका पासपाेर्ट जारी गरेकाे छ । यसअन्तर्गत कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत (३४ र ६६ पृष्ठ) र सर्भिस पासपोर्ट रहेका छन् ।

विद्युतीय राहदानीको पोलिकार्बोनेट पानाभित्र जडान गरिएको डिजिटल चिप्समा राहदानी बाहकको सबै विवरण सुरक्षित हुन्छ । नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुन्जेल त्यही राहदानीलाई नै मान्यता दिइने छ ।

एमआरपी राहदानी विस्थापित गर्ने विद्युतीय राहदानीले आम नेपाली नागरिकलाई विश्व यात्रामा सहज बनाउने विश्वास गरिएकाे छ ।

जसअनुसार विद्युतीय राहदानी वितरण भएपछि नेपालको यात्रीले अन्तर्राष्ट्रिय स्तरको आवागमनको सुविधा प्राप्त गर्ने विभागले जनाएको छ । अरुबेला जस्तो घण्टौँ लाइनमा बस्नुपर्ने झन्झटबाटसमेत नेपाली नागरिकले छुटकारा पाउने छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १०:४९