close

नेपालमै पहिलो पटक ५०० एमबीपीएस गतिको इन्टरनेट ल्याउँदै क्लासिक टेक

टेकपाना टेकपाना

मंसिर २३, २०७८ १५:४५

नेपालमै पहिलो पटक ५०० एमबीपीएस गतिको इन्टरनेट ल्याउँदै क्लासिक टेक

काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले नेपालमा अहिलेसम्मकै फास्ट इन्टरनेट प्याकेज ल्याउने भएको छ । कम्पनीले देशमै पहिलो पटक ५०० एमबीपीएस गतिको इन्टरनेट ल्याउन लागेको जानकारी दिएको छ ।

क्लासिक टेकले मेश वाई-फाईसँगै ५०० एमबीपीएस गतिको इन्टरनेट ल्याउन लागेको हो । कम्पनीका अनुसार ५० डिभाइससम्म याे वाई-फाई प्रणालीले सपोर्ट गर्नेछ ।

परम्परागत वाई-फाई सिस्टममा एउटा राउटर वा एक्सेस पोइन्टमा निर्भर भइन्छ भने मेस वाई-फाई सिस्टमले ग्राहकलाई धेरैवटा एक्सेस पोइन्ट प्रदान गर्ने र घर वा अफिसभरी समान गतिमा इन्टरनेट स्पिड प्रदान गर्ने जनाइएकाे छ ।

कम्पनी स्रोतका अनुसार ग्राहकले सस्तो मूल्यमै यो इन्टरनेट प्रयोग गर्न पाउनेछन् । तर आधिकारिक रुपमा कहिलेदेखि यो प्याकेज सार्वजनिक हुनेछ भन्ने विषयमा भने कम्पनीले केही खुलाएको छैन ।

पछिल्लो समय इन्टरनेट सेवाप्रदायकबीच फास्ट इन्टरनेट प्याकेज ल्याउने प्रतिस्पर्धा चलिरहेको छ । यसअघि वर्ल्डलिंकले पनि मेश वाई-फाई प्रणालीअन्तर्गत ३०० एमबीपीएस गतिको इन्टरनेट सुरू गरिसकेको छ ।

त्यस्तै बिहीवारमात्र भायानेटले ‘अल्ट्रा–फाइ प्लान’ नामक वाई-फाई नामक योजना ल्याएको छ, जसअन्तर्गत १२५, १७५ र २५० एमबीपीएसको इन्टरनेट प्लान रहेका छन् ।

त्यस्तै सुबिसुले १५० एमबीपीएस गतिको प्रिमियम प्याकेज सञ्चालन गरिरहेको छ । इन्टरनेट बजारमा पछिल्लो पटक भित्रिएको सीजीनेटले पनि १२० एमबीपीएस गतिकाे इन्टरनेट प्याकेज सञ्चालन गरिरहेको छ ।

ग्राहकलाई सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट दिने होडबाजी चल्दा ग्राहकले सेवाप्रदायकको सेवामा गुणस्तरको प्रश्न भने उठाइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२