close

कक्षा १२ सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन सामग्री

टेकपाना टेकपाना

मंसिर ४, २०७८ २२:५२

कक्षा १२ सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन सामग्री

काठमाडौं । अब कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनमै पढ्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको अनलाइन लर्निङ पोर्टलमा यो वर्षदेखि कक्षा ११ र १२ को पाठ्यक्रम पनि थपिएको हो ।

यसअघि कक्षा १० सम्मका पाठ्यक्रममात्र उपलब्ध थिए । अब कक्षा ११ र १२ का विद्यार्थीले पनि घरमै बसेर अनलाइन पढ्न पाउने भएका छन् । कक्षा ११ र १२ को अंग्रेजी, नेपाली र सामाजिक शिक्षाको पाठ्यक्रम उपलब्ध गराइएको छ ।

यी पाठ्यक्रमअन्तर्गत विद्यार्थीका लागि डिजिटल साक्षरता, सञ्चार एप्लिकेसन, अनलाइन भुक्तानी, इन्टरनेटबाट सूचना तथा अध्ययन सामग्रीको खोजी र प्रयोग, इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग लगायतका विषय पनि समावेश गरिएको छ ।

कक्षा ११ र १२ का सबै पाठ्यक्रम भने यो प्लेटफर्ममा समावेश नभएको केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले बताए ।

‘कक्षा १ देखि १० सम्ममा प्राय सबै अनिवार्य विषय हुन्छन् । यसले गर्दा ती कक्षाका सामग्री बनाउन सहज छ । तर कक्षा ११ र १२ मा ऐच्छिक विषयहरू धेरै हुने हुँदा सबै विषय अहिले नै समेट्न सकिएको छैन’ उनले भने, ‘तर सरकारले तयार पारेको पाठ्यक्रम अनुसारका अनिवार्य विषयको सामग्री भने तयार पारेर पोर्टलमा राखिएको छ ।’

बाँकी विषयका सामग्री पनि विस्तारै थप हुँदै जाने उनले जनाए । कोरोना महामारीपछि अनलाइन शिक्षामा प्रोत्साहन मिलेको भन्दै आउने दिनमा यस पोर्टल अझ बढी परिष्कृत गरिने बताए ।

लामो समयसम्म लकडाउनका कारण विद्यार्थीको पढाइ प्रभावित भइरहेका बेला विद्यार्थीको सहजताका लागि केन्द्रले अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याएको हो ।

यो अनलाइन पोर्टलमा जान यहाँ क्लिक गर्नुहोस् । तपाईंले यो वेबसाइट अंग्रेजी वा नेपाली भाषामा चलाउन सक्नुहुन्छ ।

सिकाई चौतारीमा विद्यार्थीलाई रमाइलोसँग पढ्न विभिन्न भिडिओ सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तु समावेश गरिएको छ ।

त्यस अलावा तीन तहका कथासँगै अभ्यास पुस्तिकासमेत उक्त अनलाइन लर्निङ प्लेटफर्ममा राखिएको छ ।

पाठ्यक्रमसँगै लाइब्रेरी पनि उपलब्ध छ, जसमा विद्यार्थीका लागि अध्ययनका विभिन्न सामग्रीसहित शिक्षकका लागि पढाउने सामग्री पनि उपलब्ध गराइको छ । यसमा डिक्सनरी, विभिन्न खेल र क्यालकुलेटर पनि उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३