close

अन्ततः सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

टेकपाना टेकपाना

मंसिर ११, २०७८ १६:५०

अन्ततः सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) काे अनुमतिपत्र खारेज भएको छ । सरकारले दिएको समयभित्र बक्यौता नतिरेपछि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हेलो नेपालको अनुमतिपत्र खारेज गरेकाे हो ।

शुक्रबार बसेको प्राधिकरण बोर्डको बैठकले हेलाे नेपालकाे आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको प्राधिकरणका एक उच्च अधिकारीले टेकपानालाई जानकारी दिए ।

व्यवसायी अजय सुमार्गीको स्वामित्वमा रहेकाे याे टेलिकम कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय भएकाे यो दोस्रो पटक हो । यसअघि १७ साउन २०७६ मा बक्यौता नबुझाएको भन्दै प्राधिकरणले यस कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणको उक्त निर्णयविरुद्ध कम्पनी नेपाल सरकारसमक्ष पुनरावलोकनका लागि गएको थियो ।

कम्पनीको उक्त निवेदनका आधारमा मन्त्रिपरिषद्को २०७६ पुस २१ को बैठकले प्राधिकरणको उक्त निर्णयलाई उल्ट्याइदिएको थियो ।

साथै सरकारले कम्पनीले बुझाउनुपर्ने सबै किसिमको बाँकी बक्यौता पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तभित्रै र बाँकी चार किस्तामध्ये प्रतिवर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रै बुझाउने गरी समय दिएको थियो ।

यदि तोकिएको समयभित्र बक्यौता नबुझाएको खण्डमा कानूनबमोजिम कारबाही गर्नसमेत प्राधिकरणलाई सरकारले भनेको थियो ।

सरकारले दिएको उक्त किस्ताबन्दीको सुविधाको आधारमा कम्पनीले बाँकी बक्यौता रकम नबुझाएपछि पुनः प्राधिकरणले अनुमतिपत्र खारेज गर्ने निर्णय गरेकाे हाे ।

हेलाे नेपालले बक्यौताको किस्ताबापत २०७८ असार मसान्तभित्र ३३ करोड ५८ लाख ४७ लाख ३०३ रुपैयाँ बुझाउनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२