सिग्नलको भाग्य चम्किँदै, एक हप्तामै पुग्यो पाँच करोड डाउनलोड टेकपाना बिहीबार, माघ १, २०७७ १८:२६ काठमाडौं । विश्वका धनाढ्य एलन मस्कको एक ट्वीट सिग्नल एपका लागि भाग्यशाली सावित भएको छ । एनालिटिक्स कम्पनी सेन्सर टावरको डेटा अनुसार पछिल्लो एक हप्तामै सिग्नलको डाउनलोड संख्या ४२ सय प्रतिशतले बढेको छ । गत जनवरी ६ मा ह्वाट्सएपले आफ्नो गोपनीयता सम्बन्धी नीति अद्यावधिक गर्दै फेसबुकका अन्य ब्राण्डसँग शेयर गर्ने गरेको खुलासा गरेको थियो । त्यस लगत्तै ७ जनवरीमा गोपनीयता र डेटा सुरक्षाको पक्षमा वकालत गर्दै आएका धनाढ्य एलन मस्कले इन्क्रिप्टेड म्यासेजिङ एप सिग्नलको समर्थनमा ट्वीट लेखेका थिए । त्यसको एक हप्तामा आज सिग्नल एपको इन्स्टलेसन गुगल प्लेस्टोरमा पाँच करोड भन्दा धेरै पुगेको हो । एनालिटिक्स कम्पनी एप एन्नीको डेटाअनुसार बुधबार अमेरिका र बेलायतमा उक्त एप एप्पल र गुगल प्लेस्टोरमा अग्रस्थानमा रहेको थियो । विश्वका सबैभन्दा धनी व्यक्तिहरुको दोस्रो स्थानमा रहेका एलन मस्कले ‘युज सिग्नल’ भन्दै ट्वीट गरेका थिए । उनको यो ट्वीटसँगै सिग्नल एपको प्रयोगमा ठूलो वृद्धि आएको जनाइएको छ । Use Signal — Elon Musk (@elonmusk) January 7, 2021 सन् २०१४ मा सार्वजनिक भएर पनि ६ वर्षसम्म गुमनाम रहेको सिग्नल एपको डाउनलोड हालैमात्र १ करोड कटेको थियो । हाल हरेक दिन एपको डाउनलोड करिब १० लाखभन्दा बढी पुगेकाे छ ।