close

विश्वकै ठूलो गैरकानूनी मार्केटप्लेस डार्क वेब बन्द

टेकपाना टेकपाना

पुस २९, २०७७ १९:१४

विश्वकै ठूलो गैरकानूनी मार्केटप्लेस डार्क वेब बन्द

काठमाडौं । विश्वकै ठूलो कालो बजार मानिने डार्क वेब मार्केट प्लेस बन्द भएको छ । गिजमोडोले अधिकारीहरुलाई उल्लेख गर्दै लेखेको समाचार अनुसार युरोपोल कोअर्डिनेटेड इन्टरनेसनल अपरेसनले उक्त वेब प्लेटफर्मलाई अफलाइन बनाएको हो ।

जर्मनको प्रशासनले उक्त गैरकानूनी साइटका सञ्चालक ठानिएका एकजना अस्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ । यससँगै डार्क वेब होस्ट गरिएका २० वटा सर्भर समेत सिज गरिएको छ ।

युरोपलका अनुसार बन्द हुनु अघि पाँच लाख प्रयोगकर्ता रहेको डार्कमार्केटले तीन लाख २० हजार कारोबार गर्दै आएको थियो । डार्क वेब मार्केट प्लेसमा लागु औषध र चोरिएका क्रेडिट कार्डमार्फत ठगिएको रकम र मालवेयर तथा भाइरस लगायतका अनेक किसिमका ब्यापार हुने गरेको थियो ।

यरोपलले यो साइटबाट हालको मूल्य अनुसार १४० मिलियन युरो बराबरको ब्यापार गर्ने गरेको अनुमान लगाएको छ । जुन बिटक्वाइन र मोनेरोमा हुने गरेको थियो ।

युरोपियन अधिकारीहरुले अपराधिक कारोबारका लागि यो साइट प्रयोग गर्ने क्रेता तथा बिक्रेताको विषयमा अनुसन्धान गर्न युक्रेन र मोल्डोभाबाट सिज गरिएको डार्कमार्केट सर्भर प्रयोग गर्ने योजना बनाएका छन् ।

द गार्डियनको रिपोर्ट अनुसार वेब होस्टिङ कम्पनी साइबरबंकरमाथिको ठूलो अनुसन्धानबाट डार्कमार्केटको खुलासा भएको हो । साइबरबंकर (जुन वास्तवमा पूर्व नाटो बंकरस्थित राखिएको थियो) विगतमा द प्राइभेट बे र विकिलिक्सको सर्भरका लागि समेत प्रयोग भएको थियो ।

डार्कमार्केट केसबाट कुनै उदाहरण स्थापित भएको खण्डमा अन्य गैरकानूनी साइटमाथिको अनुसन्धानका लागि समेत महत्वपूर्ण प्रस्थान विन्दु हुनेछ । वालस्ट्रिट मार्केट एउटा अर्को डार्क वेब मार्केट प्लेस हो ।

जसको युरोपियन अनुसन्धानको क्रममा यसैगरी अन्त्य भएको थियो । इम्पायर मार्केट जस्ता अन्य साइटहरु समेत अहिले सम्पूर्ण रुपमा गायब भइसकेका छन् । त्यसैगरी सरकारी निकायहरु आक्रामक रुपमा उत्रेपछि अल्फाबे र द सिल्क रोड वर्षौंअघि गुमनाम भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१