close

कहिले आउँछ टेलिकमको ई-सिम ?

टेकपाना टेकपाना

पुस ४, २०७८ १३:५५

कहिले आउँछ टेलिकमको ई-सिम ?

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई इन्टरनेटमा आधारित सिमकार्ड (ई-सिम) उपलब्ध गराउने तयारी गरिरहेको छ ।

हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेका चिपजडित कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई-सिम उपलब्ध गराउने विषय यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यसका लागि टेलिकमले चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई-सिमको प्लेटफर्म’ राख्ने योजनासहित बजेट निर्धारण गरेको छ ।

जसमा चालू आवभित्र ई-सिम सहित कूल ८० लाख सिम भित्र्याउने कम्पनीको तयारी छ । त्यसमध्ये यो वर्ष एकदेखि डेढ लाखसम्म ई-सिम ल्याउने योजनामा कम्पनी छ ।

यस्तोमा कम्पनीले हाल ई-सिमका लागि आफ्नै प्लेटफर्म बनाउने अथवा बाहिरबाट खरिद गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको कम्पनीका प्रवक्ता राजेश जोशीले बताए ।

‘हामी ई-सीमको लागि आवश्यक अध्ययनको क्रममा छौं,’ उनले भने, ‘आवश्यक कागजात तयारी गरि चाँडै यो प्रक्रिया अघि बढ्नेछ ।’

त्योसँगै प्लाटफर्म परीक्षणको काम सम्पन्न गरी ई-सीम वितरण सुरु हुने जोशीले बताए । उनका अनुसार यो प्रक्रिया सम्पन्न गरी ई-सीम वितरणको काम चालू आर्थिक वर्षभित्र सुरु गर्ने योजना कम्पनीको रहेको छ ।

त्यसका लागि टेलिकमले हाल सीडीएमएमा प्रयोग हुँदै आएको ९७६ रेन्जमा आधारित सिमलाई प्रयोगमा ल्याउन सक्ने देखिएको छ ।

यसअघि टेकपानासँग कुराकानी गर्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले ९७६ मा आधारित नम्बरबाट ई-सीम वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका थिए ।

उनले अबको प्रविधि नै ई–सीम भएकाले कम्पनी पनि सोही अनुरूप ई–सीम सुरु गर्ने तयारीमा रहेको बताए । ई-सिममार्फत एउटा फोनबाट अर्को फोनमा डेटा सार्न, ई-सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ ।

यसको अर्थ तपाईं सिमकार्ड नझिकेर नै अर्को मोबाइल सेवाप्रदायकको नेटवर्कमा जोडिन सक्नुहुन्छ ।

यसको अर्को फाइदा भनेको सिम कार्ड राख्नका लागि मोबाइल डिभाइसमा छुट्टै स्थान नै आवश्यक पर्दैन । यस्तो अवस्थामा स्मार्टवाच तथा फिटनेस डिभाइसलाई समेत मोबाइल नेटवर्कमा जोड्न सकिन्छ ।

यसरी डिभाइसमा इम्बेड भएर आउने ई-सिमले भविष्यमा फिजिकल (भौतिक) सिम कार्डलाई पूर्णरुपमा प्रतिस्थापन गर्नसक्ने अनुमान गर्न थालिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२