close

टेलिकम प्रमुखका लागि ९ जनाको उम्मेदवारी, यस्ता छन् प्रतिस्पर्धी

टेकपाना टेकपाना

पुस ७, २०७८ १६:५९

टेलिकम प्रमुखका लागि ९ जनाको उम्मेदवारी, यस्ता छन् प्रतिस्पर्धी

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलकमको कार्यकारी प्रमुख पदका लागि नौ जनाको उम्मेदवारी परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कम्पनीको रिक्त हुन लागेको प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि दरखास्त माग गरेको समयसीमा भित्र यस्तो उम्मेदवारी परेको हो ।

जसमा कम्पनी भित्रबाट संगीता पहाडी र सुरजसिंह थापा उम्मेदवारी परेको छ । यस बाहेक कम्पनीका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य समेत कम्पनी प्रमुखको दौडमा उत्रिएका छन् ।

यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका सुनिल पौडेल र स्मार्ट टेलिकममा समेत काम गरेका नेपाल टेलिकमका पूर्व कर्मचारी नागेन्द्रकुमार दासको समेत दाबेदारी प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ । त्यस्तै अमलेन्दु नारायण सिँह र कम्पनीकै पूर्व कर्मचारी तथा चार्टर्ड अकाउन्टेन्ट प्रदिपराज उपाध्यायले समेत प्रबन्ध निर्देशकका लागि उम्मेदवारी दिएका छन् ।

अर्का उम्मेदवार काठमाडौं उपत्यका खानेपानी संस्थानका पूर्व प्रमुख अर्जुनबाबु ढकाल र त्रिभुवन विश्वविद्यालयको सूचना प्रविधि तथा इनोभेसन सेन्टरका पूर्व प्रमुख दीपक बहादुर शाही रहेका छन् । तर प्रबन्ध निर्देशक नियुक्तिको विषयलाई लिएर अगाडि बढाइएको प्रक्रिया विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ । अदालतको आदेश मन्त्रालयमा आइपुगेको र नियुक्तिको प्रक्रिया यथास्थितिमा रोकिने सचिव बैकुण्ठ अर्यालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२