close

टेलिकम प्रबन्ध निर्देशकको कार्यकाल अब ४ वर्ष, कति छ तलब र सेवा सुविधा ?

टेकपाना टेकपाना

मंसिर २४, २०७८ १६:३८

टेलिकम प्रबन्ध निर्देशकको कार्यकाल अब ४ वर्ष, कति छ तलब र सेवा सुविधा ?

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड  (नेपाल टेलिकम) काे प्रबन्ध निर्देशकको पदावधि बढाएकाे छ । सरकारले नयाँ निर्देशिका जारी गर्दै टेलिकमको प्रबन्ध निर्देशक पदमा चार वर्षसम्म काम गर्न पाउने प्रावधान राखेको हो ।

यसअघि याे पदकाे कार्यकाल तीन वर्षकाे थियाे ।  दुई हप्ता अघिमात्रै सरकारले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ पारित गरेको थियो ।

उक्त निर्देशिकाअनुसार पदावधिको समय एक वर्ष थपिएको हो । यसका साथै नयाँ नियुक्त हुने प्रबन्ध निर्देशकको सेवा सुविधामा समेत उल्लेख्य परिवर्तन गरिएको छ । टेलिकमकाे नयाँ प्रबन्ध निर्देशकको तलब मासिक दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

हाल प्रबन्ध निर्देशकको तलब दुई लाख मात्रै रहेको थियो । त्यसमा ५० हजार वृद्धि गर्दै दुई लाख ५० हजार मासिक तलब पुर्‍याइएको हो । त्यसबाहेक नयाँ प्रबन्धले मासिक ६० हजार रुपैयाँ घरभाडा प्राप्त गर्नेछन् ।

यदि काठमाडौंमा घर भएको खण्डमा वर्षमा एक महिनाको तलब घर मर्मतका लागि उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । त्यस्तै भ्रमण खर्च, चाडपर्व खर्च स्वरूप थप एक महिनाको तबल उपलब्ध हुनेछ ।

साथै अतिथि सत्कार खर्च, टेलिफोन खर्चलगायतका सुविधाहरू पाउनेछन् । साथै नियुक्ति अवधिभर चालकसहित एक थान कार र मासिक १५० लिटर इन्धनसमेत उपलब्ध हुने जनाइएको छ ।

यसबाहेक प्रबन्ध निर्देशकले १० लाख रुपैयाँको दुर्घटना बीमा र पाँच लाख रुपैयाँको औषधी उपचार बीमा पाउनेछन् । यसरी तलब र सेवा सुविधा थप गरिएको भएतापनि सरकारले प्रबन्ध निर्देशकको कार्यभार भने घटाएर अझ हुलको बनाइ दिएको छ ।

हालसम्मका प्रबन्ध निर्देशकले आफूलाई दिएको जिम्मेवारीअनुसार कार्यसम्पादनमा ७५ प्रतिशत अंक ल्याउनुपर्ने बाध्यता थियो । तर, त्यसलाई परिमार्जन गर्दै सरकारले ७० प्रतिशतमा झारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२