close

फेसबुकमा एनसेलको नामबाट फिशिङ आक्रमण, प्रयोगकर्ताको व्यापक डेटा चोरी हुने खतरा

टेकपाना टेकपाना

पुस २४, २०७७ ८:४९

फेसबुकमा एनसेलको नामबाट फिशिङ आक्रमण, प्रयोगकर्ताको व्यापक डेटा चोरी हुने खतरा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको नाम र प्रोफाइल पिक्चरको दुरुपयोग गरेर फेसबुकमा फिशिङ आक्रमण भएको पाइएको छ । प्रयोगकर्ताको डेटा चोर्न गरिएको यो आक्रमणबाट धेरै पीडित बन्न थालेका छन् ।

फिशिङ अन्तर्गत एनसेलको नक्कली पेजबाट ५ जीबी फ्री डेटाको लोभ देखाउँदै बिट्ली लिंक दिइएकाे छ । साेझा प्रयाेगकर्ता फ्री इन्टरनेट पाउने अपेक्षामा साे लिंकमा क्लिक गरे साइबर अपराधीकाे हमलामा पर्नेछन् ।

यसअघि नेपाल टेलिकमको नाममा पनि फेसबुक पेज बनाएर साइबर अपराधीहरुले भ्रामक जानकारी सहित फिशिङ लिङ्क राखिएको पोस्ट बुस्ट गरेका थिए ।

यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ ।

यस्तोमा आधिकारिक कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिनुपर्नेमा सुरक्षा विज्ञहरूकाे जाेड छ ।

यस्ताे फिशिङ क्याम्पियन नेपाल लगायत विभिन्न मुलुकमा सञ्चालन भइरहेकाे साइबर सेक्युरिटी कम्पनी थ्रेटनिक्सले जनाएकाे छ । हालै उसले गरेकाे अध्ययनमा फेसबुक फिशिङ स्क्याममा ६ लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल चोरी भएको उल्लेख छ ।

गिटहब पेज र फेसबुक एडको प्रयोग गरी सञ्चालन भएको फिशिङबाट नेपाल लगायत विभिन्न मुलुकका ६ लाख १५ हजार फेसबुक प्रयोगकर्ताहरु प्रभावित भएको साे अध्ययनले देखाएकाे छ ।

थ्रेटनिक्सका अनुसार यस्ताे व्यापक फिशिङ क्याम्पियनबाट नेपाल, इजिप्ट, फिलिपिन्स, ट्युनिशिया, पाकिस्तान र अन्य मुलुकका प्रयोगकर्ताहरुको फेसबुक लगइन क्रेडेन्सियलहरु चोरी भइरहेको छ ।

सो क्याम्पियन अन्तर्गत ह्याकरहरुले विभिन्न मुलुकको स्थानीय फेसबुक पोस्ट तथा पेजहरुको नक्कल गरी तिनै मुलुकसँग मिल्ने किसिमका विज्ञापन तथा अफरहरुको लोभमा पारेर मानिसहरुलाई फिशिङको शिकार बनाउने गरेको पाइएको छ ।

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१